डोल्पाको सडकमा लाखौं भ्रष्टाचार

डोल्पाको सडकमा लाखौं भ्रष्टाचार

डोल्पाको मुड्केचुला गाउँपालिकामा बनाइएको सडकमा भ्रष्टाचार गरिएको छ । भ्रष्टाचारको आरोपमा गाउँपलिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डाँगीसहित इञ्जिनियर देवराज रावत, सव–इञ्जिनियर दिपनारायण यादव, वडानम्बर ८ का तत्कालिन वडाध्यक्ष धनबहादुर रोकाया, सदस्य रामकुमार नेपाली, वडा प्राविधिक इशारा बुढा, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकाया र कोषाध्यक्ष निर्मला रोकायाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ । 

आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाबाट सञ्चालित वडा नम्बर ८ स्थित घुम्चो खोलादेखि महादेवसम्मको सडक आयोजनामा उनीहरुको मिलेमतोमा अनियमितता भएको पाइएको हो ।

गाउँपालिका र उपभोक्ता समितिबीच सम्झौता भई स्वीकृत लागत अनुमानबमोजिम कार्य नगरी बढी खर्च देखाएर १० लाख ९७ हजार ८५२ रुपैयाँ भुक्तानी दिइएको आयोगको दाबी छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम १० लाख ९७ हजार ८५२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू