ललिता निवासको जग्गा खाली गराउन सातदिने पूर्जी

ललिता निवासको जग्गा खाली गराउन सातदिने पूर्जी
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खाली गराउन सार्वजनिक सूचना निकालेको छ । आज सूचना प्रकाशित गर्दै महानगरले ललिता निवास क्षेत्रको जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थालाई निर्देशन दिएको हो । 

विशेष अदालतले फागुन ३ गते गरेको फैसलाबाट बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको छ । त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–१३ स्थानीय तहको सम्पत्तिको संरक्षणसम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौंभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व महानगरलाई तोकिएको छ । 

सोहीअनुरुप ललिता निवासको सरकारी सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्ने कार्यमा आगामी सात दिनभित्र उक्त क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थालाई त्यहाँबाट हटेर सहयोग गरिदिन महानगरको अनुरोध छ । 

तोकिएको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानूनबमोजिम हटाउने समेत महानगरले चेतावनी दिएको छ । सूचनामा भनिएको छ, ‘यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानूनबमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरा समेत यसै सूचनामार्फत सम्बद्ध सरोकारवालालाई सूचित गरिन्छ ।’

टिप्पणीहरू