उद्घाटनमै प्रमुख अतिथिको झडप

उद्घाटनमै प्रमुख अतिथिको झडप

माघ १६ गतेदेखि माघ २८ गतेसम्म पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–७ मा पाँचौँ मनहरी महोत्सव आयोजना भयो । महोत्सव उद्घाटन गर्न काठमाडौँबाट प्लेन चढेर आइपुगे यसै क्षेत्रका प्रदेश सांसद एवं बागमती प्रदेशका कांग्रेस सभापति इन्द्रबहादुर बानियाँ । पूर्व गृहराज्यमन्त्री समेत रहेका बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन हुने भनेपछि यस क्षेत्रका कम्युनिष्टले नाक खुम्च्याए । 

प्रदेशकै राजधानी हेटौँडामा माओवादी केन्द्रको नेतृत्व गरी बसेका मु्ख्यमन्त्री महोत्सवमा ल्याउनुपर्ने चर्काे माग उठ्यो तर बानियाँलाई खबर गरिसकेकाले निर्णय परिवर्तन हुन सकेन । बानियाँबाट कार्यक्रम उद्घाटन त भयो, एमालेले अघोषित रूपमा मञ्च बहिस्कार ग¥यो । वरिष्ठ उपसभापति रामचन्द्र उप्रेतीले प्रमुख अतिथि र अतिथिहरूलाई समेत संबोधन नगरी केही दलले मञ्च बहिस्कार गरेकामा दुःख मनाउ गर्दै समापन मन्तब्य दिएपछि बानियाँ क्रुद्ध भए । ‘कम्युनिष्टहरू अराजक हुन्छन्’ भन्दै मञ्चबाट ओर्लेका उनले उप्रेतीप्रति इंगित गर्दै आफूमाथि अपमान भएको भाव पोखे । केहीबेर द्वन्द्व सिर्जना भयो, पछि थामथुम पारियो । 

अहिले फेरि यस्तै घटनाले बानियाँमाथि मनहरीमा राजनीतिक आक्रमण भएको छ । साबिक हाँडीखोलातर्फ निर्माणाधीन ५ वटा पुलमध्ये ४ वटा बनाउने जिम्मा पाएको छ हिराचन बानियाँ जेभीले । तत्कालीन नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार सञ्चालन गर्दा आन्तरिक कोषबाटै बनाउने भनेर शुरु गरिएको पुल पटक–पटक म्याद थप गर्दा पनि निर्माण हुन नसकेको तीतो यथार्थ लुकेको छैन ।

तर कोरोना, आर्थिक संकटलगायतका कारण देखाएर ठेकेदारले समयावधि थप्दै अघि बढिरहेको अवस्था छ । यही कुरालाई मध्यनजर गर्दै यहाँका एमालेसहित माओवादी, समाजवादी, रास्वपा र राप्रपाले निर्माणाधीन पुलमा सांसद बानियाँको फोटो कालो ब्यानरमा उल्लेख गरेर टाँसे । यो कुराले फेरि कांग्रेसजन भड्किए । कांग्रेसले पाँच दलको यस्तो व्यवहारको विज्ञप्ती प्रकाशनसहित प्रतिवाद गरेको छ । आफ्नै क्षेत्रमा भइरहेका यस्ता व्यवहारले बानियाँ दिनानुदिन खिन्न हुँदै गएको स्रोत बताउँछ । 

उसो त मकवानपुरको संघीय क्षेत्र नं १ मा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पराजित गर्न भूमिका खेलेको भनेर आरोप लागेपछि बानियाँ एक्लिँदै गएको अवस्था छ । कांग्रेसको नेतृत्वमा रहेको मनहरी गाउँपालिकाको उपाध्यक्षमा माओवादी छन् ।

टिप्पणीहरू