प्रधानमन्त्रीले कार्यशैली सुधार्ने, आवश्यक परे संकटकाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्यशैली बदलेर जाने घोषणा गर्नुभएको छ ।
कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आज देशबासीका नाममा सम्बोधन गर्दै उहाँले पछिल्लो वर्षमा भएका कामको समीक्षा गरेर नयाँ योजनाका साथ अघि बढ्ने घोषणा गर्नुभएको हो ।
‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु’, प्रधानमन्त्रीले भन्नुभयो, ‘यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ ।’
पूर्वनिर्धारित र अपरिहार्य बाहेक बाहिरका कुनैपनि कार्यक्रममा नजाने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यो समय नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवम् विकास र सुशासनसँग सम्बन्धित विषयमा लगाउने बताउनुभयो । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुने उहाँको विश्वास छ ।
प्रधानमन्त्रीले सम्बोधनका क्रममा भन्नुभयो, ‘यही साता म प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्दैछु, सिङ्गो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुनेछ ।’
एकले अर्कोलाई देखाएर विकास अवरुद्ध गर्ने प्रवृत्ति अन्त्य गर्ने दावी गर्दै प्रधानमन्त्री प्रचण्डले आवश्यक परे संकटकाल नै घोषणा गरेर भएपनि पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
टिप्पणीहरू