विमानस्थल सुरक्षामा सुरक्षाकर्मीकै बक्रदृष्टि
नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य राष्ट्र हो । हवाई सुरक्षासम्बन्धी यसका मापदण्ड र समय–समयमा प्रत्यायोजन हुने निर्देशनहरू अनुसरण गरी विमानस्थलमा सोहीअनुसारको सुरक्षा व्यवस्था कार्यान्वयन गर्नु–गराउनु नेपालको दायित्वभित्र पर्छ । त्यसैले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सिफारिसअनुसार तर्जुमा गरिएको हवाई सुरक्षासम्बन्धी ऐन, नियम तथा राष्ट्रिय हवाई सुरक्षा कार्यक्रममा उल्लेखित प्रावधानहरु हवाई सुरक्षाको प्रत्याभूतिको निमित्त कडाइका साथ पालना गर्नु महत्वपूर्ण छ ।
विमानस्थलमा हुने सानो लापरवाहीका कारण विश्व जगतमा मुलुकको नाम क्षणभरमा बद्नाम बनेको घटना छ । भनिन्छ, घर सुधार्न घरमूली सही हुनुपर्दछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तै किस्सा बारम्बार सुनिन्छ । विमानस्थल प्रहरी प्रमुख अर्जुन चन्दको हर्कतका कारण विमानस्थल तहसनहसको अवस्थामा पुगेको उनी मातहतकाले आरोप लगाउँदै आएका छन् । विमानस्थल सुरक्षा योजनाअनुसार छोटो समयका लागि पनि विमानस्थल प्रवेश गर्न टर्मिनल ड्युटी अफिसरले स्वीकृति दिनुपर्छ ।
विशेषगरी बिरामीका लागि एम्बुलेन्सहरु विमानस्थलभित्र लैजानुपरेमा सम्पूर्ण विवरण भरेर स्वीकृत गरिनुपर्दछ । सुरक्षा जाँच नगरि कसैलाई प्रवेश दिन मिल्दैन । अत्यावश्यकबाहेकका छोटो समयका लागि कुनै पनि सवारी साधन विमानस्थलमा सामान्य यात्रुहरुको पहुँचस्थल ल्याण्ड साईडसम्म मात्रै जान पाउँछ । विमानस्थलबाट कहिले भेप, कहिले ब्रेक सु, कहिले लेदो र धुलो सुन पक्राउ परिरहेको हुन्छ । तर, विमानस्थल प्रहरी प्रमुखको सवारी साधनमा सुन पक्राउ गरेको कसैले सुनेका छैनन् ।
आफैं बिरामी, आफैं झाँक्री भनेझैँ पक्रने डिआईजी मातहतका कर्मचारी सुन ओसार्ने हाकिम । सबैलाई अचम्म लाग्न सक्छ, विमानस्थल प्रहरी प्रमुख डिआईजी चन्दले धावनमार्गसम्म आफूले प्रयोग गर्ने सवारी साधनमार्फत सुन ओसार्छन् । अन्तर्राष्ट्रिय अभ्यास र विमानस्थल सुरक्षा योजनाको धज्जी उडाउँदै उनले आफ्नो सवारी साधन कहिले विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको आईरन गेटबाट त कहिले विमानस्थलमा रहेको आयल निगमको डिपोमा प्रवेश गर्ने गेटबाट धावनमार्गसम्म लैजाने गरेको विभिन्न अध्ययनबाट देखिइसकेको छ ।
उनले पार्किङ्गको समस्या भएर त्यसो गरेका भने होइनन् । किनकी विमानस्थलमा प्रहरीकै क्षेत्र र पार्किङ्ग छ भने अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल बाहिर पनि कर्मचारीहरुका लागि छुट्टै पार्किङ्गको व्यवस्था छ । धावनमार्गमा लगेपनि, टर्मिनल बाहिरबाट गएपनि उनको कार्यकक्षसम्म सवारी साधन पुग्दैन । दुवै ठाउँमा पार्क गरेर आफ्नो कार्यकक्षसम्म जान हिँड्नैपर्छ । जताको बाटो प्रयोग गरेपनि लाग्ने समय र दूरी भने करिब एउटै हो ।
उनको सवारी साधन अन्य समयमा टर्मिनल बाहिर नै भएपनि विशेषगरी दुबई, हङ्गकङ्ग र कतारबाट नेपाल आउने विमान अवतरण हुने समयमा रन–वे परिक्रमा गरिरहेको देखिन्छ । यात्रु टर्मिनल भवनमा प्रवेश गर्ने गेट नजिक लगेर त्यो सवारी साधन रोकिन्छ, जहाँ विमानबाट बस चढेर यात्रु टर्मिनल भवनमा जान ओर्लिन्छन् । यात्रु ओर्लिने ठाउँमा सवारी पार्क गरिनु, यात्रुको पहुँच हुनेतर्फको सिसा खोलेर छाडिनु र सवारी चालक सवारीभन्दा पछाडि गएर हेरेर बस्नु संयोग होइन । सुन सवारी साधनमा राखेपछि निर्वाध रुपमा बिना चेकजाँच बाहिरिने गरेको धेरैले बताइसकेका छन् ।
त्यसो त सादा पोशाकका प्रहरी अर्थात् घुमुवा प्रहरीले गरेका सबै काम कारबाहीलाई कानुनसम्मत मान्न सकिने अवस्था नरहेको सर्वोच्च अदालतको आदेशमा उल्लेख छ । विमानस्थलमा वरिष्ठ सई देवबहादुर शाहीको नेतृत्वमा असई दिपेन्द्र चन्द, हवल्दार रामसावद राय यादव, सहायक हवल्दारहरु दिवस जोशी, रञ्जना महत, प्रहरी जवान रमेश बोहोरा, जवान अरुण चौधरी र अन्ना पाल परिचालित छन् । असई चन्द र जवान चौधरी आन्तरिक टर्मिनलतर्फ र अन्य अन्तर्राष्ट्रिय टर्मिनलमा ड्यिुटी गर्दछन् ।
उनीहरुमध्ये हवल्दार यादवलाई आचरण ठीक नभएको भन्दै सादा पोशाकको ड्यिुटीबाट हटाएर आन्तरिक टर्मिनलतर्फको नियमित ड्युटीमा खटाइएको थियो । उनीमाथि यात्रुको सुन लुटेको र दुःख हैरानी दिएको आरोप लाग्दै आएको छ । पछिल्लो चार वर्षको ट्रयाक रेकर्ड हेरेर, असल चालचलन भएका, अध्ययन र अन्वेषण गर्न सक्ने कर्मचारीलाई मात्र सादा पोशाकमा खटाउनुपर्ने नीति प्रहरी मुख्यालयले भखरै पारित गरेको छ । मुख्यालयले सादा पोशाकमा खटाउनुअघि माथिल्ला निकायबाट त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्नसमेत निर्देशन दिइएको छ ।
विमानस्थलमा प्रहरीको शाख ‘गिर्दो’
कुनैपनि विमान आफैं निशानामा पर्दैन । विमानले राख्ने चिन्ह नै पहिचान हो । मुलुकको राजनीतिक र कुटनीतिक सफलता–असफलताका कारण सो देशबाट सञ्चालन हुने हवाई सेवा प्रदायक कम्पनीहरु निशानामा पर्ने गरेका छन् । हाल विश्व वायु सेवा जगतको सुरक्षा खतरा मूल्याङ्कन गर्ने हो भने पहिलो नम्बरमा अमेरिकी वायु सेवाहरु खतरायुक्त हवाई सेवा प्रदायक कम्पनी हुन् ।
दोस्रोमा भारतीय र तेस्रो रुस देखिन्छन् । नेपालमा पहिलोपटक २०३० जेठ २८ गते नेपाल राष्ट्र बैंकका लागि भारतको अररियाबाट विराटनगर हुँदै काठमाडौं भारतीय रूपैयाँ बोकेर आएको नेपाल वायुसेवा निगमको विमानलाई अपहरण गर्ने समूहमा एक जना भारतीयसमेत थिए । निगमको विरोध गर्दै आएको काँग्रेसी समूहबाट प्रेरित भएर उनले समेत उक्त घटनामा साथ दिएको बताइन्छ ।
दोस्रोपटक सन् १९९९ डिसेम्बर २४ तारिखमा इस्लामवादी आतंकवादीहरूले काठमाडौंबाट दिल्लीका लागि उडेको आईसी ८१४ जहाजलाई अपहरण गरेर अमृतसर, लाहोर अनि दुबई हुँदै अफगानिस्तानको कान्दहारमा पुर्याए । जससँग भारतीय कूटनीति र राजनीति दुवै जोडिएको पाइन्छ । अपहरणकारीसँग वार्ता गर्न खटिएका प्रमुख वार्ताकार मनोविज्ञ अरुणकुमार भारद्वाजले नेपाल प्रहरीको सुरक्षा कमजोरीका कारण उक्त दुर्घटना भएको बताएका थिए ।
सो कुरामा भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहतापनि सहमत छन् । तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंहले नेपालका कारण भारतले आतंककारीसमक्ष घुँडा टेक्नुपरेको भन्दै भारतीय जेलमा रहेका तीन बन्दीलाई बुझाउन कान्दहार पुगेका थिए । त्यसपछि सुरक्षाको कारण देखाउँदै भारतीय हवाई सेवा प्रदायक कम्पनीहरूले भारतबाट नेपाल आउँदा विमान चढ्न लागेका यात्रुहरूको भारतीय सेनाका एयर मार्सलद्वारा आफैं सुरक्षा जाँच गर्न थालेका हुन् ।
आफ्ना विमानमा यात्रा गर्ने यात्रुको सामान पनि आफैंले एक्सरेमा चेकजाँच गर्ने गरेका छन् । विमानस्थल सुरक्षामा खटिएको नेपाल प्रहरीले आजका दिनसम्म भारतीय वायुसेवा प्रदायक कम्पनीहरुलाई सन्तोषजनक उत्तर दिन सकेको छैन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को निर्देशिकाअनुसार सामान्यतया कुनैपनि एक्सरेमा खटिने कर्मचारीलाई २० मिनेटभन्दा बढी राख्न मिल्दैन ।
यसभन्दा बढी समय काम लगाइएमा कर्मचारीको दिमागले एकीकृत भएर ड्यिुटी गर्न नसक्ने आईकाओको ठम्याई छ । तर, विमानस्थलमा खटिने प्रहरी कर्मचारीलाई चार घण्टासम्म ड्यिुटीमा राख्ने गरिएको छ । एक प्रतिशत सुरक्षाको कमीले गम्भीर किसिमको घटना हुने बताइन्छ । त्यसैले विमानस्थलजस्तो संवेदनशील स्थानमा सुरक्षा कमजोरी हुनुहुँदैन ।
विमानस्थलको एक्सरेमा भने आठ प्रतिशत स्कोरसम्मलाई सन्तोषजनक मानिन्छ । तर, यसको समय–समयमा परीक्षण र पुनः ताजगी तालिम भने भएको पाइँदैन । दशौं वर्षसम्म एउटै ठाउँमा काम गर्दा क्यानोनिईड्ग (डग स्निफिङ्ग) र स्क्यानरमा अन्य फिल्डमा जस्तो विशेषज्ञता हुँदैन । लङ्गटर्म सर्भिसको प्रतिफलमा ह्रास आउने हुँदा एलटिओ अर्थात अङ्गटर्म आउट हुनुपर्ने विशेषज्ञ बताउँछन् ।
यहाँ खटिने कर्मचारीको घरायसी र व्यवहारिक समस्या भयो भने मानसिक स्वास्थ्य कमजोर गई ड्यिुटी गर्न सक्दैनन् । त्यसैले उनीहरुको कम्तीमा पनि त्रैमासिक स्वास्थ्य, मनोविज्ञान परीक्षण गर्नुपर्दछ र समय–समयमा काउन्सिलिङ्ग गरिनुपर्दछ । गत असार ७ गते दिउँसो २ बजे एयर इण्डियाको विमानद्वारा काठमाडौंबाट भारतको कोलकत्ता हुँदै ओमन प्रस्थान गर्न लागेका सुमन लिम्बूलाई विमानस्थलको होल्ड ब्यागेज चेकिङ्ग एरियामा चेकजाँच गरिएको थियो ।
सो क्रममा उनको झोलाबाट साढे पाँच केजी लागुऔषध फेला परेको थियो । उनी चेकईन गेट बी १ बाट प्रवेश गरेर सोही गेटमा भएको स्क्यानरमा चेकजाँच गराएर प्रवेश गरेका थिए । दोस्रो चेक प्वाईन्टमा मात्र लागुऔषध फेला पर्नुले पहिलो सुरक्षा जाँच फितलो रहेको पुष्टि गरेको छ । असार ११ गते बिहान ७ बजेर ५० मीनेटमा टर्किस एयरको विमानद्वारा काठमाडौंबाट टर्कीको स्तानबुल हुँदै स्वीट्जरल्याण्डको जुरिच जान लागेका मोल्दोभाका नागरिक डेनिस कुसेरियाभिईको झोला विमानमा लोड गर्ने क्रममा लोडरलाई शंका लाग्यो ।
रनवे–बाट फिर्ता ल्याएर चेकजाँच गर्दा नौं केजी चरेस फेला परेको हो । उक्त झोला गेट बि १ तर्फको एक्सरे, कन्भेयर बेल्टको एक्सरेसमेत पार गरी विमानको गेटसम्म पुगिसकेको थियो । यी त दुई प्रतिनिधि उदाहरण मात्रै हुन । ती दुवै सिफ्टमा ड्यिुटी गर्ने प्रहरी कर्मचारीहरु पुरुषार्थका साथ ड्यिुटी गरिरहेको यस घटनाबाट देखिन्छ । यसको ठाउँमा विष्फोटक पदार्थ भयो भने के गर्ने ?
