ड्रग हाउसमा औषधीभन्दा कस्मेटिक धेरै, फ्रिज नचलाई खोप भण्डारण

ड्रग हाउसमा औषधीभन्दा कस्मेटिक धेरै, फ्रिज नचलाई खोप भण्डारण

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित औषधी पसलहरुमा अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा अधिकांशले आधारभूत मापदण्डसमेत पालना नगरेको भेटिएको महानगरले जनाएको छ । 

महानगर स्वास्थ्य विभागका अनुसार गत असोजयता विभिन्न वडाका ११८ वटा औषधी पसलमा अनुगमन गरिएको छ । वडा नम्बर १, २ र ३ का धेरै र अन्य वडामा अनुगमन जारी रहेको फार्मेसी अनुगमन संयोजक एवं अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठले बताइन् । 

वडा नम्बर १४, कंलकीमा सञ्चालित ‘मिशन फार्मेसी’ ले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइएको उनले जानकारी दिइन् । सो पसलबाट तीन प्याकेट एन्टिरेबिज खोप र तीन थान इन्सुलिन जफत गरिएको छ । 

उनी भन्छिन्,‘औषधी पसलमा गएर कुनै खोप नलगाए पनि हुन्छ । औषधी राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि मेन्टेन भएको छैन् । औषधी पसल दर्ता गर्दा एउटाको नाममा प्रमाणपत्रमा छ । पसलमा अर्कै व्यक्ति बसेको धेरै ठाउँमा पाइयो । औषधी व्यवस्था विभागमा दर्ता भएपनि अधिकांश महानगरमा दर्ता छैनन् ।’

त्यस्तै, बिलमा औषधीको म्याद, ब्याच नम्बर केही पनि उल्लेख नगरिएको श्रेष्ठ बताउँछिन् । उनका अनुसार नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बर नभएको पाइएको हो । 

‘आयुर्वेदिक फर्मामा सर्जिकल र एलोपेथिक औषधी पाइयो । कतिपय पसलमा आयुर्वेद नै अध्ययन नगरेको व्यक्तिले औषधी बिक्री गरेको पनि भेटियो । ड्रग हाउसमा औषधीभन्दा धेरै कस्मेटिक सामान भेटिए । कुनै औषधी पसलले मापदण्ड पालना गरेको पाइएन्’, श्रेष्ठले भनिन् ।

 

टिप्पणीहरू