स्वतन्त्र मेयरको घरमा क्रान्तिकारीको कालो ब्यानर

स्वतन्त्र मेयरको घरमा क्रान्तिकारीको कालो ब्यानर
सुन्नुहोस्

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसम्बद्ध क्रान्तिकारी युवा संगठनले धनगढी उपमहानगरका प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसेको छ । 

सो पार्टीका केन्द्रीय सदस्य तथा बजुरा इञ्चार्ज केशव उपाध्यायको नेतृत्वमा गएको समूहले आज बिहान हमालको घरको गेटमा आफ्ना मागसहितको ब्यानर टाँगेको बताइन्छ । जनजीविकाका विभिन्न मुद्दामा आफूहरुले उठाउँदै आएको माग सम्बोधन नभएकाले विरोधस्वरूप कालो ब्यानर राखेको सो पार्टीले जनाएको छ । 

गत सोमबार पत्रकार सम्मेलन गरेर ४८ बुँदे माग राख्दै क्रान्तिकारी युवा संगठनले हमालको घरमा ब्यानर टाँस्ने चेतावनी दिएको थियो । उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत १५ दिने अल्टिमेटम पठाउँदासमेत समाधानतर्फ ध्यान नदिएपछि यस्तो कदम चाल्नु परेको संगठनले दावी गरेको छ । 

माग पूरा नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू