रिस पूर्वपतिको, हत्या चार वर्षीय छोराको

रिस पूर्वपतिको, हत्या चार वर्षीय छोराको

कहिलेकाहीँ समाजमा यस्ता अपराधका घटना पनि घट्ने गर्छ, जुन फिक्शन फिल्मको कथा र दृश्यभन्दा कम लाग्दैन । एउटी आमा कसरी आफ्नै सन्तानको हत्यारा हुन सक्छिन् ? आउनुुस्, भारतको एउटा वास्तविक 'सस्पेन्स' अपराधको चर्चा गरौँ ।

नाम– सुचना सेंठ (३९ वर्ष) । मिति– जनवरी ८ । स्थान– गोवास्थित सामुद्रिक तटको एक होटल । समय– राती १० बजे ।

होटलको रिसेप्शनमा कल आयो । सोही होटलको तेस्रो तल्लामा रहेको एउटा कोठामा दुई दिनदेखि बस्दै आएकी सुचनाको कल थियो त्यो । रिसेप्शनमा बसेका होटलका एक कर्मचारीले कल उठाए, ‘हेल्लो !’

 जवाफ आयो, ‘म रुम नम्बर ५०४ बाट । तत्कालै चेकआउट गर्नुपर्ने भो । मेरो कति भयो पैसा ? बिल बनाएर राख्दिनुस् । म तल झर्दैछु ।’

करिब १५ मिनेटपछि सुचना रिसेप्शनमा पुगिन् । र बिल तिरिन् । कर्मचारीलेसोधे,  'हजुरले त जनवरी १० सम्मका लागि रुम बुक गर्नुभएको होइन र ? किन आजै जान लाग्नुभएको ?’ जवाफमा सुचनाले भनिन्, ‘हुन त हो ! तर मेरो इमर्जेन्सी काम परेर तत्कालै बैंगलोर जानुपर्ने भो ।’

‘यति राती बैंगलोर जाने ?’, कर्मचारीले जिज्ञासामा उनले भनिन्, ‘हो, मलाई इमर्जेन्सी छ । बरु बैंगलोरसम्म जाने एउटा ट्याक्सी बूक गर्दिनुस न् तुरुन्तै । ड्राइभरलाई मागेकै दाम दिन्छु ।’

कर्मचारीले बैंगलोर धेरै टाढा भएकाले फ्लाइटमा जान सुझाए, 'तपाईलाई छिटो पनि हुन्छ, भाडा पनि सस्तो पर्छ ।’ तर, सुचनाले मानिनन् । आफूले अनलाइनबाट बुझ्दा तत्काल कुनै फ्लाईटको टिकट नपाएकाले ट्याक्सीमै जानुपर्ने बाध्यता परेको उनको कुरा सुनेपछि ती कर्मचारीले पनि होटलको सम्पर्कमा रहेका ड्राइभरहरुलाई कल घुमाए । र, एउटा ड्राइभरलाई पक्का गरेर होटलमा बोलाए ।

ड्राइभर होटलसम्म आइपुग्न करिब १०–१५ मिनेट लाग्ने देखियो । कर्मचारीले सुचनालाई फेरि सोधे, ‘म्याडम, तपाई यहाँ आउँदा एउटा बच्चासँग आएजस्तो लाग्थ्यो । अहिले जाँदा एक्लै हुनुहुन्छ त !’

सुचनाले हठातमा जवाफ दिइन्, ‘होइन ! तपाईलाई भ्रम भयो होला । म एक्लै आएकी थिएँ । एक्लै जाँदै छु ।’ त्यतिकैमा ट्याक्सी आइपुग्यो । साँढे १० बजेतिर ट्याक्सी हुइँकियो बैंगलोरको लागि ।

होटलमा कर्मचारीहरु सुचना बसेको कोठामा पुगे, सरसफाईको लागि । सुरुमा बाथरुम सफा गरे । बेडको तन्नाहरु फेरे । अनि कोठाको डस्बिन सफा गर्न थाले । त्यतिबेला उनीहरुको आँखा गयो, डस्बिनको छेउमा खसेका रगतका थोपाहरुमा । जुन निकै अस्वभाविक थियो ।

पाहुना बसेको कोठामा रगतका छिटाहरु देखेपछि तत्काल होटलको सुपरभाइजरलाई बोलाइयो । सुपरभाइजर पनि कोठामा आए । उनी पनि रगतका छिटाहरु देखेर आश्चार्यमा परे ।

तत्कालै सुपरभाइजरले उक्त कोठा चेकआउट गरेर निस्केकी सुचनालाई कल गरे । तर सुचनाको कल उठेन । त्यसपछि उनले अत्तालिदै प्रहरीलाई कल गरे । त्यसको केही मिनेटमै प्रहरी होटलमा आइपुग्यो ।  

यतिन्जेलसम्म मध्यरात भइसकेको थियो । उता सुचना बाटोमा थिइन्, ड्राइभरले ट्याक्सी हाँकेकै थियो । यता होटलमा भने रगतका छिटाहरुले नयाँ घटना जन्माउदै थिए । प्रहरीले पनि सुचना बसेको कोठामा रगतका छिटाहरु देखे । त्यसपछि होटलको सिसिटिभी फुटेजबाट अनुसन्धान सुरु भयो ।  

सिसिटिभीमा होटलबाट निस्किसकेकी सुचनाको गतिविधि हेर्दा स्पष्ट भयो, जनवरी ६ मा होटल आउँदा बच्चा र एउटा मात्र लगेजसहित प्रवेश गरेकी थिइन् उनी । तर, चेकआउट गरेर जाँदा एक्लै तर दुइवटा लगेज देखियो  । रिसेप्शनका कर्मचारीले अघि भनेको कुरा सही थियो, सुचना बच्चासँगै होटलमा आएकी थिइन् ।

त्यसपछि प्रहरीले होटलबाट तत्काल सुचनाको नम्बर मागेर कल गर्यो । तर, कल उठेन । त्यसपछि प्रहरीले ट्याक्सी ड्राइभरलाई सम्पर्क गरे, जुन ड्राइभरलाई सुचनाको लागि होटलले नै प्रबन्ध गरिदिएको थियो । प्रहरीले ड्राभइरसँग सुचनालाई फोन दिन आग्रह गरे । त्यतिबेला सुचना अचम्म परिन्, किनकि ट्याक्सी ट्याक्सी ड्राइभरलाई फोन गरेको प्रहरीले उनीबारे सोधिरहेको थियो ।

प्रहरीले फोनमा सुचनालाई सोध्यो, ‘तपाईको मोबाइलमा कल गरिरहेका छौँ, किन उठाइरहनु भएको छैन ?’ उनले जवाफ दिइन्, ‘सरी, म निदाएको थिएँ । मेरो मोबाइल साइलेन्टमा रहेछ ।’

प्रहरीले फेरि सोध्यो, ‘तपाईको एउटा बच्चा छ, हैन ?’ सुचनाले मलिन स्वरमा भनिन्, ‘हो ! किन र ?’ प्रहरीले प्रतिप्रश्न गर्यो, ‘यत्तिकै सोधेका हौँ, अफ्ठ्यारो नमान्नुहोला । अनि अहिले तपाईको बच्चा कहाँ छ ?’  सुचनाले भनिन्, ‘मेरो बच्चा गोवामै आफन्तीको घरमा छ ।’

यसपछि प्रहरी स्पष्ट भए, सुचना झुठ बोलिरहेकी छन् । किनकि, होटलबाट चेकआउट गर्दा उनी एक्लै निस्किएको सिसिटिभीमा प्रष्ट देखिएको थियो ।

करिब १० मिनेटको अन्तरालपछि प्रहरीले ड्राइभरलाई फेरि फोन गरे । र भने, ‘तपाईसँग रहेकी महिलालाई यो कुरा थाहा नहोस् । तपाईले आफ्नो नजिक जुन प्रहरी चौकी देख्नुहुन्छ, ट्याक्सी त्यही लगेर रोक्नुस् ।’

प्रहरीले फोनमा यस्तो भनेपछि ड्राइभर पनि एकछिन् अत्तालिए । उनले सोधे, ‘किन र सर ?’ प्रहरीले आदेशको शैलीमा भने, ‘अहिले जवाफ दिन समय छैन । तपाईले भनेको मात्र गर्नुस्, नजिकमा जुन चौकी देख्नुहुन्छ, ट्याक्सी त्यही लगेर रोक्नुस् । तर, यो कुरा तपाईसँग बसेकी महिलालाई थाहा नहोस् ।’

त्यतिन्जेलसम्म ट्याक्सीले कर्नाटाको चित्रदुर्ग जिल्ला प्रवेश गरिसकेको थियो । ड्राइभरले बाटोमा अहिमलंगा प्रहरी चौकी देखे । र, प्रहरीले भने बमोजिम नै ट्याक्सी चौकीको अगाडि रोके ।

ट्याक्सी अचानक चौकी अगाडी रोकिएको देखेर सुचना ‘शक्ड’ भइन् । तत्कालै ट्याक्सीलाई चारैतिर प्रहरीले घेरा हाले र तलासी लिए । अन्ततः एउटा लगेजभित्र सुचनाकै ४ बर्षीय छोरोको लाश भेटियो । उनी पक्राउ परिन् ।

अब यहाँ थाहा हुन्छ, सुचनाले आफ्नै कोखबाट जन्मेको छोरोको हत्या गरेकी थिइन् । र लाश बोकेर रातरात बैंगलोर जाँदै थिइन् । प्रहरीको ठम्याई थियो, कानूनअनुसार जुनकुनै घटना र अपराधको पनि कारण हुन्छ । तर, यो घटनामा कारण के होला ? जसले गर्दा एउटी आमाले आफ्नै छोरोको निर्मम हत्या गरिन् । यसबारे सबै अनविज्ञ थिए ।

सुचना पक्राउ परेपछि पनि प्रहरीलाई घटनाको कारण थाहा पाउन सकस पर्यो । वा भनौ, कारण सस्पेन्स नै थियो । प्रहरीले उनलाई बारम्बर सोध्यो, ‘किन आफ्नै छोरोको हत्या गरेको ?’ जवाफमा उनले भनिन्, ‘मैले मारेको होइन । डिनर गरेर सुतेका थियौँ । म ब्युँझदा मृत अवस्थामा थियो ।’

सुचनाको यस्तो जवाफ प्रहरी पत्याउनेवाला थिएन । किनकि प्रहरीको हातमा मृत बालकको पोस्टमार्टम रिपोर्ट आइसकेको थियो । रिर्पोटमा बालकको घाँटीमा अत्याधिक जोडले दबाब दिइएको र श्वास फेर्न नसकेर मृत्यु भएको स्पष्ट उल्लेख गरिएको थियो । अर्थात् सुचनाले घाँटी थिचेर छोरोको हत्या गरेकी थिइन् ।

घटना जति–जति अघि बढ्दै थियो, प्रहरीलाई त्यति नै नयाँ सस्पेन्स थाहा हुँदै थियो । आमाहरुको लागि हरेक सन्तान प्रिय हुन्छन् । आफू भोकै बसेर पनि सन्तानको पेट भर्न आमाहरु सधैँ अग्रसर हुन्छन् । मातृत्वको महिमा र आयाम सायद प्रेमको सबैभन्दा सुन्दर उदाहरण हो ।

तर, यो घटनामा आमाले नै आफ्नो सन्तानको हत्या गरेकी छन् ? यो कसरी भयो ? किन भयो ? यसको लागि प्रहरीले सुचनाको जीवन खोतल्न थाल्यो । गरिबीको कारण वा अज्ञानताको कारण उनले आफ्नो छोरो मारेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो । तर, वास्तविकता भने अनुमानभन्दा ठीक उल्टो निस्कियो ।

अनुसन्धानमा नयाँ ट्वीस्ट थपियो । वास्तवमा आइटीमा मास्टर्स गरेकी सुचना एक शिक्षित महिला थिइन् । १२ वर्षदेखि आइटी क्षेत्रमै आवद्ध उनी डेटा एक्सपर्ट थिइन् । आर्टिफिसियल इन्टलेजेन्सी विज्ञसमेत रहेकी उनको ओपन एआईसँग सम्बन्धित चर्चित स्र्टाटअप कम्पनी ‘माइन्डफूल एआई ल्याब’ थियो । कम्पनीको सिइओ पनि उनी नै थिइन् । नाम, पैसा र ज्ञानको कुनै अभाव थिएन सुचनालाई ।

सुचनाबारे यति थाहा पाएपछि प्रहरीहरु झन् अचम्मित हुँदै गए । यति सम्पन्न र शिक्षित महिलाले कसरी आफ्नो सन्तानको घाँटी थिचेर हत्या गर्न सक्छ । मूल कारण अझैसम्म सस्पेन्स नै थियो ।

अब प्रहरीले अनुसन्धानलाई झन् गम्भीर रुपमा लिन थाल्यो । सुचनाले सन् २०१० बैंकट रमणसँग बिहे गरेकी र सन् २०१९ मा उनीहरुको छोरो जन्मिएको प्रहरीले पत्ता लगायो । छोरो जन्मिएको एक वर्ष नबित्दै श्रीमान र श्रीमतिबीच तिक्तता बढ्न थाल्यो । दैनिक झगडा पर्थ्यो उनीहरुको । सम्बन्ध यतिसम्म बिग्रियो कि उनीहरु डिभोर्स गर्ने निर्णयामा पुगे ।

एक वर्षपछि अर्थात सन् २०२० मा उनीहरुको सम्बन्धको मुद्धा अदालतसम्म पुग्यो । मुद्धा विचाराधिन अवस्थामै थियो । गत डिसेम्बर १० मा अन्ततः अदालतले उनीहरुलाई आ–आफ्नो बाटो लाग्नेगरी डिभोर्सको फैसला सुनायो ।

अदालतले ४ बर्षीय छोरा सुचनासँगै रहनेगरी डिभोर्सको सर्टिफिकेट दियो ।  तर, फैसलामा श्रीमान बैंकटलाई भने भिजिटेशन राइट दिइएको थियो । अर्थात् छोरोसँग उनले साप्ताहिक रुपमा फोन वा भिडियो कल गर्न पाउने र मासिक रुपमा भेट्न पाउने अधिकार ।

अदालतको फैसलापछि सुचना खुशी त थिइन्, तर सन्तुष्ट भने थिइनन् । किनकि अदालतले बैंकटलाई छोरोसँग भेट्ने अधिकार दिएको थियो । जुन कुरा उनलाई मन परेको थिएन । उनी डिभोर्स भइसकेको श्रीमानले कुनै पनि हालतमा आफ्नो छोरोलाई नभेटोस् भन्ने चाहन्थिन् ।

पूर्वपतिले छोरोसँग बोलेको देख्दा एक महिनामै सुचनालाई दिक्दार लाग्न थालिसकेको थियो । उनी मानसिक रुपले अत्यन्त प्रभावित बनेकी थिइन् ।

प्रहरीले सुचनाको जीवनलाई खोतल्दै जाँदा थप नयाँ–नयाँ रहस्यहरु पत्ता लाग्दै गयो । जनवरी ६ मा बैंगलोरबाट छोरो लिएर गोवा पुगेकी सुचना दुई दिनअघि मात्र गोवाबाटै फर्केकी थिइन् । अर्थात् उनी नयाँ वर्ष मनाउन डिसेम्बर ३१ मा छोरोसहित गोवा पुगेकी थिइन् । छोरासँग चार दिन बिताएकी उनी उसैको  खुशीका लागि मंहगो शुल्क तिरेर पाँचतारे होटलमा बसेकी थिइन् । नयाँ वर्ष मनाएर उनी जनवरी ४ मा मात्रै बैंगलोर फर्केकी थिइन् ।

त्यसको भोलिपल्ट जनवरी ५ मा सुचनालाई डिभोर्स भइसकेका श्रीमान बैंकटको फोन आयोे । फोनमा उनले आफू जनवरी ७ मा छोरोलाई भेट्न आउने बताएका थिए । यो सुन्नबित्तिकै सुचनालाई रिस उठ्न थाल्यो । उनी कुनै हालतमा भेट्न नदिने निस्कर्षमा पुगेकी उनले बैंकटलाई भनिन्, ‘छोरो बिरामी छ । उसलाई उपचार गर्न गोवा लग्दैछु ।’

त्यसपछि उनी गोवाबाट फर्केको २ दिन नबित्दै फेरि त्यतै गइन्, अर्थात जनवरी ६ मा । जुनदिनबाट यो घटनाको सुरुवात भएको थियो । उनले गोवा जाँदैगर्दा घरमा एउटा सानो कागजको टुक्रा छाडेकी थिइन् । जुन टुक्रा केही गरी बैंकट घर आइहालेमा देखोस् भन्ने उद्धेश्यले छाडेकी थिइन् । कागजमा लेखिएको थियो, ‘अदालतले जे भने पनि छोरो मेरो हो ।’

गोवा पुगेपछि अत्यधिक चिन्तन गर्न थालेकी उनी मानसिक रुपमा अस्थिर भैरहेकी थिइन् । यहाँसम्म कि अत्यधिक सोच र चिन्तनले केही समयको लागि उनीभित्रको मातृत्व नै हरायो । र सोच्न थालिन्, छोरो नै नभए बैंकटले कसलाई भेट्छ ! त्यहि सोचले सुचनालाई आफ्नै नाबालक छोरोको हत्या गर्ने अवस्थमा पुर्यायो ।

यो घटना यतिबेला अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा व्यापक भाइरल भएको छ । घटना बाहिरिएसँगै मानवीय मनोविज्ञान र मनोदशामाथि गम्भीर बहस हुन थालेको छ । अत्याधिक चिन्तनले कसरी मानिसको विवेकलाई नोक्सान गर्छ ? भन्ने बहस सतहमा आएको छ ।

चर्चित भारतीय मनोवैज्ञानिक डा. भवानी बर्मीले समेत यस घटनामा निकै चासोका साथ आफ्नो अभिव्यक्ति दिइरहेकी छन् । उनले सुचना ह्युम्यान तथा इमोशन डिजास्टरको शिकार बन्न पुगेको कारण यो घटना घटेको बताएकी छन् । १०० महिलामा ५ जना महिलालाई यो समस्या हुने उनको भनाई छ । बर्मीका  अनुसार यो घटना कुनै योजनावद्ध हत्या नभएर मानवीय महशुस र चिन्तनको अस्थिरताले निम्त्याएको परिणाम हो ।

डा. बर्मीले भनेकी छन्, ‘कहिले मानिस अत्यधिक चिन्तनले ह्युम्यान तथा इमोशन डिजास्टरको शिकार बन्छन् । यस्तो अवस्थामा नकारात्मक भावना र विचारहरु पैदा हुन्छ । विवेक गुम्दै जान्छ । महिलाहरु हकमा त झन् आफू कमजोर भएको, फेलियर भएको महशुस गर्छन् । होपलेश र हेल्पलेश महशुस गर्छन् । त्यस्तो अवस्था उनीहरु आफूलाई बलियो देखाउन जे पनि गर्न सक्छन् । यस्तो अवस्थामा पैसा, नाम, सम्पन्नता निस्क्रिय रहन्छन् । विवेकमै ह्रास आउछ । यसको ज्वलन्त उदाहरणको रुपमा यही सुचना सेंठको घटनालाई लिन सकिन्छ । अत्याधिक सोच्ने बानीले कहिलेकाही नराम्रो असर गर्छ र नराम्रो क्षती पुर्याउँछ । मानवीय मनोदशाबारे सबै सचेत रहनुपर्छ ।’

‘मेन्टल डिसअर्डर’का कारण सुचनाले आफ्नै छोरोको हत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अहिले सुचना प्रहरी हिरासतमा छिन् । प्रहरीले अदालतबाट ६ दिनको म्याद थपेर उनीमाथि अझै अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू