हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि सेल्फीकलीलाई

हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि सेल्फीकलीलाई

महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ तथा पुरुषहरुको ‘मोडल हन्ट’ बारे त तपाईंहरुले सुन्नु भएकै होला । तर, मानिसहरुको जस्तै हात्तीहरुको पनि सौन्दर्य प्रतियोगिता हुन्छ भन्दा तपाईंलाई आश्चार्य लाग्न सक्छ । 

अंग्रेजी नयाँ वर्षको अवसर पारेर गत सोमबार चितवनमा हात्ती सौन्दर्य प्रतियोगिता सम्पन्न भयो । जसमा राष्ट्रिय निकुञ्जबाट ३० र नीजि व्यवसायीहरुले पालेका ४० गरि ७० हात्तीले भाग लिएका थिए । प्रतियोगिताको अन्तिम चरणमा भने ७ हात्तीले मात्र प्रतिस्पर्धा गरे । 

प्रतिस्पर्धामा चितवन राष्ट्रिय निकुञ्जको रिमझिमकलीसहित सम्वृद्धिकली, लक्ष्मीकली, विजुलीकली, रानीमायाकली, चम्पाकली र सेल्फीकली सहभागी भएका थिए । अन्त्यमा सबैलाई पछि पार्दै १७ वर्षीया सेल्फीकली नामको हात्तीले सौन्दर्य प्रतियोगिताको उपाधी जित्यो । 

सेल्फीकलीले उपाधी जितेसँगै माहुते किशोर कुमाल पनि खुशीले फुरुङ्ग भए । उनले भने, ‘यसले मेरो सपना पूरा गरिदियो । मैले जीवनमा नपाएको खुशी आज सेल्फीकली दिलायो ।’ 

सेल्फीकली सानैदेखि अनुशासित र मान्छेलाई माया गर्ने स्वभावको भएको कुमालले बताए । उनले थप्दै भने, ’आज यसलाई सिँगार्न २ घण्टाभन्दा बढी लाग्यो । तर मेरो मेहनत खेर गएन ।’ 

सेल्फीकली सानैदेखि मायालु स्वभावको भएको पनि कुमालले सम्झिए । उनले अगाडि भने, ’यो सानैदेखि मानिसहरुसँग खेल्न मन पराउन्थ्यो । मानिस नजिक आउदा ऊ खुशी हुन्थ्यो । मान्छेहरु पनि उसँग सेल्फी खिच्थे । पछि विस्तारै उसको नाम नै सेल्फीकली हुन गयो ।’ 

सेल्फीकलीले प्रतियोगिता जितेपछि हात्तीधनी कुमार अर्याल पनि खुशी देखिए । आफूले हात्ती पाल्न थालेको ४० वर्षभन्दा बढी भएको र सेल्फीकलीले पहिलोपल्ट यति धेरै खुशी दिलाएको उनले बताए । भने, ’मैले हात्ती पाल्न थालेको ४० वर्ष भयो । यत्रो वर्षमा आज म जत्ति खुशी छु, त्यति खुशी पहिले कहिल्यै थिइन । आज सौन्दर्य प्रतियोगिता जितेपछि झन् उसको माया लागेर आएको छ ।’ 

आफूहरुले सँधै सेल्फीकलीलाई मानिसजस्तै व्यवहार गर्दै आएको पनि अर्यालको भनाई छ । हात्तीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर समयमै उसलाई नुहाइदिने, खाना दिने र डुलाउने गरेको उनी बताउँछन् । हात्तीहरुसँग पनि मानिसमा जस्तै संवेदना हुने अर्यालको बुझाई छ । 

‘सेल्फीकलीसँग पनि मानिसजस्तै संवेदना छ जस्तो लाग्छ । उ मिजासिलो स्वभावको छ । मानिसहरुसँग खेल्न पाउदा खुशी हुन्छ । नयाँ मानिस देख्यो भने आफै नमस्कार गर्छ ’, उनले भने । त्यसो त श्रृंगार र शारीरिक बनावटले मात्रै सेल्फीकलीले सौन्दर्य प्रतियोगिताको उपाधि जितेको भने होइन । प्रतियोगिताका केही मापदण्डहरु हुन्छन् । 

प्रतियोगिता जित्न मुख्यतयाः हात्तीमै कला हुनुपर्ने वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठ बताउँछन् । त्यसका लागि तोकिएका विभिन्न मापदण्डको आधारमा मूल्याङ्कन हुने उनले बताए । 

’हात्तीलाई कसरी श्रृंगारिएको छ, त्यो पहिलो पारामिटर हो । माहुतेको निर्देशन कत्तिको मान्छ ? माहुतेसँग कस्तो सम्बन्ध छ ? त्यो दोस्रो पारामिटर हो’, श्रेष्ठले भने, ’त्यस्तै, हात्तीको शारीरिक बनावट र उसको स्वास्थ्य कस्तो छ ? त्यो तेस्रो पारामिटर हो । हात्तीको छाला, नंग्राहरु कस्तो छ ? त्यो चौथो पारामिटर हो । त्यस्तै, उ कसरी हिँड्छ ? अन्य मानिसहरुसँग कसरी व्यवहार गर्छ ? त्यो अर्को पारामिटर हो ।’
 

टिप्पणीहरू