नेपालमा टाटा एयर ईण्डिया, भिष्तारा, ईण्डिगो स्पाईस जेटलगायतका भारतीय विमान सेवा प्रदायक कम्पनीका विमानहरुले उडान भर्दै आएका छन् । उक्त भारतीय वायु सेवा कम्पनीका स्टेशन मेनेजरहरु भन्छन्, ‘हामीलाई पनि कर्मचारी कटौती गरेर खर्च बचाउनु छ । नेपाल प्रहरीको ड्यिुटी परिचालन अवधि पत्रिका पढ्दै, सामाजिक सञ्जालको प्रयोग गर्दै र गफिँदै सकिन्छ । त्यसैले हामीलाई आफैं एक्सरे मनिटर गर्न निर्देशन भएको छ । उनीहरु आफ्नै तरिकाले काम गर्छन, हामी हाम्रै तरिकाले काम गर्छौं । हाम्रो सुरक्षामा कम्प्रोमाईज हुँदैन ।’
विमानस्थलका प्रहरी कमाउउन्मुख, मुलुकको आकाश अन्धकार
जबसम्म प्रहरीको हैकमी शासन विमानस्थलमा कायम रहन्छ, नेपालको आकाश युरोपियन युनियनको कालोसूचीबाट नहट्ने एकथरीको विश्लेषण छ । राष्ट्रिय अनुसन्धान विभागबाट विमानस्थलमा खटिएर फर्केका एक वरिष्ठ अनुसन्धान निर्देशकले भने, ‘कुख्यात अपराधी चाल्र्स शोभराजले भनेझैं प्रहरीले चाह्यो भने हात्ती विमानसम्म पुग्न सक्छ, हतियारको त कुरै नगरौं । यदि विमान फेरि अपहरण भयो भने विमानस्थल प्रहरी प्रमुखलाई कानुन संशोधन गरेर भएपनि हदैसम्मको कारबाही हुनुपर्छ । अन्यथा जुनसुकै समयमा पटकपटक प्रहरीद्वारा संस्थागत रुपमै विमान अपहरण गराउनेमा दुईमत छैन ।’
नेपालमा प्रहरीलाई विमानस्थलको सबै सुरक्षा ठेक्का दिनु शक्ति पृथकीकरणको सिद्धान्तले पनि गलत छ । छिमेकी मुलुक जनगणतन्त्र चीनमा चिनियाँ जनमुक्ति सेना ‘पिएलए’ ले विमानस्थलको सुरक्षा जाँच गर्छ र गणतन्त्र भारतमा अर्ध सैनिक बल, केन्द्रीय औधोगिक सुरक्षा बल (सिआईएसएफ) सेन्ट्रलले । दुवै देशमा अन्तिम सुरक्षा जाँच भने तालिम प्राप्त विज्ञ प्रहरीबाट हुन्छ ।
उनीहरुको जाँच प्रत्येक छ महिनामा गरिन्छ । प्रहरी समाज सहकार्य (कम्यूनिटि पुलिसिङ्ग) को सिद्धान्तअनुरुप अपराध अनुसन्धानमा खटिनुपर्ने प्रहरीलाई विमानस्थल सुरक्षाको जिम्मामा अल्झाउनु नेपाल सरकारको उच्च तहमा रहेको अतृप्त आत्माको मनोआकांक्षागत नैतिक भुल हो । नेपाल प्रहरी जसरी पनि कमाउने अखडामा टिकिरहनुपर्ने बिरादीगत अभिलासा हो ।
फेरि विमान अपहरण भयो भने नेपाललाई सँधै अन्य देशले माया र छुट नदिन सक्छ । यसले युद्धको भयावह अवस्था पनि निम्त्याउँछ । किनकी एउटा छिमेकी मुलुकको चाहना त्यस्तै रहेको भनिन्छ । हामीले पटकपटक गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा जानकारी गराइसकेका छौं । नैतिक जिम्मेवारी, जसअपजस त प्रत्यक्ष र परोक्ष रुपमा विमानस्थलमा खटिने सबैले लिनैपर्छ ।
आम जनमानसले पनि यो कुरा थाहा पाउनु अहिलेको आवश्यकता हो । हालको समयमा प्रहरी मात्र एक संगठन हो, जसले कुनैपनि वाक थ्रु गेटमा मेटल फ्रि हुनुपर्दैन । अन्य सबैले अन्तिम सुरक्षा जाँचसम्म पुग्न दुईपटक मेटल फ्रि भएर चेकजाँच गर्नुपर्छ । प्रहरीलाई जुनसुकै समयमा जहाँसुकै जान छुट छ । पेस्तोललगायतका हतियार बोके पनि वाक थ्रु गेटमा मेटल सिग्नल बज्ने, नबोके पनि बज्ने ।
यसरी विमानमा चढ्ने यात्रुको सुरक्षा जाँच गरिसकेपछि संस्थागत रुपमै प्रहरीले हतियार यात्रुसम्म पुर्याउन सक्नेमा दुईमत छैन । यदि विमानस्थल सुधार्ने हो भने विमानस्थलमा कार्यरत प्रहरीको पोशाकको फुली र बेल्ट परिवर्तन गरेर कपडाको बनाइनुपर्छ र उनीहरुको अत्याधिक मुभमेन्ट बन्द गरिनुपर्छ । एक ठाउँमा खटाएको प्रहरी अर्को ठाउँमा देखा पर्नु, प्रहरी ड्यिुटीका लागि विमानस्थल प्रवेश गर्दा र निस्कदाँ उच्च अधिकारीहरुले निगरानी नगर्नु र ड्यिुटी नभएको प्रहरी कर्मचारीहरु नजिकैको ब्यारेकबाट आएर विमानस्थलको संवेदनशील स्थानहरुमा पटकपटक देखा पर्नु विमानस्थल सुरक्षाको अर्को चरम लापरवाही हो ।
सामान्यतया विमानस्थलमा ड्यिुटी परिचालन गरिनु पूर्व संस्थागत तालिम नगराइनु, लामो समयसम्म ड्यिुटीमा खटाइनु र चेक एण्ड ब्यालेन्स नगरिनुले विमानस्थलको सुरक्षा अवस्था खस्कँदो चरणमा रहेको पुष्टि गर्दछ । विमानस्थल सुरक्षा योजनामा कुनै पनि सामान बरामद गर्नुपर्यो भने विमानस्थल टर्मिनल ड्यिुटी अधिकृतको रोहबरमा भर्पाइ गरिनुपर्दछ । तर, त्यहाँ ‘गिद्धले सिनो लुछे झै छिनाझम्टी’ गर्छन् ।
राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारी भन्छन्, ‘विमानस्थलका हवाई सुरक्षा महानिर्देशक बच्चुराम श्रेष्ठसमक्ष राष्ट्रिय अनुसन्धान विभागलाई प्रविधिमैत्री बनाउनुपर्यो भन्दै कुरा राखेको थिए । उहाँले हुन्छ भन्नुभएको थियो तर काम भएको थिएन । विमानस्थल सुरक्षा समितिको बैठकमा पुनः मैले केही स्थानहरुको सिसिटिभी क्यामरा जडान गरिदिने व्यवस्था गर्न अनुरोध गरेको थिएँ । तर, डिआईजी चन्द साबले मिल्दैन । सिसिटिभी हेर्ने पुलिसको काम हो, तपाईंको हैन भन्नुभयो । तपाईहरुले हेर्ने गरेको यथावत भइहाल्छ तर, हाम्रो लागि केही स्थानको लाइन जोड्ने त हो । हामीसँग मनिटर छँदैछ, कनेक्सन शेयर गर्दा विमानस्थल प्रशासनलाई आर्थिक भार पनि पर्दैन र सुरक्षा मजबुद पनि हुन्छ । यो भएमा तपाईंकै प्रहरी पनि सजग हुन्छन् । तपाईं हामी सुरक्षा व्यवस्था पनि राम्रो होस भनेर खटिएका हौं भन्दा कड्किएर अपशब्द प्रयोग गर्नुभयो । मेलै पनि तस्करको नाईके भनिदिए । उनीसँग नबोलेरै फर्किए । किन बोल्नु गलत मान्छेसँग भन्ने लाग्यो । यदि गलत गरेको छैन भने किन डराउने ? मान्छे र मन दुवै कालो । यदि, उनको सफा मन छ भने आउनुस् हामी नेतृत्व गर्छौं, सबै निकायको बसेर सिसिटिभी कन्ट्रोल कक्षमा संयुक्त निगरानी ड्यिुटी गरौं भन्न सक्नुपथ्र्यो ।’
विमानस्थलमा डिआईजी चन्दको गैरकानुनी हर्कत
हरेक देशमा अध्यागमनका कर्मचारीले मात्रै व्यक्तिको कागजात चेकजाँच गर्ने परम्परा र चलन छ । यदि अध्यागमनलाई शंका लाग्यो भने अनुसन्धानका लागि बोलाउन सक्छ । तर, प्रमुख जिल्ला अधिकारी भएर प्रहरीलाई चलाइसकेको अध्यागमनका सहसचिव स्तरको कर्मचारी अध्यागमन प्रमुख रहने र गृह मन्त्रालयले प्रहरीलाई सरुवा बढुवामा पहुँच राख्ने हुँदा प्रहरीलाई भाउ दिँदैनन् ।
जब २०८० वैशाखमा डिआईजी चन्द सरुवा भएर आए तब उनले सादा पोशाकको ड्यिुटीमा अध्यागमन पार गरिसकेपछि भिजिट (पर्यटक) भिसामा जाने यात्रुहरुलाई घण्टौंसम्म लाइन लगाएर ल्यापटपमा टाइप गर्दै लगत संकलन शुरु गरेका थिए । उनले यो कार्य अध्यागमन प्रमुखसँग रकमको डिलसँगै गरेका थिए । यद्यपि, उनको यो हर्कत २० दिनमै बन्द भयो । यदि उनले सही गरेको भए किन सो कार्य नियमित भएन ? प्रस्थान अनुमति पाइसकेका यात्रुहरुलाई हैरानी दिए र गलत गरेको ठहरिएको भए सोबापत कारबाही पनि भएन् । यो कानूनी राज्यको उपहास र दुर्भाग्यको कुरा हो ।
त्यसो त वैदेशिक रोजगारमा खटिने व्यक्तिको मुद्धा मानव बेचबिखन ब्यूरोको क्षेत्र अधिकारभित्र पर्दछ । तर, उनले मानव बेचबिखन ब्यूरोको वैदेशिक रोजगार व्यवसायीसँगको साँठगाँठ भत्काउँदै आफ्नो पोल्टामा ल्याएका थिए । सुदूरपश्चिम घर भएका चन्दले त्यतैका वरिष्ठ सई देवबहादुर शाहीलाई कमाण्डर बनाएर वैदेशिक रोजगारमा पठाउने र जाने व्यक्तिहरुसंग रकम असुल्न खटाएका थिए ।
उनले एकमुष्ठ रकम असुलेर चन्दसम्म पुर्याउने गर्थे । यतिसम्म हैरानी दिइन्थ्यो कि महत्वपूर्ण नाता प्रमाणित, विवाह दर्ता र माध्यमिक परीक्षा उत्तीर्णको प्रमाणपत्रजस्ता कागजात लुकाएर दिएकै छैन भन्दैसमेत रकम असुलिन्थ्यो । मानौं, पैसा नतिरी कुनै पनि नेपाली यात्रु विदेश जानु भनेको पाप गर्नुसरह प्रहरीले बनाएको थियो ।
आवश्यक कागजात अपुगजस्तो देखिने यात्रुहरुलाई टर्मिनलमा प्रवेश गर्नेबित्तिकै सम्पूर्ण कागजात प्रहरीले जफत गथ्र्यो । अनि शुरु हुन्थ्यो, बार्गेनिङ्ग । उनीहरुबाट प्रति व्यक्ति २० देखि ३० हजारसम्म असुलिन्थ्यो । वैदेशिक रोजगार तथा ट्राभल्समार्फत आएका व्यक्तिहरुको हकमा भने उनीहरुको सूची पहिल्यै प्रहरीसम्म पुगिसकेको हुन्छ ।
त्यसो त मानव बेचबिखन ब्यूरोबाट खटिने प्रहरीको ड्यिुटी हटेपछि विमानस्थल प्रहरीले उक्त ठाउँ लियो । तर, वैशाखमा उनले अन्तिम सुरक्षा जाँचसंगै राखेको भिजिट भीसामा जाने व्यक्तिहरुको अभिलेख आफ्नो कार्यकालमा भने राखेनन् । अब आफैं अनुमान गर्नुहोस् प्रहरीका कारण कति व्यक्तिले आफ्नो उडान गुमाए, गन्तव्यमा पुग्न पाएनन् । ती व्यक्तिहरु पुनः गए कि गएनन ? गए भने कुन प्रक्रिया पुर्याएर गए त ? कसले अनुगमन र नियमन गरे त ?
गृह मन्त्रालय मातहतको प्रहरीको यो परिचालन र चेकजाँच कानूनसम्बत् थियो भने एक पटक चेकजाँच भइसकेको कागजात एउटै मन्त्रालय मातहतको अध्यागमन विभागका कर्मचारीले पुनः चेकजाँच नगरी प्रस्थान अनुमति दिइनुपर्ने थियो । एकपटक प्रहरीले चेक गरेको कागजात नपुगेको भनेर अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिई फिर्ता पठायो भने चेकजाँच गर्ने प्रहरी कर्मचारीउपर दुरुस्त ड्यिुटी नगरेको र प्रहरी आचरणविपरित काम कारबाही गरेको अभियोगमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने थियो ।
जुन अहिलेसम्म गरिएन् । अध्यागमन विभाग निजामती कर्मचारी आउनुअघि नेपाल प्रहरीको जिम्मामा थियो । यात्रुहरुलाई प्रहरीले अचाक्ली दुःख दिएपछि विश्व बजारमा नेपालको नकारात्मक सन्देश गयो । त्यसैले उक्त जिम्मेवारी खोसेर अध्यागमन विभागमा निजामती कर्मचारी राख्ने काम भएको थियो । यो हिसाबले विमानस्थलमा प्रहरी (टेष्टेड) पीक्षण भइसक्यो । जुन धङ्गधङ्गी अझै कायम छ ।
यात्रुहरुको कागजात चेकजाँच गर्ने सर्वाधिकार अध्यागमन विभागको रहेको र यात्रुको प्रस्थान अनुमति अध्यागमन ऐनले दिएको स्वविवेकीय अधिकार भन्दै कर्मचारीहरुले गत पुस १८ गते हड्ताल गर्दै सेवा अवरुद्ध गरेका थिए । शुरुमा त चन्दले आफू प्रतिकुल परिस्थिति आउने डरले अन्य ड्यिुटी प्वाईन्ट खाली गरेर व्यापक प्रहरी अध्यागमनको प्रस्थानतर्फको एरियामा उतारेका थिए ।
तर, विभागका महानिर्देशक रुद्रसिंह तामाङ्ग आएर थामथुम पारेको करिब एक घण्टापछि अध्यागमनका कर्मचारी काममा फर्किएका थिए । त्यसलगत्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्द र विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । पुस १८ गते साँझ देखि नै विमानस्थलमा प्रहरीलाई सुरक्षा चेकजाँचभन्दा अन्य कागजात चेकजाँचमा रोक लगाइएको छ ।
यदि प्रहरीले यात्रुहरुको कागजात गरेको सही र नियमसंगत थियो भने किन नियमित भएन् ? डिआईजी चन्दको सो काम गलत देखिएर रोकिएको भए उनीमाथि कारबाही किन गरिएन् ? यात्रुले करिब १० महिना दुःख र हैरानी खेपे, आर्थिक रुपले मर्माहित पनि भए । यसको क्षतिपूर्ति कसले दिन्छ ?
