त्यस्तो जवाफ नेपालले भारत, चीन, अमेरिकालाई दिन नसक्ने ?
तीन दशकभन्दा बढी करिअर डिप्लोम्याट भएर सन् २०१९ बाट राजनीतिमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकर मुखर छन् । यसै कारण भारतको नीति के होला ? जस्ता प्रश्नमा घोत्लिनु नै पर्दैन ।
उनका ‘दि इण्डिया वे’ र ‘ह्वाइ भारत म्याटर्स’ नामको दुई किताब पढ्दा मोदीको भारतीय विश्व रणनीति, कूटनीति र भूराजनीतिक तथा भूआर्थिक कुरा बझ्न सकिन्छ । भारतको छिमेक पहिलो अर्थात् नेवरहुड फष्र्टदेखि बृहत्तर छिमेक अर्थात् एक्स्टेन्डेड नेवरहुट सम्मका कुरा किताबमा बुझ्न सकिन्छ ।
भारतले ल्याएको भारत भाष्यको रहस्य, सभ्यता शक्ति प्रदर्शन, विश्व गुरु अवधारणादेखि संयुक्त राष्ट्रसंघका पाँच स्थायी सदस्य, अफ्रिका, पूर्वी एशिया, मध्य एशियादेखि ल्याटिन अमेरिकासम्मका भारतीय कूटनीतिक कदम र उद्देश्यबारे जयशंकर मुखर छन् । किताबमा मात्रै नभई जयशंकर विभिन्न मन्तव्य र संभाषणमा पनि मुखर छन् । सामाजिक सञ्जालमा उत्तिकै सक्रिय उनी आफ्ना कुरा भन्न र देखाउन बाँकी राख्दैनन् ।
जयशंकरले बखतबखत भन्ने कूटनीतिक वाक्य चर्चामा आउँछन् । उदाहरणका लागि सन् २०२२ मा भनेका थिए, ‘युरोप आफ्नो पुरानो मनस्थितिबाट बाहिर आउनुपर्छ ।’ युरोपका समस्या विश्वका समस्या हुने तर विश्वका समस्या युरोपको समस्या नहुने हुनु भएन । इटालियन प्रधानमन्त्री गिओर्गिआ मेलोनीले सन २०२३ मा भारतमै आएर युक्रेन समस्याको उदाहरण दिँदै भनिन्, ‘युरोपको समस्या विश्वको समस्या भएको छ ।’
भर्खरै पनि जयशंकरले सन २०२२ कै तहको चर्चित भनाइ दिए । त्यो पनि युरोपको स्थापित म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्नसँगै मञ्च साझा गरेको बेला । कार्यक्रममा एक जनाले भारत कसरी एकैपटक युरोप तथा अमेरिका अनि रुसको सहकर्मी बन्न सक्छ भन्दै ‘असंलग्नता’बाट ‘सम्पूर्ण संलग्नता’ मा किन गएको भन्ने प्रश्न गरिन् । खासगरी भारतले रुसी तेल किनेको सवालमा उनले यस्तो प्रश्न उठाएकी थिइन् ।
जयशंकरले भद्र भएर सटिक उत्तर दिए । ‘यदि मसँग बहु विकल्प हुने चतुरता छ भने किन समस्या ? मलाई त आलोचनाभन्दा प्रशंसा पो हुनुपर्ने हो ।’ उनले यसो भन्दा अमेरिकी विदेशमन्त्री मुस्कुराए र हलमा परर ताली बजे । यसमा जोड्दै जयशंकरले कुनै पनि देशको सम्बन्ध कस्तो हुने भन्नेमा त्यो देशको सम्बन्ध र इतिहास निर्भर हुने बताए । जर्मनी र अमेरिकी गठबन्धनको सम्बन्ध भए पनि आफ्नो अर्थात् भारतको त्यस्तो नभएको बताए । यसमा थपे, ‘राम्रा साझेदारले विकल्पहरू दिन्छन् । चतुर साझेदारले केही विकल्प लिन्छन् ।’
भारतीय विदेशमन्त्री एस. जयशंकरले युरोपको सुरक्षा सम्मेलनमा दिएको तर्क नेपाली नेता खासगरी राजकीय पदमा बस्नेहरूलाई काम लाग्न सक्छ । नेपालले भारतसँग कुरा गर्दा चीनसँग टाढिएको वा नजोडिएको जस्तो हुनुपर्ने, चीनसँग नजिक हुने नाममा अमेरिकासँग सफ्ट कर्नर राख्नै नहुने वा भनौँ अमेरिकासँग सकारात्मक छवि बनाउन भन्दै चीनलाई बेवास्ता गर्ने खालको भाष्य जुन बनाउन खोजिन्छ, खोजिएको छ त्यो चिर्नलाई जयशंकर डक्ट्रिन नेपाली नेताले सापटी लिन सक्छन् ।
नेपाली पूर्वाधार क्षेत्रमा खासगरी बिआरआईका मुद्दामा चीनसँग सहकार्य गर्दा भारतले देखाएको प्रत्यक्ष र अप्रत्यक्ष सरोकार वा चिन्ता होस् अथवा एमसिसी मामिलामा चीनले देखाएको त्यस्तै सरोकार वा चिन्ता होस् त्यसमा नेपालले भारत र चीनलाई त्यस्तै उत्तर दिन सक्नुपर्छ । अमेरिकाले देखाएको चीनसँग सहकार्यको फरक मतमा पनि नेपालले जयशंकरले जस्तै भन्न सक्नुपर्छ । धेरै साझेदार वा विकल्प हुनु खराब होइन चतुर हुनु हो भन्न सक्नुपर्छ । चतुर भन्ने आँट र दक्षता छैन भने बाध्यता पनि भन्न सकिन्छ ।
आज चीनले हेर्ने भारत र नेपालले हेर्ने भारत फरक छ । भारत र नेपाल एकै सभ्यताका देश हुन् । प्राकृतिक निकटता छ । भारतले सन् १९६२ मा युद्ध गरेर हारेको कोणबाट तनावग्रस्त छिमेकको रूपमा चीनलाई हेर्छ । तर, नेपालले त्यसो गर्दैनन् । अमेरिका र संयुक्त राष्ट्रसंघले जनवादी गणतन्त्र चीनलाई आधिकारिक मान्यता नदिएको युगमा नेपालले देऊ भनेर आवाज उठाएको हो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला हुन् वा राजाले टीका लाएर प्रधानमन्त्री बनाएकाहरू नै किन नहुन्, सबैले चीनलाई युरोप, अमेरिका र संयुक्त राष्ट्रसंघभन्दा अगाडि मान्यता दिएका थिए । त्यसैले नेपालले हेर्ने नजरिया र अरूको दृष्टिकोण फरक छ । यो कुरा नेपाली नेताले शक्ति राष्ट्रहरूलाई त्यो शैलीमा भन्नुपर्यो जुन शैलीमा जयशंकरले म्युनिख सुरक्षा सम्मेलनमा भनेका थिए ।
नेपालको पूर्वाधार विकास र समग्र विकासमा सबै देशको सहयोग लिनुपर्छ । नेपालीहरू आज विश्वभर फैलिएका छन् । संयुक्त राष्ट्रसंघका पाँचै स्थायी सदस्यसँग राम्रो सम्बन्ध छ । नेपालमा ती देशका दूतावास छन् । नेपालीहरू जि–२० भित्रका सबैजसो देशमा पुगेका छन् । पश्चिम एशिया, मलेशिया, अफ्रिकासम्म नेपाली छन् । नेपालीहरू पुगेका, नेपालसँग सम्बन्ध भएका दक्ष देशबाट जुनसुकै सहयोग लिन सकिन्छ, सक्नुपर्छ । छिमेकी देशको सुरक्षा संवेदनशीलता ख्याल गरेर बाँकी कुरा असंलग्न आन्दोलनको सदस्य देश नेपालले स्वतन्त्र रूपमा जे पनि गर्न पाउँछ । पाउनुपर्छ । नेपाल दक्षिण एशियाको सबैभन्दा जेठो सार्वभौम देश हो ।
सहकार्य गर्न आउने प्रतिस्पर्धामा भएका शक्ति हुन् अथवा दुश्मनीमा भएका शक्ति सबैसँग नेपालले सहयोग लिन सक्छ । त्यस्तो देशलाई आफ्ना भूराजनीतिक कुण्ठा नपोख्न र भूराजनीतिक तनावको मुकाम नबनाउन नेपालले शक्ति देशसँग खुलेर भन्न सक्नुपर्छ । विपरीत ध्रुवमा रहेका देशहरू नेपालको एकै राजमार्गमा आएको उदाहरण त हामीसँग पञ्चायतमा देशभर पुग्ने पूर्व–पश्चिम राजमार्ग निर्माणकै कथा काफी छ । एकातिर विश्व धु्रवको नेतृत्व गर्ने अमेरिका र अर्कोतिरको नेतृत्व गर्ने तत्कालीन सोभियत संघ महेन्द्र राजमार्ग निर्माणमा एकै लाइनमा आएका थिए । त्यो गर्नु वा गराउनु चानचुने काम होइन । त्यो भनेको अहिले कुनै परियोजनामा केही भाग चीन र केही भाग अमेरिका अथवा केही भाग युरोप र केही भाग रुसलाई लगानी गराएर सफल बनाउनुजत्तिकै कूटनीतिक सफलता हो । महेन्द्रबाट नसिक्ने कुराहरू धेरै होलान् ।
तर, कूटनीतिक चातुर्यको यो मामिला भने गणतन्त्रका नेताले सिक्न सक्छन् । फरक–फरक कित्ताका शक्तिलाई आफ्नो भूराजनीतिका बाबजुद नेपालमा सहयोग गर भन्न नेपाली नेताले योग्यता राख्नुपर्छ । हीनताबोध वा डरले काम गर्नु हुन्न । आज भारत र चीन बंगलादेशमा कम तनावग्रस्त हुन सक्छन् र अफगानिस्तानमा सहकार्यकै तहको काम गर्न सक्छन् भने त्यही काम नेपालमा किन गर्न सक्दैनन् ? आज भारत र पाकिस्तान सांघाई कोअपरेसन अर्गनाइजेसनमा एकै ठाउँमा उभिन सक्छन् भने सार्कमा किन उभिन सक्दैनन् ? यी र यस्ता सवाल सार्क मुख्यालय भएको तथा सार्क अध्यक्ष भएको नेपालले राख्न सक्नुपर्छ ।
आफ्ना जायज राष्ट्रिय मुद्दामा अडिग हुन नेताले कुनै संकोच मान्नुहुन्न । नेताले व्यक्तिगत आत्मबल नभएर पनि जनभावना बुझ्न त्यत्ति त भन्न सक्नै पर्छ ।
टिप्पणीहरू