पत्रकार पाल्न एयरपोर्टको पैसा
प्रधानमन्त्री पुत्रीको आडमा मन्त्रीमाथि पेलान
हुन त एउटा सहसचिव तहको कर्मचारी । तर, प्रधानमन्त्रीदेखि प्रतिपक्षी दलका नेतासम्मलाई प्रभावमा पारेर विभागीय मन्त्रीलाई तह लगाउने क्षमता राख्छ । यस्तो ‘अलौकिक प्रतिभा’ भएका पात्र हुन्, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी।
नेतादेखि कर्मचारीसम्म सेटिङ मिलाएर राज्यशक्तिको दुरूपयोगमा अब्बल ठहरिएका उनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग भने द्वन्द्व परिरहेको छ । शक्तिको आडमा विभागीय मन्त्रीको पाइलैपिच्छे तगारो बनेर उभिएका उनले किरातीलाई ‘थाल खाऊँ कि भात’ को अवस्थामा पुर्याएको गुह्य कुरा समाचार स्रोतले जनआस्थालाई दिएको छ ।
त्यत्रो जनयुद्धमा होमिएर जेलनेल खाएका, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो रोजाइमा परेर मन्त्री भएका र शुरुका दिनमा ‘मैं हुँ’ भन्ने किरातीलाई प्रदीपले बिजोग पारे भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, प्रधानमन्त्रीकै सचिवालयले ‘किराती अप्ठेरो, प्रदीप प्यारो’ ठानेपछि जोशिला मन्त्री सहसचिवका सामु निरीह हुनुपरेको हो ।
प्रधानमन्त्रीदेखि प्रमुख पार्टीका शीर्ष नेता र अहिलेसम्म भएका प्रायः सबै पर्यटनमन्त्रीको प्यारो बनेका प्रदीपको डिजीमा नियुक्ति नै पारदर्शी छैन । पाँच जना सिनियरलाई टपेका उनी स्वयमले नजिककाहरूसँग कुराकानी हुँदा एकीकृत समाजवादीलाई चार करोड, त्यसबेलाका पर्यटन मन्त्री प्रेम आलेलाई २ करोड र कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजुलाई २ करोड बुझाएर डिजी खाएको बताउने गरेका छन् । त्यस्तै, पूर्वपर्यटनमन्त्री तथा कांग्रेस नेता जीवनबहादुर शाहीलाई पहिले नै एक करोड दिएको र यसअघिका पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई २ करोड दिएको भन्ने गरेका छन् । कान्तिपुरका पत्रकार सुरज कुँवर, क्यानका कर्मचारी जगन्नाथ निरौला, सिखा नामकी एक महिला कर्मचारीसँग खुलस्त कुराकानी गर्ने उनले रकमसहित नेताहरूको नामै लिएर पैसा खुवाएको विभिन्न प्रसंगमा बताउने गरेको अडियो रेकर्ड नै छ । त्यस्तै, घोष्ट राइटर समूहका कोमल भन्ने एक व्यक्तिमार्फत सुदन किरातीको समूहलाई मिलाउन अहिले प्रयासमा रहेको पनि उनले निकटहरूलाई सुनाउने गरेका छन् ।
यसरी करोडौँ खर्चेर डिजी बनेका प्रदीपले क्यानलाई कमाउ धन्दाको थलो बनाइरहेको जानकारहरू बताउँछन् । समाचार स्रोतले भनेअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा २ अर्ब ७० करोड रूपैयाँ हिनामिना गरेको आरोप छ उनीमाथि । चिनियाँ सहयोगमा बनेको एयरपोर्टको रनवेको खाल्डो पुर्नका लागि उतैबाट माटो र गिट्टी ल्याउने ठेक्का लगाएर पछि त्यहीँको डाँडा काटी सम्याई त्यत्तिका पैसा झ्वाम पारेको बताइन्छ । त्यसो त, महालेखाको प्रतिवेदनले समेत त्यो कुरा उल्लेख गरेको छ । त्यस्तै, मनाङमा एयरपोर्ट बनाउँदा पनि ठूलो घोटालाको आशंका गरिएको छ । आवश्यक नै नपर्ने ठाउँमा एयरपोर्ट बनाएर प्रदीपको समूहले मोटो रकम हात पारेको स्रोत जिकिर गर्छ । मनाङ एयरपोर्टमा अहिलेसम्म यौटै उडान नहुनुले पनि अनियमितताको आशंकालाई बल पुर्याएको छ । पोखरा एयरपोर्टमा जाइकाले बनाइदिएको पानीट्यांकी अहिले फाल्नुपर्ने अवस्था आउनु पनि घोटालाको संकेत हो ।