जो तलबको पैसाले भात खानु आमाको रगत पिउनुसरह ठान्छन्
प्राधिकरणका कर्मचारी कुबेर डाँगी तलबको पैसाले भात खानु आमाको रगत पिउनुसरह ठान्छन् । गत पुस १८ गते विमानस्थल अध्यागमनका कर्मचारीहरुले यात्रुको कागजात चेकजाँच गर्ने सर्वाधिकार अध्यागमन विभागको रहेको भन्दै हड्ताल गर्दै सेवा अवरुद्ध पारेपछि विमानस्थलबाट हाललाई भिजिट भीसाको सेटिङ्ग प्रत्यक्ष रुपमा रोकिएको अवस्था छ ।
काम र व्यवसाय रोकिएर अतिरिक्त आम्दानीको मूल सुकेपछि डाँगीले तलबको पैसाले भात खाने हामीले ? भन्दै ट्रली संकलकहरुसँग दादा भत्ताबापत रकम असुली गर्न थालेका हुन् । टर्मिनल ड्यिुटी कक्षमा कार्यरत नागरिक उड्डयन प्राधिकरणका कर्मचारी डाँगी तिनै व्यक्ति हुन्, जसले देवेन्द्र उपाध्याय प्रमुख हुँदा विमानस्थलमा कार्यरत ट्रली संकलकहरुलाई डरधम्की दिएर उनीहरुसँग साप्ताहिक रुपमा रकम असुल्ने गरेका थिए ।
ट्रली संकलकहरुले सामूहिक रुपमा निवेदन दिएर राजीनामा दिएपछि उनलाई महाप्रबन्धक उपाध्यायले जागिर पजनी हुनबाट जोगाएका थिए । सानैदेखि आफ्नो घरमा खाना बनाउने र सरसफाईका कामका लागि राखेको गुन तिर्न उनैले प्राधिकरणमा जागिर लगाएको र विमानस्थलमा ल्याएर ट्रली संकलकहरुलाई हेर्ने कमाण्डर बनाइदिएका थिए ।
एक दशकभन्दा लामो समयसम्म विमानस्थलमा बसेका उनले पर्यटक भिसामा पठाउन आफ्नो नातेदार भन्दै सहजीकरण गरेबापत् ८० हजारसम्म असुल्ने गरेका छन् । उनले विशेषगरी विमानस्थलको पास शाखामा बसेर वैदेशिक रोजगारसम्बद्ध व्यक्ति तथा ट्राभल एजेन्सीका सञ्चालकहरुलाई प्रति पास एक हजारसम्म असुलेर भिजिटर (भि) पास उपलब्ध गराउने जानकारहरु बताउँछन् ।
विमानस्थल प्रशासनले उनलाई विशिष्ठ अतिथिहरु जाँदा र आउँदा प्रयोग गर्ने विशिष्ठ कक्ष खोल्ने, रेखदेख गर्ने र बन्द गर्ने जिम्मेवारी दिएको छ । कुनै पनि सरकारी कर्मचारीले दिएको जिम्मेवारीबाहेक अर्को काम गर्न पाउँदैनन् । अन्य व्यवसाय वा काम गरेमा आफ्नो कर्तव्यबाट विमुख हुनसक्ने सरकारी निकायको बुझाई र आशंका छ ।
तर, उनले भिआईपी कक्षको चाबी खोल्न छोडेर चार्टर्ड फ्लाईटहरु आउँदा र जाँदा सहजीकरण गरेर मोटो रकम असुल्ने धन्दा चलाउँदै आएका छन् । सामान्य यात्रुहरु आईएमएसले बनाएको नयाँ बाटोको प्रयोग गरेर विमानस्थलको नयाँ पार्किङ्गतर्फ जान्छन् । तर, चार्टर्ड फ्लाईटमा आउने धनाढ्य विदेशी यात्रुहरु र उनीहरुको सामान विमानस्थल प्रशासनले दुरुपयोग गरेर कर्मचारीहरुले मात्र प्रयोग गर्ने गेटबाट बाहिर निकाल्ने गरेका छन् ।
उनी आफैंले ट्रली निकालेर बाहिर ल्याउने गर्दछन् । विमानस्थलमा कार्यरत कडा मिजासका जुनियर अधिकृतहरुले एक्सरेमा बसेर यो गेटबाट निकाल्न मिल्दैन् भनेर रोकेमा त्यही कार्यरत एक प्रहरी निरीक्षकको सहयोग लिने गरेको पाइएको छ । यसरी सहजीकरण गरिदिएबापत उनले डलरमा बक्सिस थाप्ने गरेका छन् ।
उनी नेकपा एमालेसम्बद्ध हवाई कर्मचारी संघका सदस्य हुन् । बेलाबखत महानिर्देशकदेखि मन्त्रीसम्मको ध्वाँस दिँदै प्रबन्धकभन्दा तल्ला तहका कर्मचारीहरुलाई कहिल्यै नटेर्ने अरुको भनाई छ ।
टिप्पणीहरू