किन बोली फेरेको प्रचण्ड कमरेड !
रवि लामिछानेप्रति नरम धारणा राख्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड किन उनीबारे यति चिन्तित देखिएका होलान् ? लामो समयदेखि यो प्रश्नको जवाफ खोजिरहेका विश्लेषकहरूले एउटा जवाफ फेला पारेका छन् । त्यो हो, मिसन ८४ का लागि भरपर्दो सहयात्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनले हेरिरहेको अवस्था । एक विश्लेषक भन्छन्, ‘यसमा थप अर्को फ्याक्टर पनि जोडियो, इण्डियन इन्ट्रेस्ट ।’
नेपालको जासुसी निकायमा कार्यरत एक अधिकारीका अनुसार हालै स्थलमार्ग हुँदै लुम्बिनीसम्म आएका नेपालका लागि पूर्वभारतीय राजदूत र केही उच्च तहका व्यक्तिहरूको माओवादी र रास्वपाका प्रभावशाली नेताहरूसँग गोप्य भेटघाट भएको छ । सो भेटको उद्देश्य नेपालमा एमाले र कांग्रेसलाई टक्कर दिन सक्ने गरी तेस्रो शक्तिको निर्माण गर्न आवश्यक गठबन्धन बनाउने रहेको हुन सक्छ । समाचार स्रोतका अनुसार भारतीय समूहमा पूर्वराजदूत मञ्जिव सिंह पुरीसहित अन्य दुई थिए भने उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू स्वर्णिम वाग्ले, मनिष झा र शिशिर खनालका साथै प्रचण्डका केही विश्वासपात्रलाई समेत भेटेका थिए । उनीहरू सुनौली नाका हुँदै स्थलमार्गबाट नेपाल छिरेर सोही मार्गबाट लगभग दुई साताअगाडि फिर्ता गएको स्रोतको दाबी छ ।
प्रचण्ड, कांग्रेस नेता शेखर कोइरालासहितले रवि लामिछानेको बचाउमा बोल्नु र भारतीयहरूले नेपाली नेतालाई गोप्य रूपमा भेट्नु बीचमा केही न केही तालमेल रहेको स्रोत बताउँछ । हाल महान्यायाधिवक्ताको जिम्मेवारीमा रहेका रमेश बडाल पनि एक समय रवि लामिछानेको वकिल भएका कारण उनीप्रति अदालत नरम बन्न सक्ने आशंका केही विश्लेषकको रहेको छ । यसबीच केपी ओलीलाई भेटेर भावुक बनाउने र भैगो भन्ने तहमा पुर्याउने प्रयास प्रशस्तै नभएको होइन । यसअघि नै पनि प्रहरीले समातेर तेजोबध गरिसकेको हुनाले लामिछानेलाई हिरासतमै राखेर बढी नसताउने मुडमा पुगिसकेका केपी ओली उनको पुत्ला दहनमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता उत्रेपछि बिच्किएको बताइन्छ । पार्टीका नेता, कार्यकर्ता कांग्रेस पार्टी र त्यसबाट गृह मन्त्रालय सम्हालिरहेका गृहमन्त्रीप्रति नरम तर एमाले र विशेषगरी ओलीप्रति अत्यन्तै आक्रोशित बनेपछि रविलाई देखाइदिने निर्णयमा पुगेको भन्ने भावका समाचारहरू यसअघि नै सार्वजनिक भइसकेका छन् ।
स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य टिमले पनि आफ्नो टार्गेटमा जम्मा तीन जनामात्रै रहेको बताउँदै आएको छ । तिनमा एमालेबाट सूर्य थापा र केपी ओली अनि कांग्रेसका गगन थापा रहेका छन् ।
टिप्पणीहरू