समीकरणमा आउला र संकट ?

समीकरणमा आउला र संकट ?
सुन्नुहोस्

सत्ता साझेदारमात्रै हैन, सरकारको आगामी नेतृत्व र सत्तारुढ गठबन्धनको ठूलो दल पनि कांग्रेस नै हो । तर, प्रचण्ड नेतृत्वको सरकारको बेला–बेला आलोचना गर्ने, गठबन्धन ठीक छैन भन्ने एउटा तप्काको चर्को स्वरले कतै विद्यमान राजनीतिक समीकरणमा फेरबदल आउने त हैन ? 

सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचको भेटघाटमा यस्तैयस्तै गन्थन–मन्थन चलेको बताइन्छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका बारेमा अहिलेसम्म सहमति नजुटेपछि प्रचण्ड शीर्ष नेताका बीचमा सहमति खोज्न सक्रिय हुनुहुन्छ ।

सोमबारे भेटको सन्दर्भ त्यही थियो । तर, त्यहाँ अनेकन कुराकानी भएको सहभागी एक नेताले बताएका छन् । केही अघि प्रचण्डले एक अनलाइनलाई दिनुभएको अन्तर्वार्तामा आफूलाई प्रधानमन्त्री बनाएकोप्रति ओलीप्रति आभारी नै रहेको भन्दै सकारात्मक टिप्पणी गर्नुभएको थियो । सोमबारको भेटमा राष्ट्रियसभा निर्वाचनमा एमालेलाई धेरै परसम्म नधकेलौं भन्ने मनशाय राखेको बताइन्छ ।

राष्ट्रियसभा सदस्यकै कारण सरकार तलमाथि नपर्ने कुरा पनि उहाँले निकाल्नुभयो । प्रचण्डले ओलीलाई बोलाएर कुरा गर्दा उहाँले ओलीका कुनै पनि कुराको प्रतिवाद गर्नुभएन । किनभने, उहाँमा कांग्रेसको व्यवहारले केही न केही विरक्ति ल्याएको देखिन्छ । 

सरकार सञ्चालनको विषयमा मात्रै नभएर बालकुमारी गोली काण्डका विषयमा पनि देउवा र प्रचण्डबीच मतभिन्नता पाइएको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, विपक्षी दलका नेता, उपसभामुख सबै अरुलाई दिएर आफू राष्ट्रियसभा अध्यक्षसमेत गुमाउन तयार नहुने माओवादी र समाजवादीको अडान देखिन्छ । अध्यक्षबारे माघ ११ को चुनावपछि मात्र कुरा छेडिने सहमति छ । 
 

टिप्पणीहरू