काम नपाएर डिप्रेशनमा गएका साहिलको एनआरएनए क्यानडाद्धारा उद्धार

काम नपाएर डिप्रेशनमा गएका साहिलको एनआरएनए क्यानडाद्धारा उद्धार
सुन्नुहोस्

अध्ययनका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता पठाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको पहलमा सिद्धार्थनगर नगरपालिका–८, बुद्धपथका २३ वर्षीय साहिल श्रेष्ठलाई नेपाल ल्याइएको हो ।

झण्डै एक वर्षअघि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न टोरण्टोको स्कारब्रोस्थित सेन्टेनियल कलेज भर्ना भएका उनी काम नपाएपछि डिप्रेशनमा गएका थिए । शुरुवातमा हाँसीखुसी बस्दै आएका उनी कोठा भाडासमेत तिन नसक्ने अवस्थामा पुगेपछि केही समययता डिप्रेशनमा थिए । त्यसपछि अस्पताल भर्न भएको साथी सागर मानन्धरले बताए । 

यसबारे सबै जानकारी पाएका एनआरएनए क्यानडाका कमल ज्ञवालीले उद्धार गरेर नेपालमा रहेका साहिलका परिवारलाई सम्पर्क गरी हिजो फिर्ता पठाएका हुन् । कतार एयरवेजको जहाजमा उनी आज बिहान काठमाडौं आइपुगेको ज्ञवालीले जानकारी दिए । 

‘उहाँ बेवारिसे अवस्थामा रहेको क्यानडा प्रहरीबाट जानकारी पाएलगत्तै हामीले ब्राम्पटनमा रहेको सिबिक अस्पतालबाट उद्धार गर्यौं । उहाँ आज बिहान नेपाल पुग्नुभयो । एयरपोर्टमा परिवारजनले जिम्मा लिइसक्नुभयो’, उनले भने । 

क्यानडामा काम पाउन कठिनाइ 

उच्च शिक्षा अध्ययनका लागि क्यानडा उत्कृष्ट गन्तव्य हो । पछिल्लो समय क्यानडा नेपाली विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ । तर, काम नपाउँदा विद्यार्थीहरु मर्कामा पर्ने गरेका छन् । क्यानडामा काम पाउन निकै मुश्किल छ । एनआरएनएका सदस्य ज्ञवाली क्यानडामा टिक्नु सोचेजति सजिलो नभएको बताउँछन् । 

उनी भन्छन्,‘क्यानडामा नयाँ नेपाली विद्यार्थीहरुको अवस्था एकदमै भयावह छ । तपाई हामीले सोचेभन्दा पनि धेरै । कहिले खानासमेत बनाउन नपरेकाहरु क्यानडा आएका छन् । कोठाभाडा, खाना, काम र पढाइको चिन्ताले उनीहरु पिरोलिनुपरेको छ । नेपालबाट लाखौं रुपैयाँ खर्च गरेर ठूलो सपना बोकेर आयो । यहाँको अवस्था नै बेग्लै पाउँछन्, उनीहरुले । त्यसैले धेरै विद्यार्थी मानसिक समस्याको शिकार भइरहेका छन् ।’

यता, एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलाल कम्पनीले विद्यार्थीलाई काम दिन असाध्यै अप्ठेरो मान्ने बताउँछन् । गर्मी महिनामा काम पाउन सहज भएपनि जाडोमा कामै नपाउने उनको भनाई छ । क्यानडामा नेपाली विद्यार्थीको चाप बढेको उल्लेख गर्दै उनले भने,‘क्यानडामा विद्यार्थीको चाप धेरै छ । त्यसैले काम पाउन गाह्रो छ । यहाँको पढाइ सकेपछि विद्यार्थीलाई काम पाउन सहज हुन्छ ।’

टिप्पणीहरू