सेनामा बटुकराम

सेनामा बटुकराम

बटुकराम सेनामा ज्वाइन भएको तीन वर्षजति भयो । त्यो पनि खासै ठूलो पद होइन । सिपाही पदमा । तर, पद सानो भए पनि बटुकरामको चिन्ता भने बडो ठूलो थियो । केही दिन भयो, उनी बडो हतारपूर्वक कहिले यता कहिले उता दौडधुप गरिरहेका छन् । उनको यो दौडधुपलाई पनि अनौठै मान्नुपर्छ । 

अस्ति एक दिन दौडधुपकै अवस्थामा भेट भयो । मैले सोधिहालेँ, ‘के छ बटुकराम, खुब दौडिरहेको देख्छु । देशमा ठूलै घटना हुन लाग्या छ कि क्या हो ?’ उनले भने, ‘त्यस्तो त होइन, म अहिले आफ्नो सर्टिफिकेटहरू तयारी अवस्थामा राख्ने, पोशाक ठिक्क पारेर राख्ने, एक जोर नयाँ नै किनेर राख्ने सुरमा छु दाइ । भोलि कुन अवस्था आउला के थाहा ।’

मैले भनेँ, ‘किन ? भोलि के अवस्था आउन लाग्यो र !’

उनले भने, ‘आउन सक्छ नि दाइ । अहिले सेनामा जो हाकिम आए पनि उमेर ढाँटेर आएको देखिन्छ । यस्तो शंका लागिसक्यो, नेपाली सेनामा तीन चौथाइ क्याडेट उमेर ढाँटेर आएका हुन् । एक न एक दिन यिनीहरू पनि पक्राउ पर्नेछन् ।

यदि उच्च पदका हाकिमहरू जम्मै पक्राउ परे भने प्रधानसेनापति बन्छ को ? पक्राउ गर्ने क्रम यसरी नै अगाडि बढ्यो भने त भोलि प्रधानसेनापति बन्न मै अघि सर्नुपर्ने हुन्छ । अनि आफ्नो कागजातहरू दुरुस्त अवस्थामा राख्नु परेन त ?’

बटुकरामको दूरदर्शिता लायककै थियो क्या रे ! 
 

टिप्पणीहरू