एमालेमा बालकोटको आदेश बेवारिस

एमालेमा बालकोटको आदेश बेवारिस
सुन्नुहोस्

नेकपा एमाले दार्चुलाको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको आदेश नै पालना भएन । पुस १७ गते शुरु भएर १९ गते सम्पन्न अधिवेशनले बालकोटको आदेशविपरीत तर सर्वसम्मतिमा कमिटी चयन गरेको छ । 

पुस १८ मै सक्ने भनिएको अधिवेशन नेतृत्व चयनमा सहमति जुटाउन एक दिन लम्बिएको थियो । ‘बालकोटबाट साविककै जिल्ला अध्यक्ष प्रेमसिंह धामीलाई दोहो¥याउन भनिएको थियो तर प्रतिनिधिको दबाबले नयाँ नेतृत्व चयन भयो’ एक जिल्ला नेताले भन्नुभयो । 

लामो समयदेखि बालकोटको नजिक रहेर सक्रिय रहेका उपसचिव खड्कसिंह बडाललाई सचिव बनाउन बालकोटले सुझाएकोमा त्यसअनुसार पनि सचिव चयन भएका छैनन् । दुर्ई वर्षअघि भएको आठौं अधिवेशनमा अध्यक्षमै प्रतिस्पर्धा गरेर पराजित भएका ज्ञानेन्द्रबहादुर घर्तीलाई यसपटक नेतृत्वमा ल्याइएको छ । बालकोटको सन्देशका साथै दार्चुलामा एमाले कमाण्डर गणेशसिंह ठगुन्नाको चाहना पनि प्रेमसिंह धामीलाई दोहो¥याउने थियो । तर रामदत्त जोशी, मोहनसिंह धामीलगायत अग्रज नेताहरूको अडानले घर्तीलाई सर्वसम्मत अध्यक्ष बनाइएको एमालेका ती नेताको भनाइ छ । 

अधिवेशन शुरु हुनुभन्दा दुई दिनअघि नै पदाधिकारीको उम्मेदवारी संकलन गरिएको थियो । लगातार पाँच दिनसम्म छलफल गरिए पनि बालकोटको चाहनाबमोजिम जिल्ला अध्यक्ष र सचिव चयन हुन सकेनन् । अधिवेशन उद्घाटनका लागि दार्चुला पुगेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सुदूरपश्चिम इञ्चार्ज छविलाल विश्वकर्माले घण्टौं लामो प्रशिक्षण दिएका थिए । सर्वसम्मत नेतृत्व चयनमा पुग्न लामो छलफल र चर्काचर्की भएको अधिवेशनका एक सहभागीले बताउनुभयो । 

नेतृत्व चयनमा मतदानको अवस्था आउँदा पनि बालकोट र ठगुन्नाले चाहेका उम्मेदवार पराजित हुने अवस्था देखिएपछि सर्वसम्मतिमा नेतृत्व चयन हुन सकेको अर्का जिल्ला नेताले बताउनुभयो । दुर्ई वर्षअघिको आठौं जिल्ला अधिवेशनबाट आफूले चाहेका पात्रलाई मतदानमार्फत् नेतृत्वमा पु¥याएका पोलिटब्युरो सदस्य यसपटक सहमतिमा नेतृत्व छान्न अग्रसर देखिएका छन् । 

जिल्ला पदाधिकारीमा सबै नयाँ अनुहार आएका छन् । ०६९ सालमा सम्पन्न सातौं अधिवेशनबाट सचिव बनेका ज्ञानेन्द्रबहादुर घर्ती यसपटक अध्यक्ष बनेका छन् । दुर्ई वर्षअघि ठगुन्नाको समर्थनमा जिल्ला अध्यक्ष प्रेम सिंह धामीसँग घर्ती ५ सयभन्दा बढी मतान्तरले पराजित भएका थिए । त्यतिबेला घर्तीले एक सय मत पनि कटाएका थिएनन् । 

नवौं जिल्ला अधिवेशनले उपाध्यक्षमा परमानन्द जोशी, सचिवमा उमेशराज जोशी उपसचिवमा कर्णबहादुर खडायत र कमला पन्तलाई चयन गरेको छ । ९० सदस्यीय जिल्ला कमिटीमा ४९ जना नयाँ अनुहार छन् । आठौं जिल्ला अधिवेशनबाट चयन भएका ३८ जना जिल्ला सदस्यहरू दोहोरिएका छन् भने ४० जना बाहिरिएका छन् ।

२०६९ चैतको सातौं अधिवेशनले ५२ सदस्यीय जिल्ला कमिटी बनाएको थियो । उक्त कमिटीका १३ जना मात्रै नवौं अधिवेशनबाट नेतृत्वमा पुगेका छन् । ५ जना प्रदेश कमिटी सदस्य बनेका छन् भने ३८ जना जिम्मेवारीबाट बाहिरिएका छन् । 

 

टिप्पणीहरू