नारायणले दलीय ‘ह्याङ्गओभर’ छाड्ने, युवराजले गरिमा बढाउने
राष्ट्रिय सभाको अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली काँग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि अध्यक्षका दुबै दाबेदारको आफू निर्वाचित भए निश्पक्ष तवरले सभा सञ्चालन गर्ने दावी छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको भाइ हुनुको फाइदा उठाएको आरोप खेपिरहेका दाहालले त्यसको खण्डन गर्दै आफ्नै क्षमताले टिकट पाएको बताए । अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभरमा काम नगर्ने पनि उनको भनाई छ ।
’म राष्ट्रिय सभामा मनोनीतबाट आएको हो । कुनै पार्टीबाट आएको होइन, कानूनी रुपमा त्यो छ । यो दुई वर्षमा म बस्दाखेरी पनि अलग्गै बसेँ । पार्टीको बीचमा म बसेको छैन नि । त्यसकारण पार्टीभन्दा फरक ढंगले नै यहाँ उपस्थित छु’, उनले भने, ‘पार्टीको त्यहाँ कुनै छाँया आउनुभएन र हाम्रा कुनै अभिव्यक्तिहरु, हाम्रा काम कारबाहीहरु र हाम्रा व्यवहारहरु हिजो पार्टीमा हुँदाभन्दा फरक भइहाल्छ । कानूनी रुपमा चल्नुपर्छ भन्ने म मानसिक रुपमा तयार छु । त्यसकारण पार्टीको ह्याङओभर हुन्छ भन्ने मलाई लाग्दैन ।’
समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरुलाई एकताबद्ध बनाएर लैजान आफ्नो भूमिका रहने बताएका दाहालले तत्काल बनाउनुपर्ने कानूनहरुमा ध्यान दिने प्राथमिकता सुनाए ।
अर्का उम्मेदवार शर्माले पनि आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम मात्रै गर्ने बताएका छन् । आफ्नो राजनीतिक इतिहास लामो रहेको र शिक्षामा पनि अरुभन्दा कमजोर नभएको भन्दै उनले संसदीय नियममा रहेर सभा चलाउने उल्लेख गरे ।
‘लोकतन्त्रमा जित, हार बेग्लै कुरा हो । तर लोकतन्त्रमा कसैको हार पनि हुन्न । कसैको जित पनि हुन्न । सबै हार्छन् । सबै जित्छन् । लोकतन्त्रको सुन्दर पक्ष हो चुनाव । को हार्छन् को जित्छन् महत्वपूर्ण होइन’, शर्माले भने, ’मेरो धेरै लामो राजनीतिक यात्रा छ । शिक्षाको हकमा पनि म अरुभन्दा कमजोर छैन । मलाई लाग्छ कि म भइदिएको खण्डमा मैले यसको गरिमा बढाउने नै काम गर्ने थिएँ । घटाउने काम गर्ने थिइन । संसदीय नियममा रहेरै काम गर्ने थिएँ । संसद नियमावली अनुसार नै अगाडि बढाउने थिएँ सभालाई ।’
गठबन्धनका साझा उम्मेदवार रहेका दाहालले आफ्नै पार्टीका सांसद गोपीबहादुर सार्की आछामीको प्रस्ताव र एमाले सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका डा. वेदुराम भुसाल र जनता समाजवादी पार्टीका मोहम्मद खालिदको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
शर्माको प्रस्तावकमा काँग्रेस सांसद आनन्दप्रसाद ढुंगाना तथा समर्थकमा काँग्रेसकै किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंह छन् ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भोलि हुँदैछ ।
टिप्पणीहरू