अनुहार र पद नहेर्न प्रहरीलाई गृहमन्त्रीको सल्लाह
गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई अनुहार, पद, प्रतिष्ठा नहेर्न आग्रह गर्नुभएको छ । उहाँले प्रमाण जुटाउँदै निष्पक्ष भएर अनुसन्धान तथा कारवाही गर्नुपर्ने सल्लाह दिनुभएको छ ।
प्रहरी मुख्यालय निरीक्षणपछि उच्च प्रहरी अधिकृतहरुलाई निर्देशन दिँर्द उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘तपाईंहरुलाई देख्दा बदमासहरूलाई डर होस् र आम सर्वसाधरणलाई भर होस् ।’ उहाँले मीटरब्याज र सहकारी पीडितहरूको समस्या ठूलो चुनौति रहेको उल्लेख गर्दै आर्थिक अपराध, ठगी, साइबर क्राइम लागूऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।
मन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेको बताइन्छ ।
कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सात वटै प्रदेश प्रहरी कार्यालय, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थितिको व्यवस्था मिलाइएको थियो ।
टिप्पणीहरू