पती–पत्नीको टकरावले प्रदेश सरकार अप्ठेरोमा
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा स्थगित गरिएको छ ।
गतसाता सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाबाट तीनजना मन्त्री सरकारमा सहभागी भएपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएकी थिइन् ।
उनले सुदूरपश्चिम सरकारमा सामेल भएका तीनजना मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिँदै बैठक आह्वान गरेको बताइन्छ । तर अन्तिम क्षणमा जारी सूचनामा अर्को आदेश नभएसम्म बैठक स्थगित गरिएको छ ।
गत साता निर्वाचन आयोगले रञ्जिताका श्रीमान रेशम चौधरी नेतृत्वको कार्यसमितिलाई अवैधानिक ठहर गर्दै पहिलेकै कमिटिलाई मान्यता दिएको थियो । त्यसयता श्रीमान र श्रीमीतबीच आन्तरिक विवाद चुलिएको छ ।
एकातिर निर्वाचन आयोगको फैसलापछि पनि रेशमले आफैंलाई नाउपाको मुख्य नेतृत्व दावी गरिरहेका छन् भने अर्कोतिर रञ्जिताले आफ्नै नेतृत्वमा पार्टी अघि बढ्ने सार्वजनिक रुपमा बताइसकेकी छन् ।
नाउपाभित्रको पछिल्लो विवादले सुदूरपश्चिम सरकारको स्थायित्वमा प्रत्यक्ष असर परेको छ । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।
यतिखेर सत्ता गठबन्धनमा नेपाली काँग्रेसका १८ र नाउपाका सात सांसद छन् । राप्रपा र स्वतन्त्रका सांसद एक÷एक जना छन् । नाउपा सरकारबाट बाहिरिने बित्तिकै मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा पर्ने अवस्था छ ।
टिप्पणीहरू