जसपा र राप्रपालाई फकाउँदै एमाले

जसपा र राप्रपालाई फकाउँदै एमाले

एमालेको समर्थनमा गठित कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले दुई महिना पूरा गरेको छ । प्रारम्भमा एमालेका ३९ जना र काँग्रेसका विद्रोही आठ जना सांसदको सहयोगमा कार्की मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८ को उपधारा १, २, ३ र ४ को प्रयोगपछि अन्तिम विकल्पको रुपमा कार्की सरकार उपधारा ५ बमोजिम गठन भएको हो । ३० दिनभित्र प्रदेश सभाबाट समर्थन जुटाउने क्रममा नेपाली काँग्रेसलगायत सत्ता गठबन्धनका सबै र एमालेको समर्थन प्राप्त भएको थियो ।

यतिखेर गठबन्धनमा फेरबदल ल्याउने खेल शुरु भएको एकथरीको भनाई छ । तर,त्यसो हुँदा प्रदेश सरकार स्वतः विघटन भएर मध्यावधिमा जाने अवस्थामा पुगेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीको त्यसतर्फ दिलचस्पी नभएको बताइन्छ । 

जसपा र राप्रपालाई विश्वासमा लिएर एमालेले नयाँ खेल खेल्न लागेको भन्ने जिज्ञासामा जसपा नेताहरु भन्छन्, ‘उपधारा ५ मा पुगिसकेकाले वीचमा चलखेल भयो भने सरकार स्वतः मध्यावधिमा जान्छ । अब कोशीमा सत्ता समीकरणको फेरबदल असम्भवप्रायःछ ।’

यता, राष्ट्रिय सभाको आगामी निर्वाचनको निम्ति एमालेले जसपा र राप्रपालाई कन्याएको काँग्रेस,माओवादीहरुको बुझाई छ । गठबन्धन बदलौं भनिए पनि सजिलो अवस्था नरहेको तर एमालेले खेल खेलिरहेको ती दलका केही नेता बताउँछन् । 

जसपाको तर्फबाट रिक्त राष्ट्रिय सभा सदस्यहरुमध्ये एक जना प्रमिला यादवको म्याद सकिदैछ छ । अब लुम्बिनी प्रदेशबाट निर्वाचित हुने एक जनासहित आफ्ना लागि दुई सांसद चाहिएको माग उसको छ । 

राष्ट्रपतिबाट मनोनीत हुने एक जना र अन्य १९ जना गरेर २० जना सांसदको पद रिक्त हुँदैछ । त्यसमा सत्ता गठबन्धनमा आवद्ध दलहरुको १० सिट हो भने एमालेको नौ सिट भागबण्डा गरिँदैछ । त्यसमध्ये जसपाले एउटा मागेको हो । 

त्यसबारे छलफल गर्न सरकारमा आवद्ध दलहरुको समाजवादी मोर्चाको बैठक हिजो ४ बजे डाकिएको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव राजधानी बाहिर रहेकाले बैठक बस्न नसकेको जानकारी दिइएको छ ।

टिप्पणीहरू