संसदमा नारा लाउने रवि सरकारमा, सडकको नाराबाजी कसले सुन्ने ?
लामो समयदेखि सडक संघर्षमा रहेका मीटरब्याज पीडितहरुले आज पनि आन्दोलन गरेका छन् ।
मीटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको अगुवाईमा आज पीडितहरुले काठमाडौँमा खालि खुट्टा र्याली निकालेका हुन् । दिउँसो भृकुटीमण्डपबाट निस्किएको र्याली भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको थियो ।
संघर्ष समितिका अध्यक्ष अवदेश कुसवाहको नेतृत्वमा सयौंको संख्यामा खालि खुट्टा सडकमा निस्किएका पीडितहरुले सरकारविरुद्ध चर्को नारावाजी गरे । 'सम्पूर्ण किसान-मजदुर एक हौँ', 'मीटरब्याजविरुद्ध न्याय मार्च सफल पारौं','किसान मजदुर एक हौँ', 'किसानको भूमि फिर्ता गर', 'एकलौटी फैसला बदर गर', 'मीटरब्याज साहुलाई कारवाही गर', 'वित्तीय आतंक बन्द गर', मेची-महाकाली पैदल यात्रा सफल पारौं', 'किसान-मजदुर जिन्दावाद', 'हाम्रो आन्दोलन जारी छ' लेखिएको प्लेकार्ड बोकेका उनीहरुले माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् ।
अघिल्लो वर्ष चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर महिनौँ आन्दोलन गरेपछि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मीटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाएपनि त्यो सार्वजनिक नगरिएको र पीडितले न्याय नपाएको भन्दै उनीहरु पुन: सडक संघर्षमा उत्रिएका हुन् ।
देशभरबाट भेला भएका पीडितहरु २२ दिनको पैदलयात्रापछि फागुन ८ गते काठमाडौं आइपुगेका थिए । भृकुटीमण्डपस्थित समाजकल्याण परिषदको अपाङ्ग भवनपछाडि टेन्ट टाँगेर बसिरहेका उनीहरु त्यसयता लगातार आन्दोलनमा छन् ।
मीटरव्याज पीडितहरु न्यायका लागि नाङ्गो खुट्टा सडकमा भौंतारिई रहँदा विगतमा उनीहरुको पक्षमा चर्को आवाज उठाउने रास्वपा सरकारमा पुगेको छ । सो पार्टीका सभापति रवि लामिछाने देशको गृहमन्त्री बनेका छन् । तर, पीडितहरुमा भने माग सुनुवाई हुने विश्वास जागेको छैन ।
संघर्ष समितिका अध्यक्ष कुसवाहले सरकारले माग सम्बोधन गर्ने छाँटकाँट नदेखाएपछि फेरि सडक संघर्ष शुरु गरेको बताए । पटक-पटक भएका यसअघिका संघर्षका स्वरूपबारे समीक्षा गर्दै आजदेखि पुन: आन्दोलन थालेको उनको भनाई छ ।
टिप्पणीहरू