श्रीमती मारेर भागेका सूर्यबहादुर दुई दशकपछि पक्राउ

श्रीमती मारेर भागेका सूर्यबहादुर दुई दशकपछि पक्राउ

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वश्वसहित जन्मकैद सजाय पाएपछि फरार प्रतिवादी सूर्यबहादुर दवाडी पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–१ बस्ने उनलाई प्रहरीले दुई दशकपछि नियन्त्रणमा लिएको हो । 

अंशसम्बन्धी विषयमा झगडा हुँदा २०५९ फागुन २८ गते उनले श्रीमती सानुमायाको कुटपिटपछि नाम्लोले घाँटीमा कसेर हत्या गरेका थिए । 

जिल्ला अदालत धादिङको २०६१ जेठ ५ गतेको फैसलाले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा उनलाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । 

अदालतको फैसलालगत्तै फरार भएका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले हिजो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट नियन्त्रणमा लिएको हो । उनलाई फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत काठमाडौंमा बुझाइएको थियो । 

अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू