आसनको निहुँले काङ्ग्रेसमा आपत

आसनको निहुँले काङ्ग्रेसमा आपत

नेपाली कांग्रेसको आगामी पुस ५-६ गते जनकपुरमा हुन ग‌इरहेको मधेस प्रदेश अधिवेशनमा विवाद देखापरेको छ ।

संस्थापन पक्ष र शेखर कोइराला पक्ष बीचमा आसन ग्रहणलाई लिएर विवाद सृजना भ‌एको हो । मधेस प्रदेश कमिटी उच्च श्रोतले दिएको जानकारीअनुसार मधेस अधिवेशनमा शेखर कोइरालालाई सभापति शेरबहादुर देउवा पछि दोश्रो वरियतामा आसन ग्रहण नगराइने भ‌एपछि विवाद सृजना भ‌एको हो ।

नेपाली कांग्रेस मधेस प्रदेश कमिटीका सभापति कृष्णा यादव संस्थापन पक्षका देउवा निकट मानिन्छन् । श्रोतका अनुसार उनकै जोडबलमा देउवालाई खुशी पार्न कोइरालालाई सभापतिपछि दोश्रो वरियतामा आसन ग्रहण नगराउने निर्णय गरेका हुन् । सामान्यतया सभापति चुनाव लडेका व्यक्तिलाई नेपाली कांग्रेसमा वरिष्ठ नेता मानेर दोश्रो वरियतामा राख्ने गरिन्छ । 

गिरिजाप्रसाद कोइरालासँग सभापतिमा चुनाव हारेका शेरबहादुर देउवा,शेरबहादुर देउवासँग हारेका रामचन्द्र पौडेललाई औपचारिक कार्यक्रमहरुमा सभापति पछि दोश्रो वरियतामा आसन ग्रहण गराउने गरिएकोमा मधेस प्रदेशमा भने सभापति यादवले मनोमानी गर्न थालेपछि विवाद निस्किएको श्रोतको भनाइ छ । 

यसअघि लुम्बिनी,गण्डकी प्रदेश अधिवेशनमामा पनि कोइरालालाई दोश्रो वरियतामा आसन ग्रहण गराएकोमा मधेस प्रदेशमा भने सभापति यादवले सो नमान्ने भ‌एपछि कमिटीमा रहेका कोइराला पक्षधर विरोधमा उत्रिएका छन् । उनीहरूले सभापति यादवले पेलेर आफूखुशी प्रदेश अधिवेशनमा आसन ग्रहण ग‌राएमा अधिवेशन स्थलमै कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

टिप्पणीहरू