संघीय सरकारमा नजाने निर्णय गरेको राप्रपा प्रदेशमा नरम
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
तीनदिनसम्म चलेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज सम्पन्न बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो । योसँगै राप्रपा प्रतिपक्षमै रहने भएको छ ।
संघीय सरकारमा सहभागी नहुने प्रष्ट निर्णय गरेको राप्रपाले प्रदेश सरकारको हकमा भने 'ढुलमुले' नीति लिएको छ । बैठकले उपयुक्त समयमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई सुम्पिएर प्रदेश सरकारमा सामेल हुने बाटो खुलै राखेको हो ।
'प्रदेश सरकारमा तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ', बैठकपछि अध्यक्ष लिङ्गदेनले भने ।
टिप्पणीहरू