भीम रावल अनि भक्कानिए

भीम रावल अनि भक्कानिए

रुँदै–रुँदै भीम रावलको भनाइ थियो, ‘कस्ता–कस्ता मान्छे मलाई गाली गरेर हिँडेका छन् । तपाईं त मेरो घरमै आएर यस्तो कुरा गर्नुभयो...!’

एमाले केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक दयालबहादुर शाहीले च्यासलमा केन्द्रीय कमिटीको बैठक चलिरहँदा अध्यक्ष केपी ओलीलाई अलग्गै सुनाएअनुसार उनले अछाममै पुगेर भीम रावललाई भावुक बनाएका हुन् । दुई महिनाअघिको सु्दूरपश्चिम प्रदेश अधिवेशनताका उनले एउटा फेसबुक स्ट्याटस लेखेर भीमको पक्षमा भयानक ढंगले छाँद हालेका थिए । त्यो पढेर ओली तर्सिएपछि बैठकको मौका छोपेर उनले भने, ‘थालमा धेरै चम्चाहरू राखेर छिटो र धेरै त खाइन्छ, तर त्यसरी खाएको पच्दैन !’ उनको कुरा सुनेपछि ओलीले भन्नुभएको थियो, ‘उनले मलाई गाली नगरुन्, मैले उनलाई गाली नगर्ने !’

पार्टीले आफूलाई अछामको साँफेबगर नगर कमिटी भनी कार्यक्षेत्र छुट्टयाएपछि भीमको घर गएको भन्दै दयालले भीमसँग भनेको कुरा ओलीलाई सुनाए, ‘२० वर्ष हामीले झगडामात्रै गर्‍यौं । पहिला पनि दूरी घटाएको थिएँ । फेरि बढ्यो भने राम्रो हुँदैन । विधवा आमाले जन्माएको छोरा देशको उपप्रधानमन्त्री भइसक्नुभयो । तपाईं सुदूरपश्चिमको सम्पत्ति हो । यत्रो सम्पत्ति जोगाउनु मेरो कर्तव्य हो । त्यसैले धेरै नबोल्नुस् । पार्टी गयो भने बाक्लो दाल खाउँला भन्ने मान्छेहरू एमालेमा थुप्रै छन् । यो कारण बहुआयामिक हिसाबले यी कुरा भनिएको छ । ओलीको काँधमा बन्दुक राखेर तपाईंकै पुस्ताका मान्छेले हानिराखेका छन् । तपाईंभन्दा बढी भोटो फटाएका युवराज ज्ञवालीसहित १० बुँदेवाला पार्टीमा बसिरहेका छन् । तपाईं पार्टी नछोड्नुस् । एकचोटि मलाई यो कुरा बुझाउने समय दिनुस् । नबसे अर्को पार्टीमा जानुस्, बस्ने भए झगडा गरेर हुँदैन ।’ दयालका अनुसार, यति कुरा सुनेपछि भीम रावल रोए ! 

भीम रावललाई व्यवस्थापन नगरिँदा ०७९ को निर्वाचनमा पार्टीले सुदूरपश्चिम र कर्णालीमा ठूलो क्षति व्यहोरेको उनको भनाइ थियो । नत्र, ०७४ को निर्वाचनमा सुदूरपश्चिममा वाम गठबन्धनले १४ सीट जित्दा देउवामात्रै हुनुहुन्थ्यो कांग्रेसबाट फुत्कने । सुदूरमा एमाले जम्मा दुई सीट, कर्णालीमा शून्य छ । त्यसमाथि बाँकेदेखि बर्दियासम्म आछामीको बाहुल्यता ! उहिल्यै अछामी पहलमानसिंह स्वाँरले जंगल फँडानी गरेर बसाएको कैलालीको पहलमानपुर पूरै अछामीको बस्ती हो । गत वर्षको निर्वाचनमा त्यहाँबाट लेखराज भट्टले हार्लान् भनेरै टिकट दिन नखोजिएका भीमका पिए झपट रावललाई दिइयो । तर, यति गर्दा पनि लेखराज पराजित भए । त्यसको कारण पनि भीम रावललाई व्यवस्थापन नगरिनु हो भन्ने दावी थियो, दयालको ।

फेरि भर्खरै पनि दयालहरूको टोली रावललाई भेट्न काठमाडौंस्थित टोखाको घरमा पुग्यो । यसबारे ओलीलाई रिपोर्टिङ गर्दै उनले सुनाए, ‘बरु मेरो केन्द्रीय सदस्य लैजानुस्, काममा आउनुस् !’ सुदूरपश्चिममा कसैले पनि कमाण्ड गर्न नसकेको भन्दै भएका नेतामध्ये डा.दीपकप्रकाश भट्ट एमालेभित्रै कमजोर छन् । कर्ण थापाहरूबाट कामै चल्दैन भन्दै दयालले ओलीलाई भने, ‘त्यसैले भीम रावललाई केन्द्रीय सदस्यमा ल्याइहाल्नुस् ।’ उनले थपे, ‘सुदूरपश्चिममा ठूलो घाटा हुन्छ, अहिल्यै भइसक्यो ।’ दयालको टोली त्यहाँ पुग्दा रावलले आधा घण्टाजति कुरा सुने । खास प्रतिक्रिया केही जनाएनन् ।

भनिन्छ, पछिल्लो समय रावलप्रति केपी ओली ‘सफ्ट’ देखिनुभएको छ । पहिला ओलीलाई जसरी अछामका जनताले स्वागत गरेका थिए, त्यसैगरी बाजागाजा, फूलमालासहित रावललाई स्वागत गरिरहेका छन् । रावल जिल्लामा घुमिरहेका छन् । उनी त्यहाँ स्थानीय भाषामा भाषण गर्छन् । जनतामा उनीप्रतिको सहानुभूति पनि बढेको छ । आफ्ना कार्यकर्ताको संरक्षण नगरे पनि उनीचाहिँ योग्य मान्छे हो भन्ने छाप परेको छ । भनिन्छ, उनी गएको निर्वाचनमा मौन रहँदा अछाममा दुई सीट घाटा लाग्यो । दैलेखमा पनि मान्छेहरूले चित्त दुखाए । त्यहाँ एमालेका लक्ष्मीप्रसाद पोखरेल जम्मा १ सय ६३ भोटले हारेका हुन् । केपी ओली भाषण गर्न जाँदा भीडबाट ‘भीम रावल’ भन्ने नाम आउँदा ओलीले अछामतिर देखाएर ‘ऊ, त्यता’ भनिदिँदा भोट भाँडिएको भनिन्छ । 

उता, हालै सम्पन्न एमालेको सुदूरपश्चिम सम्पर्क समन्वय कमिटीको अध्यक्षमा रावलपक्षीय सुरत खत्री निर्वाचित भएका छन् । 
 

टिप्पणीहरू