प्रहरी नै जुवाको खालबाट पक्राउ

प्रहरी नै जुवाको खालबाट पक्राउ

कानुनविपरीत जुवातास खेल्ने र खेलाउनेहरूलाई नियन्त्रणमा लिने कतिपय प्रहरी नै जुवाडे रहेको पाइएको छ । गत कात्तिक १२ गते एक जना प्रहरी नायव निरीक्षक (सई) जुवाखालबाट समातिए । कञ्चनपुरको भीमदत्त नगरपालिका–७, हल्दुखोलस्थित खोला किनारमा जुवातास खेल्दाखेल्दै लागुऔषध नियन्त्रण व्यूरो, महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जना पक्राउ परेका हुन् । 

दिउँसै जुवा खेल्ने भारतीयसहितको टोलीलाई प्रहरीले गत मंसिर २७ गते पक्राउ गर्‍यो । काठमाडौंको कुलेश्वर बस्ने भारत घर भएका २६ वर्षीय मुकेश कुमारको कोठाबाट प्रहरीले उनीसहित ६ जनालाई नियन्त्रणमा लिएको हो । विशेष सुराकीको आधारमा प्रहरी वृत्त, कालिमाटीबाट खटिएको टोलीले उनीहरूको साथबाट एक लाख २१ हजार रुपैयाँ, तीन बुक तास बरामद गरेको थियोे । पछिल्लो समय प्रहरीले दिनहुँजसो जुवाडेहरू समातिरहेको छ ।

ललितपुरको बागडोलस्थित मुग्लान रेष्टुरेण्टको पाँचौ तलामा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा झण्डै एक दर्जन केही समयअघि समातिएका थिए । पक्राउ पर्नेमा साधुराम कठायत, उमेश घिमिरे, वीरेन्द्र स्थापित, रमेश तिमिल्सिना, सोमनाथ गोले, बिशु तामाङ, राजिव डंगोल, प्रदिपकुमार लामा, श्याम महर्जन र शैलेश महर्जन छन् । उनीहरूको साथबाट चार लाख ९९ हजार पाँच सय रुपैयाँ र १६ थान कौडा बरामद गरिएको थियोे । प्रहरीले अनुसन्धान सकेर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ । जुवा एउटा लतजस्तै हो । जुवा खेलेरै जिन्दगीभरको कमाइ, घरखेत गुमाएका धेरै घटना छन् । त्यस्तै, जुवाकै कारणले पति–पत्नीको सम्बन्ध बिग्रिएको र बालबच्चाको बिजोग भएको उदाहरण पनि छ ।

जुवाडे समात्न जोखिम 

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–०७६ मा दुई हजार ८६९ जुवाडे पक्राउ परेका छन् । जसमध्ये पुरुष दुई हजार ७५९, महिला ९५ र विदेशी १५ जना छन् । त्यस्तै, आर्थिक वर्ष २०७६–७७ मा तीन हजार ५८४ जना समातिएका छन् । पक्राउ पर्ने पुरुष तीन हजार ४४५, महिला १२७ र १२ विदेशी छन् । आर्थिक वर्ष २०७७–७८ मा पक्राउ पर्नेको संख्या तीन हजार ४५६ रहेको छ । तीन हजार ३३२ पुरुषसहित १०८ महिला र १६ विदेशी समातिएका छन् । त्यसैगरी ०७८/७९ मा तीन हजार ६३ पुरुष, १४२ महिला र १८ विदेशी गरी तीन हजार २२३ जनालाई पक्राउ गरिएको छ । ०७९/८० मा दुई हजार १४६ पुरुष, १०९ महिला र तीन जना विदेशी गरी दुई हजार २५८ जना समातिएका छन् । 

जुवा खेल्न बन्देज, तासको आयात खुला 

सरकारले जुवातास खेल्न र खेलाउन प्रतिबन्ध लगाएको छ । तर, तासको आयात भने खुलेआम छ । अझ चाडबाडको बेला तासको आयातले ‘रेकर्ड’ तोड्छ । चालु आर्थिक वर्ष २०८०–८१ को दुई महिनामै ६ करोड रुपैयाँ बढीको तास आयात भएको भन्सार विभागले जनाएको छ । सरकारले जुवातास खेल्नेलाई सजायँ गर्न कारागार बनाउन सक्ने तर आयातमा प्रतिबन्ध लगाउन नसक्ने भन्दै कानुन व्यवसायी विष्णु तिमल्सिनाले आपत्तिसमेत जनाए । उनले भने, ‘अधिकांश कानुन बाझिएको छ । एकातिर सरकार नगर भन्छ, अर्कोतिर आफैंले ती कार्य गर्न सहयोग पु¥याइरहेको छ । तास मनोरञ्जनका लागि भनिएको छ । त्यसो त कतिले तास मनोरञ्जनका लागि खेले ? यसको अध्ययन गर्नुपर्‍यो । जुवातास खेल्ने कार्यलाई अवैध मानिएको छ तर तासको आयात भइरहेको छ । हाम्रो सरकार कारागार बनाउन सक्ने भयो तर यस्ता विरोधाभाष कानुनलाई संशोधन गर्न नसक्ने भयो ।’

प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइनमार्फत सट्टेबाज (जुवा) खेल्ने क्रम बढेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन जुवा खेलेको आरोपमा गत जेठमा पाँच जनालाई पक्राउ गर्‍यो । एउटै व्यक्तिले ६३ वटासम्म खाता खोलेर अवैध कारोबार गरेको पाइयोे । गत मंसिरमा अनलाइन क्यासिनो गेमलगायतमा बाजी राख्न लगाएर हारजित हुने गरी सट्टेबाजी गराउने युवा समातिएका थिए । गिरोह नै बनाएर गैरकानुनी रुपमा अनलाइन गेम, बाजी, बेटिङ गर्ने र विद्युतीय माध्यमबाट भुक्तानी गर्ने कार्य केही समययता बढेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू