चीनमा नयाँ वर्ष, काठमाडौँमा भव्य कार्यक्रम

चीनमा नयाँ वर्ष, काठमाडौँमा भव्य कार्यक्रम
सुन्नुहोस्

चिनियाँ नयाँ वर्ष अर्थात् बसन्त चाडको अवसरमा काठमाडौँमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । 

विश्वभर छरिएर रहेका चिनियाँ नागरिकले हर्सोल्लासका साथ् मनाउने नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ दूतावासले हिजो भव्य सांँस्कृतिक कार्यक्रम गरेको हो । कार्यक्रममा दुई देशका कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुति राखेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, शेरबहादुर देउवा, नेपालका लागि चिनियाँ राजदूत छङ् सनलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको सांगीतिक समारोहमा चिनियाँ कलाकारहरुले सोल्जर ब्यालेट, दिव्यपंक्षी, सुनौलो, भूमि, मयुर, हिमाली जादुयी, ड्रम पेडालिङ र परम्परागत चिनियाँ लोकनृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चीनको पराम्परागत बाजा र प्रसिद्ध चिनियाँ जादूसमेत प्रस्तुत गरिएको थियो । त्यस्तै नेपाली कलाकारहरुले ‘रेशम फिरीरी’ र ‘चौतारीको छेउमा पिपलुको छायाँ’ बोलको गीतमा नृत्य देखाएका थिए ।

चीनमा हिजो देखि नयाँवर्ष शुरु भएको छ । चिनियाँ पात्रो र मिति चन्द्रमामा आधारित रहेको विश्वास गरिन्छ । यस देशका नागरिकहरु नयाँ वर्षलाई एक महिनासम्म महोत्सवको रुपमा मनाउने गर्दन् । त्यस अवसरमा विभिन्न खेलकुद, यात्रा, सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । 

बिबिध कारणले टाढा भएकाहरुका लागि आफन्त भेट्ने अवसरका रुपमा पनि नयाँ वर्षलाई लिने गरिन्छ । भेटमा उनीहरु सुखदु:खका भावना साटासाट गर्नुका साथै साँझमा मिठा परिकारहरु खाने गर्दछन् । जसलाई ‘रेयुनिनल डिनर’ पनि भनिन्छ । 

नयाँ वर्षको अवसरमा पारेर चिनियाँ नागरिकहरु रातो र पहेलो रङका नयाँ पोशाक लगाएर आफ्नो आफन्त र नातेदारको घरमा जाने गर्दछन् । त्यहाँ आफूभन्दा ठूला अभिभावकबाट एउटा रातो प्याकेट लिन्छन्, जसभित्र केही पैसा राखिएको हुन्छ । जसलाई नेपालीमा ‘दक्षिणा’ भनिन्छ ।

हिजो सम्पन्न सांस्कृतिक कार्यक्रममा पनि अधिकाशं कलाकारहरु रातो र पहेलो पोशाकमै श्रृंगारिएका थिए ।  

समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको र यस्ता कार्यक्रमले थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । दुई देशको सभ्यता नदी र हिमश्रंखलाहरुमा मात्र सिमित नभई साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि उतिक्कै महत्वपूर्ण रहेको उहाँको भनाई थियो । 

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल ताइवानको स्वतन्त्रताको पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो । गत सेप्टेम्बरमा भएको आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँग गरेको भेटवार्ता स्मरण गर्दै उहाँले नेपाल सँधै चीनको हीतका लागि लड्ने प्रतिवद्धता जनाउनुभयो । 

‘ताइवान चीनकै अभिन्न अंग हो । ताइवान स्वतन्त्राताको सम्बन्धमा नेपालको दृष्टिकोण स्पष्ट छ', प्रधानमन्त्रीले भन्नुभयो, 'चीन भ्रमणको क्रममा जारी गरेको संयुक्त वक्तव्यमा पनि यसलाई स्पष्ट पारिएको छ । म फेरि पनि भन्न चाहन्छु, नेपाल सधैँ ताइवान स्वतन्त्रताको विपक्षमा छ ।’

त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले दुई देशबीच बलियो सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा द्दिपक्षीय सम्बन्धलाई मजबुत बनाउन प्रयास गर्दै आएको बताउनुभयो ।

टिप्पणीहरू