काँग्रेसले च्याप्प समातेर प्रधानमन्त्री बनाइदिने डर छ,भागीभागी हिँड्नु पर्या छ -सांसद वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले आफ्ना मन्त्रीहरुले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताएका छन् ।
केही गर्ने हुटहटीका साथ सरकारमा सहभागी भएको जनाउँदै उनले मन्त्रीहरुले त्यसअनुसार भूमिका खेल्न नसके प्रधानमन्त्रीलाई अप्ठेरो हुनेगरी सरकारमा नबस्ने प्रष्ट पारे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि टिप्पणी गर्दै वाग्लेले सो भनाई राखेका हुन् । 'सुशासन र युवाकेन्द्रित मन्त्रालय रोजेरै लिएका छौँ । गर्न नसकेको दिन आफैँ बाहिरिन्छौँ । प्रधानमन्त्रीज्यूलाई सहज बनाइदिन्छौँ',उनले भने ।
रास्वपा सरकारमा गएकोमा भएका आलोचनाको जवाफमा वाग्लेले राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने बताए । फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिर चासो राख्नु स्वभाविक भए पनि आन्तरिक पार्टी मेकानिज्ममा नबोल्न उनको चेतावनी छ ।
'काँग्रेसलाई थाहा छ म प्रमाणबेगर नबोल्ने मान्छे हुँ । काँग्रेसले गरेको छैन भन्नुहुन्छ भने हामी सक्कली र नक्कली काँग्रेस खोजेर हिँड्ने कुरा भएन ।’
प्रधानमन्त्रीको समर्थन गर्नुको औचित्य पुष्टि गर्दै उनले चेसमा उँट, घोडा,हात्ती,रानी पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेकमेट गर्ने अवस्थासम्म पुग्नेमात्रै रहेको बताए ।
नेपाली काँग्रेसतर्फ लक्षित गर्दै उनले गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा किन नखोजेको भन्दै प्रश्न गरे । काँग्रेसले आफ्ना सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको सन्दर्भमा वाग्लेले सो कुरा उठाएका हुन् ।
'गृहमन्त्री हुँदा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा खोजिनुपर्ने हो नि ! यहाँ डर छ भागीभागी हिँड्नुपरेको छ । च्याप्प समातेर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदिन्छन् कि भनी डराएर हिँड्नुपरेको छ', उनले भने, 'काँग्रेसलाई थाहा छ म प्रमाणबेगर नबोल्ने मान्छे हुँ । काँग्रेसले गरेको छैन भन्नुहुन्छ भने हामी सक्कली र नक्कली काँग्रेस खोजेर हिँड्ने कुरा भएन ।’
टिप्पणीहरू