यता मुख्यमन्त्रीको खोज, उता दुई मन्त्रीको मोज
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा र खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा यतिबेला विदेश भ्रमणमा छन् ।
तर उनीहरुले सत्ता समिकरणको परिवर्तनलाई नजरअन्दाज गर्दै तत्काल स्वदेश नफर्किने संकेत देखाएका छन् । स्पेन, फ्रान्स, पोर्चुगलसहित ५ देशको भ्रमणका लागि भन्दै उनीहरु गत फागुन १३ गते नेपालबाट उडेका थिए ।
तर यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो कांग्रेससँगको गठबन्धन भंग गरेर एमालेसहित नयाँ गठबन्धन बनाइसक्नु भएको छ । केन्द्रीय तहको नयाँ समिकरणले प्रदेशमा पनि उथलपुथल गराइरहेको छ । विभिन्न प्रदेशमा कांग्रेसबाट सरकारमा गएका कतिपय मन्त्रीहरुले आफै राजीनामा दिएका छन् भने कतिपय मन्त्रीलाई सम्बन्धित मुख्यमन्त्रीले बर्खास्त गरेका छन् ।
यस्तो अवस्थामा विदेश भ्रमणमा रहेको दुवै मन्त्रीलाई सम्बन्धित मन्त्रालयका कर्मचारीले पछिल्लो दुई दिनको राजनीति घटनाक्रम बारे जानकारी गराइसकेका छन् । यसका बाबजुद पनि उनीहरुले तत्काल स्वदेश फर्किने संकेत नदेखाएका हुन् । उल्टै उनीहरुले मन्त्रालयका कर्मचारीलाई अहिलेसम्म ३ देशको मात्र भ्रमण सकिएको र अझै दुई देशको भ्रमण सकेर मात्र स्वदेश फर्किने बताएका छन् ।
आज दिनभर मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समेत उनीहरुलाई सम्पर्क गर्ने प्रयास गरेका थिए । तर दुवै मन्त्री सम्पर्कमा नआएको बताइन्छ ।
स्मरण रहोस्, पछिल्लो राजनीति घटनाक्रमकै कारण हिजो निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण पनि रोकिएको थियो । हवाई टिकट काटेर, झोला समेत प्याकिङ गरिसकेका साउदको भ्रमण अन्तिम चरणमा रोकिएको हो ।
त्यस्तै नेपालको झण्डा हल्लाउदै दुबइ गएका श्रममन्त्री शरतसिंह भण्डारी पनि खाली हात हल्लाउदै हिजो स्वदेश फर्किनुपरेको थियो । लोसपाबाट मन्त्री बनेका उनी दुबइमा छदै पदमुक्त भएका थिए ।
टिप्पणीहरू