प्रदीपलाई नजिकबाट चिन्नेहरू भन्छन्, यतिधेरै आरोपका बाबजुद मन्त्रीसँग टक्कर लिने हिम्मतको स्रोत त्यही २७० करोड हो । उनको समूहले २ अर्ब अमेरिका र दरबारमार्गतिरका व्यापारीमा लगानी गरेर त्यसबाट आउने ब्याजले नेतादेखि पत्रकारसम्मको मुख बुझो लगाइरहेको बताइन्छ । प्रदीपको समूहमा पूर्वआइजीपी तथा एमाले नेता सर्वेन्द्र खनाल र छविलाल जोशीहरू छन् । उनीहरू सबैको पैसा अर्जुन खड्काले अमेरिकामा लगानी गर्ने गरेको क्यानका धेरैलाई थाहा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइ पनि प्रदीपमार्फत यिनीहरूकै कम्पनीले पाएको छ । अच्युत हाडालाई विस्थापित गरेर सर्वेन्द्रका मान्छे सुवासको कम्पनीलाई सारा ठेक्का दिइएको हो । सुन तस्करीको सेटिङ मिलाउन आफू अनुकूलको कम्पनीलाई प्रदीपले सफाइको ठेक्का दिलाएको जानकारहरू बताउँछन् । पछिल्लो पटक दुबईबाट आएको १४ किलो सुन तस्करी प्रकरणमा सरसफाई कम्पनीका कामदार समातिनुले पनि त्यो पुष्टि हुन्छ ।
सुन तस्करीमा धेरैले प्रहरी र भन्सारलाई दोषी देखाउँछन् । तर, विमानस्थलभित्र प्वाल–प्वालसम्मको जानकारी राख्ने क्यानका इञ्जिनियरहरू नमिलिकन सुन बाहिर निकाल्न सकिँदैन भन्ने धेरैलाई थाहा छैन । क्यानका इञ्जिनियरहरूसँग सिंगो विमानस्थलको नक्सा हुन्छ । उनीहरूलाई यस्तै काममा प्रयोग गरेर महानिर्देशक प्रदीप रमाउने गरेको आरोप पनि छ । त्यसो त, १४ किलो सुन तस्करीसम्बन्धी छानविन समितिले यसबारे केही संकेत दिएपछि विमानस्थलमा एसी बनाउने एकजना मान्छे पक्राउ परे । ३५ वर्षदेखि त्यहाँ प्लम्बरको काम गर्ने अर्का व्यक्ति पनि समातिए । सफाई, प्लम्बिङका कामदारहरूको सेटिङ यसरी मिलाइन्छ कि उनीहरूलाई रिटायरमेन्टपछि पनि करारमा त्यहीँ नियुक्त गरिन्छ । यो सबै छोपछाप पार्न सिसिटिभी फुटेज लुकाएको आरोप पनि छ । छानविन समितिको प्रतिवेदनमा कानुनतः ३ महिनासम्म सुरक्षित राख्नुपर्ने सिसिटिभी फुटेज १४ दिनमै नष्ट गरिएको कुरा उल्लेख हुनुले पनि शंकाको सुई प्रदीपतिर घुमेको छ ।
समाचार स्रोतको दावीअनुसार सरकारका कतिपय नीतिगत निर्णयहरूमा पनि प्रदीपको डरलाग्दो हस्तक्षेप देखिन्छ । जस्तो कोटेश्वर–भक्तपुर अण्डरग्राउण्ड खोल्ने जाइकाको प्रोजेक्ट उनले लामो समय रोकेर राखेका थिए । पछि मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डलाई भनेपछि बल्ल गाँठो फुक्यो । त्यस्तै, विभाग टुक्र्याउने विधेयक रोक्न पनि उनकै भूमिका जिम्मेवार ठानिएको छ । आइकाओको निर्देशनअनुसार सुदन विभाग टुक्य्राउने विधेयक पास गर्न चाहन्थे । त्यसका लागि मन्त्री बनेलगत्तै विधेयक बनाएर प्रधानमन्त्री कार्यालय पठाएका थिए । तर, प्रदीपले गङ्गा दाहालमार्फत प्रधानमन्त्रीलाई भनेर विधेयक रोकिदिए । भित्री कुरा यो भए पनि बाहिर अर्कै कारण देखाएर किरातीले स्पष्टीकरण सोधे । त्यसपछि गङ्गामार्फत नै प्रधानमन्त्रीले सुदनलाई बोलाएर ‘प्रदीपसँग सहकार्य गर्नु, नमिल्नुको विकल्प छैन’ भनेर ठाडो निर्देशन दिए । अहिले विभागीय मन्त्रीलाई केही भन्नुपर्यो भने प्रदीपले प्रधानमन्त्रीको सचिवालयबाट फोन घुमाउने गरेका छन् ।
अर्को चैं, युरोपिएन युनियन (इयु)ले लगाएको कालोसूची हटाउने सुदनको प्रयास थियो । इयूले कालोसूची हटाउन नेपालले केही मापदण्ड पूरा गर्नुपर्ने शर्त राखेको छ । मनिटर गर्ने संस्था अर्थात् क्यानलाई रिसोर्स अलोकेट गर्नुपर्ने, फङ्कसनल सेप्रेसन गर्नुपर्ने र इन्फास्ट्रक्चरल सेप्रेसन हुनुपर्ने भन्ने छ । मन्त्रीकै तहबाट गर्न मिल्ने फङ्कसनल सेप्रेसन किरातीले गरिसके । तर, इन्फास्ट्रक्चरल सेप्रेसन गर्न छुट्टै ऐन चाहिन्छ । उक्त ऐन बनाउन यसअघि पनि विधेयक राष्ट्रियसभामा पुगेको थियो । तर, कांग्रेस सभापति देउवापत्नी आरजु राणाको दबाबमा विधेयक फिर्ता गराइयो । पछि किरातीले पुनः प्रक्रिया अघि बढाए । तर, त्यसबेलाका मुख्यसचिव शंकरदास बैरागीले ‘इन्टरटेन’ नै नगरेपछि प्रधानमन्त्री कार्यालयमा त्यसै अड्किएर बसेको छ । इयुको पछिल्लो रिपोर्टमा पनि राजनीतिक तहमा भएको प्रतिबद्धता पूरा नगरेको उल्लेख छ । तर, प्रदीपले इयुलाई घुस खुवाएर काम गराउन सकिन्छ भनी प्रधानमन्त्री प्रचण्डको कान फुकेपछि विधेयक रोकिएको जानकार स्रोत बताउँछ । बताइएअनुसार इयुको त्यो रिपोर्ट नेपालीमा अनुवाद गराएर प्रधानमन्त्रीलाई समेत दिइएको छ ।
प्रधानमन्त्री र सत्तारुढ दलका प्रमुख नेतालाई हात लिएर मन्त्रीलाई पंगु बनाएका प्रदीपले प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि उत्तिकै नजिक राखेका छन् । ओलीलाई रिझाउन महेश बस्नेतको ‘लडाकू केटा’ भनिने क्षमादेवी निर्माण कम्पनीका मालिक नविन बस्नेतसँग दोस्ती कसेको बताइन्छ । उनै नविनमार्फत प्रदीपको लगानीमा बर्सेनि ‘केपी ओलीकप फुटबल प्रतियोगिता आयोजना हुने गर्छ । यता, कांग्रेसतिर मिलाउन सभापति देउवाकी पत्नी आरजु राणाका भाइ भुषण राणा, जो जर्मन वायुसेवा कम्पनी लुफ्थान्साको नेपाली एजेन्ट हुन्, लाई च्यापेका छन् । उनैमार्फत आरजुलाई विदेश जाने खर्च दिने गरेको स्रोत बताउँछ । प्रधानमन्त्रीलाई प्रभावमा पार्न पिएको हैसियतमा बालुवाटारमै बस्ने कान्छी छोरी गंगा र भरतपुर महानगरको मेयरसमेत रहेकी माहिली छोरी रेणुका श्रीमान्लाई हात लिएको बताइन्छ ।
नेताहरूलाई मात्र होइन, आफ्नो लुटको धन्दा छोपछाप पार्न प्रदीपले केही पत्रकारलाई पनि निकट राखेका छन् । २२ जना पत्रकारको ह्वाट्सएप ग्रुप नै बनाएर उनीहरूलाई मनग्य पैसा दिई मुखबुझो लगाउने गरेको प्रष्ट छ । कतारलगायत विभिन्न एयरलाइन्सहरूसंग ‘पब्लिक रिलेसन’का लागि भनेर पैसा लिने र कान्तिपुरका रिपोर्टरमार्फत पत्रकारलाई बाँड्ने गरिएको स्रोतको दावी छ ।
सबैतिर ‘घाँस हालेर’ निस्फिक्री बनेका प्रदीपले अख्तियारमा केपी ओलीमार्फत प्रेम राईलाई प्रभावमा पारेको र पूर्वएआइजी जयबहादुर चन्दलाई पनि हातमा लिएको चर्चा छ । केही दिनअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कांग्रेस सांसद उदयसमशेर राणाले भने ‘प्रदीप इज लायर’ भन्दै बैठकमै सातो खाएका थिए । उक्त बैठकमा पर्यटनमन्त्री किराती, पूर्वपर्यटन मन्त्री तथा एमाले सांसद योगेश भट्टराई, जसपाका सांसद मनिष झा लगायत थिए ।
केही गरे पनि मन्त्री किराती सकारात्मक नभएपछि प्रदीपले अहिले ‘चाइनिज ! फण्डा, निकालेका छन् । आफूलाई क्यानबाट हटाए चिनियाँहरू रिसाउँछन् भनेर प्रधानमन्त्री प्रचण्डका पिए रमेश मल्ललाई बेलाबेला फोन गरी अप्रत्यक्ष चेतावनी दिने गरेको बताइन्छ ।
– उमेश दाहालबाट
टिप्पणीहरू