कार्यकर्ता ढल्दासमेत किशोर विक्रम टुलुटुलु !

कार्यकर्ता ढल्दासमेत किशोर विक्रम टुलुटुलु !

जनताको बहुदलीय जनवादमार्फत जनतालाई जनार्दन स्वीकार गरेको कम्युनिष्ट पार्टीको एक घटक नेकपा एमालेले आन्तरिक चुनावको नाउँमा अनेक झगडा निम्त्याइरहेको छ ।

केही समयअघि मकवानपुरका पुराना नेता एवं पूर्व सांसद कृष्णप्रसाद दाहाललाई बागमती प्रदेशको अध्यक्ष बन्न नदिन पाँच दिनसम्म अधिवेशन लम्ब्याएको एमालेले गत वर्ष मकवानपुर जिल्ला कमिटीको नेतृत्व चयनमा पनि त्यस्तै रूप धारण गरेको थियो । त्यस्तै घटनाको निरन्तरता यो साता हेटौँडामा भएको छ । त्यो घटनापछि अनेरास्ववियु स्थानीय कमिटी सदस्य किसन घिसिङ र अर्का नेता पुष्कर तिमल्सिनासहितले संगठन छाडेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै तिमल्सिनाले भनेका छन् –अलबिदा अनेरास्ववियु !

कुरो अनेरास्ववियु मकवानपुर जिल्ला अधिवेशनको हो । बन्द सत्र चल्दै गर्दा दुई जना अध्यक्षका प्रत्यासी देखिए, एक अमृत बर्ताैला र अर्का पुष्कर तिमल्सिना । अध्यक्षताकै विषयमा लफडा भएको थियो । अध्यक्ष मण्डलको अध्यक्षता मकवानपुर जिल्ला कमिटीबाट खटिएका जिल्ला इञ्चार्ज फुर्वा दोर्जे लामाले गर्नुपर्ने माग थियो । तर, एकोहोरो हिसाबले बन्द सत्र अघि बढ्यो ।

केन्द्रीय कमिटीबाट विद्यार्थी फाँट इञ्चार्ज बनाइएका किशोरविक्रम मल्लहरूले बागमती प्रदेशका अध्यक्ष लालबहादुर बुढाथोकीलाई अध्यक्ष मण्डलको अध्यक्ष बनाइछाडे । त्यसपछि शुरु भयो रमिता । दुई उम्मेदवारबीच लबिङ चल्दै गर्दा अनेकन दबाब झेल्नुपर्‍यो तिमल्सिनाले । कतिपय धम्की, घुर्की, दबाब सहँदै अघि बढेका तिमल्सिना अन्ततः विद्यार्थी इञ्चार्ज मल्ल, पोलिट्ब्युरो सदस्य एवं पार्टीका जिल्ला इञ्चार्ज देवी ज्ञवाली, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलियाहरूकै अघि बेहोस भएर ढले । ढल्दा जिब्रो काटियो र लगत्तै अस्पताल लगियो । 

बेहोस अवस्थामा पुगेपछि उनलाई आइसियुमै राखियो । बन्द सत्र केहीबेर स्तब्ध त भयो तर मानवीयता नै भुलेर फेरि अधिवेशन प्रक्रिया शुरु भयो । अध्यक्ष मण्डलले त्यसो गरिरहँदा दुई तिहाइ बढी प्रतिनिधिले बन्द सत्र रोक्न आग्रह गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । त्यसैगरी बन्द सत्र चल्दा पनि आइसियुमा रहेका नेता तिमल्सिनाको उम्मेदवारी कायमै राखेर निर्वाचनमा जानुपर्ने भन्दै नाराबाजी भयो तर कसैले त्यस्तो चित्कार सुनेनन् । बिहान ३ बजेतिर विद्यार्थी इञ्चार्ज मल्ल र अध्यक्षमण्डलका अध्यक्ष बुढाथोकीले अमृत बर्ताैलालाई अध्यक्ष र तिमल्सिनालाई उपाध्यक्ष बनाएर कमिटी घोषणा गरे । 

यसरी मकवानपुर अनेरास्ववियुमा मानवता सकाएर एकलौटी रूपमा कमिटी घोषणा गर्दा केपी ओलीका खास मान्छे भनिएका डोरमणि पौडेल र जेएन थपलियाहरू हेरेको हेर्‍यै भए । स्रोतका अनुसार एमाले मकवानपुरभित्र देखिएको जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ र डोरमणि पौडेल प्रवृत्तिविरुद्ध एकखालको घेराबन्दी नै भएको छ । यसअघि उनीहरूले यस्तै काम गर्दै आइरहेकोमा यसपटक त्यस्तै हर्कत अर्कै पक्षले गरेको बताइन्छ । 

५११ जना प्रतिनिधि रहेको अधिवेशनमा यस्तो बेथितिका साक्षी विद्यार्थी इञ्चार्ज, जिल्ला पार्टी, पोलिट्ब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज, पूर्वमुख्यमन्त्री, वर्तमान संसदीय दलका नेता बनेपछि बेथितिबिरुद्ध नबोलेको भन्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य किसन घिसिङ, जबरजस्ती उपाध्यक्ष बनाइएका र आइसियुबाट भोलिपल्ट फिर्ता भएका तिमल्सिनाहरूले संगठन छाडेका घोषणा गरेका छन् ।

तत्कालीन अवस्थामा ओली गुट र माधव गुट भनेर हुने गुटबन्दी अहिले बढेर थुप्रै गुट निर्माण भएको बताइन्छ । केपी ओली गुटभित्रै उपगुट निर्माण हुने, एकले अर्काेलाई सिध्याउने खेल मकवानपुरमा पहिलादेखि नै जारी छ । माधव नेपाल समूह बाहिरिएर गए पनि गुटका खेल झनै उग्र बन्दै गइरहेको घटनाले नेकपा एकीकृत समाजवादी बाहिरै बसेर हाँस्न थालेको छ । त्यसो त, जिल्लाका इमान्दार, शालीन र भद्र नेता रामेश्वर रानालाई टिकट नदिएर पञ्चायती व्यवस्थाका शासक एवं राजावादी कमल थापालाई सूर्य चुनाव चिन्ह दिलाएको एमालेले मकवानपुरमा एकपछि अर्काे यस्तै झमेला भोग्नुपरिरहेको छ । 

 

टिप्पणीहरू