हाँसो र आँशुको प्रतिबिम्ब ‘उपहार’
–तेजन खड्का
पछिल्लो समय नेपाली सिनेमा बजारमा एउटा ट्रेण्डले गति लिएको छ । कुनै जनराको फिल्म चल्यो भने, त्यही जनराका फिल्ममात्रै निर्माण हुन थाल्छन् । जस्तो कि केही समयअघि सम्म ‘सोसल कमेडी ड्रामा’ जनराको फिल्महरु प्रशस्त बन्थे । अहिले ’सस्पेन्स थ्रिलर’ जनराका फिल्महरु धेरै बन्ने गरेका छन् ।
यद्यपि, दर्शकले रुचाउने ’ट्रेण्ड’लाई फलो गर्नु निर्माता, निर्देशक तथा कलाकारहरुको अपरिहार्य सर्त पनि हो । तर उक्त भीडमा यस्ता केही चलचित्रकर्मी पनि छन्, जसले चल्तीको ’ट्रेण्ड’ लाई फिल्ममा नयाँ ’क्राफ्ट’ दिएका छन् । त्यो पनि ’इन्ट्रेस्टिङ’ तरिकाले । र यसको एउटा उदाहारण हो, हालसालै रिलिज भएको फिल्म ’उपहार’ ।
अपार्टमेन्टको दृश्यबाट प्रारम्भ हुन्छ ‘उपहार’ को कथा । संर्घषका दिनमा अपार्टमेन्टमा बस्न गाह्रो छ । कुनै न कुनै उपाय ननिकाली यो सम्भव पनि छैन । सहरमा रहर छन्, महल छन् । घर पनि नजिक–नजिक छन्, तर सम्बन्धहरुको दुरी निकै लामो पाइन्छ । गाउँमा भने घर टाढा–टाढा भए पनि माया गाढा छ ।
रेखा थापा बसेको अपार्टमेन्टमा आइपुग्छन्, बेनिशा हमाल र पूजा शर्मा । अभिभावकत्व जिम्मेवारी निर्वाह गरेकी रेखाले उनीहरूको हरेक गल्तीमा साथ दिन्छिन् । पूजा छवि (पात्रको नाम) बाट पैसा थुत्ने मनसायमा हुन्छिन् । छवि ‘प्ले ब्वाई’ को चरित्रमा छन् । छवि जति पनि खर्च गर्न तयार । यो समाज पनि यस्तै छ, आफू यौन जीवन बाँच्दा ठीक, अरूले बाँच्दा बेठीक ।
फिल्ममा गरिबीमा हुर्किएकी पूजा शर्माले आफ्नो बाध्यता रहेको र कसैसँग हिँड्दैमा वा मस्किँदैमा शरीर नसुम्पिएको दर्शाएकी छिन् । भन्नुको अर्थ पुरुषहरू अर्काको कमजोरी र गरिबीमा खेल्न चाहन्छन् ।
अपार्टमेन्टमा रेखा थापा, बेनिशा, पूजालगायत बस्छन् । त्यहाँ बिलासितादेखि मस्तीसम्म देखाइएको छ । मस्तीपछिका सास्तीहरु पनि उत्तिकै । रेखाले आउने समस्यालाई आफ्नै समस्या ठानेर बहिनीहरूलाई संरक्षण गर्छिन्, सिकाउँछिन् । माया गर्छिन् । मुना पात्रकी रेखाले लक्ष्मीप्रसाद देवकोटाको कविताको भन्दा यथार्थपरक भूमिका निर्वाह गरेकी छिन् ।
निर्देशक ज्ञानेन्द्र देउजाले यो फिल्ममा फरकपन दिएका छन् । मदन ल्हासाबाट फर्किंदा मुना मरिसकेकी हुन्छिन्, तर यहाँ मदन विदेशबाट अपाङ्ग भएर घर फर्कन्छन् । र, मुनाले हेरविचार गर्दागर्दै मदन मरेको कथा देखाइएको छ ।
फिल्मका निर्देशकले कथा आफैँ बनाएका छन्, नत्र मुना–मदनको कथा चोरीको आरोप लाग्न सक्थ्यो ।
काठमाडौंका सडकमा चिया बेच्दै गरेकी मुना (रेखा थापा) सँग मदनको भेट हुन्छ, मदन अर्थात् मुकुन भुसाल । चिया खाँदै गरेका मुकुनको विस्तारै–विस्तारै रेखासँग चियारंगभन्दा गाढा माया बस्छ । ट्याक्सी चालक मदनले मुनालाई चिया हाउस खोल्न सुझाव दिन्छन् । त्यो सपना पूरा गर्न विदेश जाने, कमाउने सपना देखाउँछन्, मदनले ।
चियाभन्दा गाढा माया छ भन्दै गर्दा गुण्डाहरूको उपस्थिति देखाइन्छ । उनीहरू भन्छन्– ‘चिया पसल पनि हामी समाल्छौं, तिम्रो मुना पनि ।’
त्यहाँ झगडा हुन्छ । रेखा थापा वास्तविक जीवनमै छ महिनाकी गर्भवती हुँदासमेत उनको एक्सन हेर्न लायकको छ । ‘उपहार’ मा रेखाले मोलेको जोखिमलाई जति प्रशंसा गरे पनि कम हुन्छ । त्यहाँ मदनको ट्याक्सी जलाइन्छ, गुण्डाहरूबाट । मदन रुन्छन्, मैले किस्तामा निकालेको गाडी, कसरी अब किस्ता तिर्ने ? भन्दै । मुना भन्छिन् – ‘हारेको छैनौं, मरेको छैनौं । म छु नि ।’
