पसिनाको शेयर

पसिनाको शेयर
सुन्नुहोस्

कम्पनी खोल्दा त्यहाँ विभिन्न प्रकारका शेयर हुँदा रहेछन् । कति प्रकारका हुन्छन्, त्यो यहाँ चर्चा नगरौँ । केवल एक प्रकारको चर्चा गरौँ जो अहिले खुब चर्चित पनि छ । त्यो शेयर हो, स्वेट शेयर ।

अर्थात् पसिनाको शेयर । यसको नाम सुनेपछि थाहा भयो, पसिनाको पनि शेयर हुँदो रहेछ । तर, यो कस्तो प्रकारको शेयर हो त्यो भने थाहा थिएन । अहिले थाहा भयो । 

पसिनाको शेयर भनेको त्यस्तो शेयर रहेछ जसले भविष्यमा गएर पसिना निकाल्छ । जसको नाममा यो शेयर छ, भविष्यमा उसैको पसिना निकाल्न सक्छ । पसिना निकाल्ने शेयर भएकाले यसको नाम ‘पसिना शेयर’ भएको हुनुपर्छ । जस्तो कि अहिले रास्वपाका अध्यक्ष रवि लामिछानेको अवस्था हेर्नोस् । पसिनाको शेयरले गर्दा उहाँको पसिना निस्किरहेको छ ।

पसिना पुछ्न एकातिर अर्थविद् र अर्कोतिर बैंकर राखेर पत्रकार सम्मेलन गर्नु परिरहेको छ । बिचरा अर्थविद् र बैंकरको पनि कस्तो बिजोग हेर्नोस्, साला राजनीति गर्छु भनेर आएको छ यता पार्टी अध्यक्षले गरेको सहकारी ठगीको बचाउ गरेर बसिरहनुपरेको छ । राजनीतिमा राजनीति मात्र गर्छु भनेर पनि नपाइने रहेछ ।

बिचरा अर्थविद् डाक्टर साहेबले विदेशमा पढेर आएको अर्थशास्त्रका जम्मै सूत्रहरू अहिले आफ्नै अध्यक्षलाई बचाउन प्रयोग गरिरहनुपरेको छ । बैंकर सरले पनि जिन्दगीभर गरेको बैंकिङको अनुभव अहिले एउटा व्यक्तिको बचाउमा खर्च गरिरहनुपरेको छ । सबैको पसिना निस्किरहेको छ । पसिनाको शेयरबारे थाहा भयो होला नि ! 
 

टिप्पणीहरू