वीरबहादुर ३२ वर्षपछि किन समातिए

वीरबहादुर ३२ वर्षपछि किन समातिए
सुन्नुहोस्

मानव बेचबिखन मुद्दाका एकजना फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ परेका छन् । 

धादिङको मेत्रावती गाउँपालिका–२ घर भएका ५७ वर्षे  वीरबहादुर तामाङलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले हिजो ललितपुरबाट नियन्त्रणमा लिएको हो । उनीमाथि पीडितलाई ब्रुनाई पठाइदिने प्रलोभनमा पारेर भारत पुर्याई बेचेको अभियोग छ । 

प्रहरीका अनुसार तामाङले पीडितको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा ब्रुनाईमा रहेका बेला ०४७ सालको चैत्र ३ गते 'श्रीमानले ब्रुनाई ल्याईदिनु भनेर मलाई चिठ्ठी पठाएको छ' भनी  झुक्याएर काठमाडौंबाट काकरभिट्टा हुदैं भारतको पश्चिम बंगालस्थित बागडोग्रा भन्ने सहर पुर्याएका थिए । त्यहाँ पुगेपछि एक अपरिचित व्यक्तिको घरमा पुर्याई भोलि आउँछु भनि पीडितलाई सो घरमा छोडेर गएको खुलेको छ । 

तामाङले भारतीय नागरिकबाट दश हजार भारु लिएर पीडितलाई बेचेको तर, रिक्सामा जाने क्रममा पीडित युवती हामफालेर नजिकैको भारतीय प्रहरीको सम्पर्कमा गएकी थिइन् । त्यसपछि भारतीय प्रहरीले उनलाई काकरभिट्टा ल्याएर छोडेको ब्यूरोले जनाएको छ ।  

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान हुनुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरुको पनि खोजी भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

टिप्पणीहरू