सरकारले मानसिक स्वास्थ्यमा चासो नदेखाएको एमाले सांसदको गुनासो

सरकारले मानसिक स्वास्थ्यमा चासो नदेखाएको एमाले सांसदको गुनासो

नेकपा एमालेका सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मानसिक रोग नियन्त्रणका लागो विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक भएपनि सरकारले त्यसो गर्न नसकेको बताएकी हुन् । मानसिक समस्याका कारण समाजमा अपराध र अपराधिक घटना बढिरहेको बरालको भनाई छ ।  

आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै बरालले मानसिक समस्याको कारण र निराकरणको उपाय खोज्नुपर्नेमा जोड दिईन् । ‘केही दनिअघि ललतिपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्यागरी आत्महत्या गरिन् । त्यस्तै काठमाडौंमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे । आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ । डिप्रेसनका कारण बढेका अपराध र अपराधिक अवस्था डरलाग्दो अवस्था छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ', उनले भनिन् । 

सूचना, प्रविधि र डिजिटलाइजेशनका कारण सामाजिक समस्या बढिरहेको सांसद बरालले बताइन् । 

'२०४० सालमा सरकारी तवरबाट ४० बेडका मानसिक अस्पतालको स्थापना भयो । त्यसपछि न अर्को अस्पताल खुल्यो, न मानसिक स्वास्थ्य प्राथमिकतामा नै परेको छ', उनले भनिन्, 'दिनदिनै मानसिक स्वास्थ्य समस्या बढेको बढ्यै छ । सूचना, प्रविधि र डिजिटलाइजेशनले निम्त्याएका धेरै समस्या छन् । रोजगारी र आर्थिक असहजताले धेरै नै सामाजिक समस्या बढेका छन् ।’
 

टिप्पणीहरू