पूर्व एआइजीलाई कुटेबापत को-को माथि जाहेरी ?

पूर्व एआइजीलाई कुटेबापत को-को माथि जाहेरी  ?
सुन्नुहोस्

एकातिर अध्यक्ष 'भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो' भन्दै भाषण गरी हिँड्ने,अर्कोतिर भ्रष्टाचारकै कुरालाई लिएर बैठकमै कुटाकुट चल्ने !, पूर्वपञ्चहरुको पार्टी राप्रपामा अहिले यस्तो तमाशा चल्दैछ । 

फागुन २७ गते धुम्बाराहीस्थित पार्टी मुख्यालयमा कार्यसम्पादन समितिको बैठक चलिरहेका बेला उनै 'सदाचारी अध्यक्ष' राजेन्द्र लिङ्गदेनको कार्यकक्षअगाडि नेता ठाकुरमोहन श्रेष्ठ कुटिएको सन्दर्भ हो यो । पटक-पटक भ्रष्टाचार मुद्धा खेप्दै आएका विवादित ठेकेदार तथा उपाध्यक्ष विक्रम पाण्डेमाथि बैठकमा प्रश्न गरेकै कारण केन्द्रीय तहकै नेता कुटिएको यो घटना प्रहरीसम्म पुगेको छ । 

राप्रपाका एकजना उपाध्यक्षले बताएअनुसार विवादको शुरुवात जातीय कुराबाट भएको थियो । एक धर्म र एकल जातिको पक्षपोषण गर्ने राप्रपा बैठकमा कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहनले नेवार समुदाय हेलाहोचोमा परेको गुनासो गरेका थिए । साँखुका दुई नेवार कार्यकर्तामाथि कारवाहीको प्रसंगमा उनले जातीय कुरा उठाएका हुन् । त्यसको जवाफमा उपाध्यक्ष पाण्डेले नवप्रवेशीका रुपमा ठाकुरमोहनलाई हेपेर कुरा गरेपछि विवाद चर्किएको र कुटाकुटको अवस्था निम्तिएको बताइन्छ ।

'जातीय कुरा आयो,नेवारहरुलाई पेलिएको भन्ने कुरा निस्कियो । विक्रमले बोल्ने क्रममा ठाकुरको कुरालाई टिपेर तपाईंलाई यहाँसम्म हामीले नै ल्याएको हो भनेपछि उनले अपमान फिल गरे र सवाल जवाफ हुँदा त्यो स्थिति पैदा भयो', ती नेताले सुनाए । 

पाण्डेले सामन्ती शैलीले तह लगाउन खोजेपछि सशस्त्र प्रहरीको पूर्वएआइजीसम्म भैसकेका ठाकुरमोहन पनि के कम !, उनले 'सिनियरको रेस्पेक्ट गर्ने हो,तर हेपाई सहन सकिंदैन' भने । आफू कुनै नेता विशेषको मुख हेरेर नभई राष्ट्रवादी पार्टी ठानेर राप्रपामा आएको जवाफ दिए ।

अपमान महसुस गरेका उनले जवाफ फर्काउँदै जाँदा पाण्डेलाई फ्याट्ट तस्कर भनिदिए । ठाकुरमोहनको मुखबाट 'तस्कर' शब्द निस्किएपछि पाण्डे बेस्कन रन्किने नै भए । ती नेताका अनुसार त्यसपछि चर्काचर्की चल्यो । अध्यक्ष लिङ्गदेनलगायतका नेताहरुले दुबैलाई शान्त पार्न प्रयास गरेपनि आफूलाई तस्कर भन्नेलाई कारवाही गर्नुपर्ने मागमा 'ठिक छ पछि छलफल गरौंला' भन्दाभन्दै पाण्डे बैठक हलबाट फुत्त निस्किए ।

'जातीय कुरा आयो,नेवारहरुलाई पेलिएको भन्ने कुरा निस्कियो । विक्रमले बोल्ने क्रममा ठाकुरको कुरालाई टिपेर तपाईंलाई यहाँसम्म हामीले नै ल्याएको हो भनेपछि उनले अपमान फिल गरे र सवाल जवाफ हुँदा त्यो स्थिति पैदा भयो',   

त्यसपछि खाना खाने समय भएकाले बैठक रोकेर सबै नेताहरु बाहिर निस्किदै थिए । त्यतिबेलै पाण्डेका समर्थकहरुको आक्रमणमा परे - ठाकुरमोहन । कुटपिटको भिडियोसमेत सार्वजनिक भएको थियो । जसमा नेताहरु बैठकबाट निस्किने क्रममा अध्यक्ष लिङ्गदेनको कार्यकक्ष अगाडि दर्जनौँको संख्यामा रहेका युवाहरुले ठाकुरमोहनलाई लखेटी-लखेटी कुटेको देख्न सकिन्छ । 

देख्नेहरुले बताएअनुसार सहमहामन्त्रीसमेत रहेका प्रेम बलायर, क्षेत्रीय अध्यक्ष ऋद्धि राना, दिपक बोहोराका पिए निरन्जन बम लगायत कुटपिटमा संलग्न थिए । बलायर पाण्डेका पिए हुन् । उनी पुग्नेबितिक्कै सबैजना क्यान्टिनमा जम्मा हुनु र लगत्तै घटना घट्नुले सबैकुरा प्रष्ट भैसकेको राप्रपाका नेताहरु बताउँछन् । 

भिडियोसमेत बाहिर आएकाले नेताहरुले चाहेर पनि घटना थामथुम हुने स्थिति थिएन । अध्यक्ष लिङ्गदेनको च्याम्बरमा बोलाएर छलफल भयो । त्यसक्रममा उपाध्यक्ष बुद्धिमान तामाङ बेस्कन चर्किएका थिए । पार्टीमा अनुशासनहीन क्रियाकलाप नचल्ने भन्दै उनले गुण्डागर्दी गर्ने नै भए टुडिखेलमा जाउँ भनेर पाण्डेलाई बैठकमै चुनौती दिएको नेताहरुले बताएका छन् । 

'ग्याङ्ग फाइट गर्ने हो ? गर्ने नै हो भने टुडिखेलमा गरौँ, कसले सक्दो रैछ', तामाङले थर्काउँदै भनेका थिए । तर, पाण्डेले भने घटनामा आफ्नो संलग्नता नरहेको सफाई पेश गरेका थिए । बैठकमा विवाद हुनु, लगत्तै आफू तल जानु र कुटपिट हुनु एकैचोटी भएकोमा 'बाघ पनि कराउने बाख्रा पनि हराउने' जस्तै संयोग बनेको उनको जिकिर थियो । पेट गडबडी भएकाले दिसा गर्न सफा ट्वाइलेट खोज्दै क्यान्टिनसम्म पुगेको प्रष्टीकरण दिएका उनले त्यसबाहेक अरु कुरा आफूलाई थाहा नभएको बताए  ।

उनको भनाई सुनाउँदै उनै नेताले भने- 'हिजो बिहाको भोजमा गएको थिएँ । कहिल्यै नखाने मान्छे अलिकति खानुपर्यो । त्यसले पेट गडबड भैरहेको थियो, यहाँको ट्वाइलेट सफा रहिन्छ त्यहि भएर तल गएको हुँ ।' 

पाण्डेले औषधि खाएर बैठकमा आएको र क्यान्टिनमा ग्रिनटी पिएको दावी गर्दै कार्यकर्ता बोलाएर ठाकुरलाई नकुटाएको जिकिर गरेपनि उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी परिसकेको छ । किटानी जाहेरीमा पाण्डे, सहमहामन्त्रीसमेत रहेका उनका पिए प्रेम बलायर, ऋद्धिजंग बहादुर राना, हिक्मत जंग कार्की, निरन्जन बम र नाम नखुलेका थप दुई जनाको नाम उल्लेख छ । 

त्यसदिनको घटना सम्झंदै अर्का एक नेताले भने, ''रिङ्गले हानिएको रहेछ, प्रहरीको मान्छे नभएको भए सायद ठूलै दुर्घटना हुन्थ्यो होला । पुलिस तालिम लिएर मान्छे तगडा भएकाले छेकेर जोगिएछन्, अरु भएको भए जे पनि हुनसक्थ्यो !

टिप्पणीहरू