मदन विदेश जान्छन्, मुनाले लक्ष्मण–रेखा तोड्दिनन् । पूजा, बेनिशाको मोजमस्ती र लफडा त छँदैछ । सडकमा चिया पसल खोलेकी मुना भव्य महलमा चिया पसल खोल्न सफल हुन्छिन् । व्यापार पनि राम्रो चल्छ । अरूको लफडा, समस्या मिलाउँदै फिल्म चलिरहकै हुन्छ । मुकुन अर्थात् मदन अर्थात मुनाका प्रेमी सात वर्षपछि नेपाल फर्किने कुरा आउँछ ।
लामो समयपछि आफ्ना प्रेमी विदेशबाट फर्किंदा कसलाई खुसी लाग्दैन र ? एयरपोर्टमा श्रीमानको प्रतिक्षामा रहेकी मुना त्यो बेला छाँगाबाट खस्छिन्, जब मदन अपाङ्ग भएर स्वदेश फर्किन्छन् ।
उनको उपचारको लागि हरसम्म प्रयास गर्छिन् । बिहे त भएको छैन, किड्नी ट्रान्सप्लान्टको लागि आधिकारिताको लागि विवाह पनि गर्छिन् ।
विस्तारै कालो बादल छाँउछ, मुनाको भव्य चिया पसलमा । जब महानगरको डोजर चल्छ । रेखाले ‘थ्री इडियट’ फिल्ममा आमिर खानले साथीलाई बचाएको शैलीमा बचाएकी हुन्छिन् मदनलाई । नीको हुँदै गर्दा विवाह गर्ने तयारी हुन्छ मुना–मदनको । पोसाक पनि तयार, मुना–मदन पनि तयार । चिया पसल देखेर मख्ख परेका मदनलाई के थाहा, मुनाले ऋणपान गरेर आफूले चढेको स्कुटी बेचेर कर्मचारीलाई तलब दिन हम्मे परेर उनको उपचार गरेको ।
विवाहकै दिन मुनाको चिया पसलमा महानगरको डोजर चल्छ । घर धनीले नक्सा पास नगरी, नियम मिचेर, जग्गा हडपेर महल बनाएको आरोप महानगरको छ । मुना प्रतिकारमा उत्रिन्छिन्, तर उनको बल खेर जान्छ । महानगर भन्छ– ‘नियम विपरीत यस्तो गर्न पाइँदैन ।’
मुनाको के गल्ती, घर धनीलाई घोक्रेठ्याक लगाइन्छ । बैंकबाट कालोसूचीको सूचना, त्यो लफडा टेलिभिजनमा देखाइएको छ, जुन मदनले हेरिरहेका छन् । त्यो पीडा देखेर उनले आत्महत्या गर्छन् ।
विवाहका लागि, आफ्नो ज्यान–मुटु दिन तयार मुनाले शौचालयमा मदनलाई मृत देख्दा पागल झैँ हुन्छिन् । मदनको मृत्यु, चिया पसलको बोझ, ऋणले थलिएकी रेखालाई पुराना दिनमा फर्कन निक्कै सकस पर्छ । चिया पसलसँगै रेखाको मन पनि भत्किन्छ, लयमा फर्किएकी छैनन् उनी ।
वास्तवमै, दिदी–बहिनीहरूको फिल्म हो उपहार । आफ्नै हर्कतका कारण अपार्टमेन्टबाट निकालिएका बेनिशा र पूजा अन्तिममा रेखाकै आडभरोसा बन्छन् ।
वास्तविकतामा सडकदेखि सदनसम्मको आवाज बोलेको छ, उपहारले । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश बोकेको छ, उपहारले । अझ भनौँ हौसला बोकेको छ । समग्रमा हाँसो र आँशुको प्रतिबिम्ब बोकेको छ, उपहारले ।
फिल्मले भरपूर मनोरञ्जन दिन्छ । अभिनेत्रीहरू रेखा थापा, पूजा शर्मा र बेनिशा हमालको फरक–फरक चरित्रमार्फत् नोकझोंक र झगडाले फिल्मलाई अर्गानिक बनाएको छ । फिल्ममा उनीहरूको हर्कत हेर्न लायक छ ।
फिल्ममा अञ्जु पन्त, एलिना चौहान, समीक्षा अधिकारी, साईराज खाती, बाबूल गिरी, महेन्द्र बिके, मोहन नेपालीजस्ता गायक–गायिकाको स्वर छ भने अर्जुन पोखरेल र बाबुल गिरीले मीठो धुन भरेका छन् । फिल्मका संवादहरु पनि जीवन्त छन्, हामी सबैको जीवनसँग मेल खाने ।
कविराज गहतराजको कोरियोग्राफीमा खोट लगाउने ठाउँ छैन । मित्रदेव गुरुङको सम्पादन कला औसत छ । फिल्ममा विष्णु घिमिरे कल्पितको सिनेमेटोग्राफी प्रशंसायोग्य छ ।
टिप्पणीहरू