सर्वसाधारण ठग्दै हिँडेकी महिला फेला परिन्

सर्वसाधारण ठग्दै हिँडेकी महिला फेला परिन्

वैदेशिक रोजगारीमा कुवेत पठाइदिने नाममा ठगी गर्दै आएकी एक महिला पक्राउ परेकी छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारण ठग्ने जुनु तुम्बाहाङफे समातिएकी हुन् । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको बताएको छ । 

काठमाडौंको गौशाला बस्दै आएकी तेह्रथुम घर भएकी उनले वैदेशिक रोजगारीमा कुवेत पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा ठगेको खुल्न आएको छ । 

कुवेत जान प्रतिव्यक्ति साढे छ लाख लाग्ने र मासिक एक लाख तलब हुने आश्वासनमा पीडितबाट पटकपटक गरी दुई लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएकी थिइन् । 

आफू ठगिएको थाहा पाएपछि पीडितले वैदेशिक रोजगार विभाग गुहारेको हो । विभागकै अनुरोधमा प्रहरीले खोजतलास अघि बढाउँदा उनलाई हिजो गौशालाबाट पक्रेको प्रहरीले जनाएको छ । जुनुलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति विभाग पठाइएको छ ।
 

टिप्पणीहरू