धादिङपछि एमाले ललितपुरमा धक्का

धादिङपछि एमाले ललितपुरमा धक्का
सुन्नुहोस्

एमालेको जिल्ला अधिवेशनमा पार्टीभित्रको आन्तरिक गुटगत प्रतिस्पर्धाले भिडन्तको आकार लिन थालेको छ । हालै धादिङ जिल्ला अधिवेशनमा एक कार्यकर्ताको हात नै भाँचिएको र दुई वटा गुटका अलग–अलग विज्ञप्तिको जुहारी छताछुल्ल भएकै छ । यही रूपमा ललितपुर जिल्ला कमिटीको आगामी अधिवेशनमा पनि हात हालाहालसम्मकै घटना हुन सक्ने देखिन्छ । युवा संघको विवादको निहुँ निकालेरै पड्काइदिने हो भन्दै एउटा समूहले जिल्ला अधिवेशनलाई विभिन्न दुश्मनी साँध्ने थलोका रूपमा सोचिरहेका छन् । 

स्थानीय तह निर्वाचनमा तत्कालीन इञ्चार्ज केन्द्रीय सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार र जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले मनपरी गरेको भन्दै वडाध्यक्षमा टिकट नपाएकाहरू फ्रेस मान्छेलाई जिल्ला अध्यक्ष बनाउन कस्सिएका छन् । बालकोटको उम्मेदवारको रूपमा वर्तमान जिल्ला अध्यक्ष आचार्य नै दोहोरिने बलियो सम्भावना छ तर उनलाई रोक्न अध्यक्ष केपी शर्मा ओलीका सहोदर साला ज्ञानेन्द्र शाक्यलाई साथ लिएर बागमती प्रदेश पूर्वसांसद चेतनाथ सञ्जेल दौडधुप गरिरहेका छन् । सञ्जेलले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेललाई घरमै बोलाएर केही निकट साथीहरूसँग भेटाएका छन् । उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निकट भनेर आफूलाई चिनाउने गर्छन् । ईश्वरका मान्छे भनेर चिनिने मधुसूदन पौडेलसँग पनि सम्बन्ध निकै सुधारेका छन् । 

आचार्य र सञ्जेल दुबैलाई गम्भीर आरोप लागेका कारण तेस्रो धार खोजिएको हो भन्दै केही प्रदेश सदस्य ललितपुर ३ का पुराना नेता दिनेश कार्कीलाई अघि सार्ने तयारी गरिरहेका छन् । जिल्ला अध्यक्ष बनिदिन बागमती प्रदेश सांसद प्रेमभक्त महर्जनलाई अघि सार्ने भन्दै एउटा समूह लागिरहेको छ । १० भाइको नाममा फर्किएका तत्कालीन माधव समूहका नेताहरूले निर्विवाद व्यक्ति भन्दै प्रेमभक्तलाई उठाउन पहल गरिरहेका छन् । दोस्रो पुस्ताका नेता ललितपुर १ बाट उपाध्यक्ष वा सचिव हुने मनशायले आएको भन्ने गरिएको छ । यसमा तारा सञ्जेल, मीठाराम केसी, रामचन्द्र दाहाल, गोपाल सञ्जेललगायत छन् भने प्रभाकर थापा, पुरुषोत्तम हुमागाईंहरूले समेत तेस्रो धारका नाममा ३ नम्बरमा अध्यक्ष गए आफूहरूले पदाधिकारीमा अवसर पाउन सक्ने विश्लेषण गरेर मौन समर्थन गरिरहेका छन् । 

बागमती प्रदेश सचिव नवराज सिलवालले कसलाई समर्थन गर्ने मुख खोलेका छैनन् । ओलीको टिम भन्दै हस्त पण्डितलाई लिष्टमा राखेर बाँड्न थालेपछि आकस्मिक निर्णय लिएर निर्वाचनमा होमिएका सिलवाल जित्नासाथ बालकोट पुगेका थिए । उनले ओलीलाई नचिढ्याउने रणनीति लिएर नजिक हुन खोजे पनि शक्ति विस्तारमा आफ्ना पक्का मान्छे भए उनलाई स्थापित गराउने, नत्र मौन बसेर अध्यक्षमा अरु भिडाई पदाधिकारीमा आफ्ना मान्छे सेट गराउने खेलमा छन् । आचार्यसँग प्रतिस्पर्धामा सिँगौरी खेलिरहेका सञ्जेललाई स्थानीय तहमा मेयरका उम्मेदवार गम्भीरबहादुर राणालाई हराएर कांग्रेसका गजेन्द्र महर्जनलाई जिताउन भूमिका खेलेको आरोप छ । प्रतिनिधि तथा प्रदेश सभामा उदयसमशेरसँग मिलेर संघमा सिलवाल हराउने र प्रदेशमा मिनकृष्ण हराएर आफू आउने चाल चलेको समेत आरोप लागेका उनी विवादै विवादमा छन् । 

युवा संघमा जबर्जस्ती नाम घोषणा गरिएको भन्दै सिलवालनिकट युवाहरूको एक समूह अहिलेसम्म आक्रोशित भइरहेको छ । धादिङ अधिवेशनमा एक कार्यकर्ताको हात भाँचिएको समाचार सार्वजनिक हुँदै गर्दा सातदोबाटोको एक क्याफेमा गफगाफमा जुटेका ललितपुरका युवाले जिल्ला अधिवेशनमा यही घटना दोहोरिने चेतावनी दिएका छन् । 
 

टिप्पणीहरू