सुन तस्करीमा महासचिव संलग्न !

सुन तस्करीमा महासचिव संलग्न !

२१ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको १४ किलो सुन बरामद भयो । उक्त तस्करी विषयमा भन्सार विभागले २२ मंसिरदेखि अनुसन्धान थालेर ८ पुसमा प्रतिवेदन सार्वजनिक गर्‍यो । प्रतिवेदनमा सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतो रहेको उल्लेख छ । प्राधिकरणमा कार्यरत राधाकृष्ण श्रेष्ठ, अनिल श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला र शेरबहादुर बस्नेतको संलग्नता अनुसन्धानमा देखिएको थियो ।

एक अधिकारीका अनुसार उनीहरूसँगै अन्य पनि संलग्न रहेको आशंकापछि भन्सारले प्राधिकरणमातहतका अन्य कर्मचारीको पनि मोबाइल विवरण मागेको थियो । तर, प्राधिकरणले मोबाइल विवरण उपलब्ध गराउन मानेन । पक्राउ परेका प्राधिकरणका लेकबहादुर तामाङ ३५ वर्षदेखि त्यहीँ कार्यरत कर्मचारी हुन् । उनले अपांगमैत्री शौचालयमा राखिएको सुन भिआइपी कक्षबाट ‘चेकिङपोइन्ट’ छल्दै भिआइपी शौचालयसम्म लगेका थिए । रमेश देउला ४० वर्ष सेवाअवधि पूरा गरेर सात वर्षअघि पुनः करारमा नियुक्त भएका थिए । 

स्रोतका अनुसार यो समूहसँग समिट एयरको सिइओसमेत रहेका वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्की नजिक छन् । क्यानका उच्चअधिकारीहरूको पैसा व्यवस्थापन गर्ने साहुजीका रूपमा चिनिएका कार्कीमाथि यसअघि पनि प्रश्न नउठेको होइन । पश्चिमको पहाडी क्षेत्रमा मात्रै उडान भर्दै आएको समिट एयरमार्फत सुन तस्करी गर्ने गरेको आरोप उनीमाथि लागेको छ । ‘फेक हेलिकप्टर रेस्क्यु’ बाट करोडाैँ कमाएपछि समिट एयरमार्फत पश्चिम नेपालतिर मोडिएका कार्कीले नेपालगञ्जको बाटोमार्फत सुन तस्करी गर्ने गरेको भन्सारका एक उच्चअधिकारीको दाबी छ ।

४ किलो सुन तस्करीको प्रतिवेदन सार्वजनिक गरेको भन्सार कार्यालयले अब थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट हुने जनाएको छ । अनुसन्धानबाट तानिने डरले क्यानका उच्चअधिकारी र महासचिव कार्की प्रमाण लुकाउन कुदिरहेको स्रोतको दाबी छ ।

टिप्पणीहरू