मन्त्री र सचिवले नै देखेनन् उच्च अदालतको आदेश

मन्त्री र सचिवले नै देखेनन् उच्च अदालतको आदेश

कृषि सामग्री कम्पनी लिमिटेडको सञ्चालक समितिको प्रबन्ध सञ्चालकमा विष्णुप्रसाद पोखरेललाई नियुक्त गर्दा उच्च अदालतको अन्तरिम आदेश मिचिएको छ । 

गत माघ १८ गते बसेको बैठकले पोखरेललाई दिएको नियुक्ति कार्यान्वयन नगर्न फागुन ६ गते उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी भएको थियो । आदेश जारी भएकै अवस्थामा ९ गते बसेको बैठकले पोखरेललाई नियुक्ति गरेको छ । पोखरेलको योग्यता र आचरणलाई लिएर अदालतमा प्रश्न उठेको थियो । 

माघ १८ गते बसेको बैठकले पोखरेललाई  त्यसरी नियुक्त गरेपछि रामचन्द्र ढकालले रिट दर्ता गरेका थिए । समितिका अध्यक्ष सवनम सिवाकोटी, सदस्यहरू चिया तथा कफी विकास बोर्डका निर्देशक विष्णु भट्टराई र अर्थ मन्त्रालयका सह–सचिव राजेश्वर ज्ञवाली संलग्न बैठकले पोखरेललाई नियुक्त गरेको हो । बैठकमा अर्थका सहसचिव जनक शर्मा भने अनुपस्थित रहेको जनाइएको छ । 

अदालतको आदेश जारी रहेकै अवस्थामा मल खरिदका लागि गठित कमिटीमा रहेर पोखरेलसहितको बैठकबाट अघिल्लो साताको बुधवार २ बुँदे निर्णयसमेत भइसकेको छ । भारतबाट मल खरिदका लागि भएको उक्त निर्णयको वैधानिकतामा समेत प्रश्न उठ्ने अवस्था आएको छ ।

कृषिमन्त्री बेदुराम भुसाल र सचिव डा.गोविन्द आचार्य पोखरेलको नियुक्ति प्रकरणमा जोडिए पनि अदालतको आदेशबारे मौन देखिएका छन् । यता, रिट निवेदक ढकाल भने अन्तरिम आदेश बेवारिसे पारिएको भन्दै अवहेलना मुद्दा लिएर पुनः उच्च अदालत जाने तयारीमा रहेको जनाइएको छ । 
 

टिप्पणीहरू