मानिसको इमर्जेन्सी कक्षमा कुकुरको मोज

मानिसको इमर्जेन्सी कक्षमा कुकुरको मोज
सुन्नुहोस्

गत शुक्रबार राति ११ बजे कपिलवस्तु जिल्ला अस्पतालमा अनौठो घटना भयो । गम्भीर तथा तत्काल उपचार गर्ने इमर्जेन्सी वार्डको एउटा बेडमा कुकुर सुतेको देखियो ।

उपचार सेवा लिन आउने बिरामी तथा कुरुवाहरू अचम्ममा परे । पशुको सेवा पनि दिन थाल्यो कि जिल्ला अस्पतालले भन्दै केही बोलेनन् । इमर्जेन्सी कक्षमा रातिको ड्युटीमा थिए, डाक्टर खरेन्द्र चौधरी । त्यहाँ रहेका कुरुवा तथा बिरामीले इमर्जेन्सी बेडमै कुकुर सुतेको जानकारी गराए पनि उनीहरूले हाँस्दै बेवास्ता गरेका थिए । त्यतिबेला इमर्जेन्सी वार्डमा अहेब सट्टु चौधरी र शैलेन्द्र खरबिन्द तैनाथ थिए । 

जिल्लाकै ठूलो तौलिहवा अस्पतालको इमर्जेन्सी वार्ड आफँैमा संवेदनशील उपचार कक्ष हो । विभिन्न किसिमका बिरामी तथा घाइते आइरहने त्यहाँका बेडमा भुस्याहा र संक्रमित कुकुर विस्तरामै बस्दासमेत कर्मचारी तथा इञ्चार्जले बेवास्ता गर्नुलाई स्वास्थ्य क्षेत्रमा ठूलो र गम्भीर लापरवाही मानिन्छ । कर्मचारी तथा चिकित्सकले केही नबोलेपछि बिरामी कुरुवा आफैँले त्यहाँबाट कुकुरलाई खेदेका थिए । सोसम्बन्धमा अस्पतालका इमर्जेन्सी इञ्चार्ज डा.शारदानन्द चौधरीले यस्ता घटना कहिलेकाहीँ हुने भन्दै सामान्य प्रतिक्रिया दिएका छन् । ‘मानवीय त्रुटि हो, कहिलेकाहीँ हुन्छ’, उनले भने । 

विगत वर्षहरूमा नाम कमाएको तौलिहवा अस्पतालको सेवा ६ महिनायता खस्कँदै गएको छ । स्वास्थ्यकर्मी र कर्मचारी प्रशासनबीचको आन्तरिक गुटबन्दीले समस्या सिर्जना भएको बताइन्छ । जसपाको कोटाबाट अस्पताल विकास समितिमा दोस्रो कार्यकाल शुरु गरेका शिवलाल यादवलाई समेत स्वास्थ्यकर्मी र कर्मचारीले फनफनी नचाउने गरेका छन् ।

एक वर्षअघि मात्रै स्वास्थ्यका न्यूनतम मापदण्ड पूरा गर्दा सबैभन्दा बढी ९७ अंकसहित देशमै पहिलो भएको अस्पतालको इमर्जेन्सी वार्डमा कुकुर सुत्ने गरेको भन्दै तौलिहवाबासीले आलोचना गर्न थालेका छन्् । सो घटनामा भएको लापरवाहीबारे आवश्यक कारबाही गर्नुको साटो अस्पतालका मेसु डा. विपिनकुमार जैसवाल ढाकछोपमा लागेका छन्् ।

टिप्पणीहरू