गृहमन्त्री सहकारी पीडक रहेको काँग्रेसको ठहर
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।
सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचीअनुसार गृहमन्त्री रवि लामिछानेलाई ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रश्ताव पेश गर्न समय दिएलगत्तै काँग्रेस सांसदहरुले अवरोध गरेका हुन् । उनीहरुले उभिएर विरोध जनाएपछि सभामुख घिमिरेले सांसद राजेन्द्र केसीलाई बोल्न समय दिनुभएको थियो ।
गृहमन्त्री लामिछानेमाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै उनले अन्यथा बैठक अवरुद्ध पारिने चेतावनी दिए । गृहमन्त्री लामिछाने सहकारी पीडक भएको सांसद केसीको आरोप छ ।
‘गृहमन्त्री सहकारी पीडक हुनुहुन्छ । पीडितहरु हजारौंको संख्यामा सडकमा रहनुभएको छ । त्यस्तो अवस्थामा जबसम्म प्रधानमन्त्रीले हाउसमा गएर आम नेपाली जनतालाई आश्वस्त पार्न सक्नुहुन्न, तबसम्म हाउस चल्न सक्दैन भन्ने नेपाली काँग्रेसको ठहर छ’, उनले भने, ‘त्यसकारणले सभामुखज्यूको रुलिङ हुनुपर्यो । गृहमन्त्री नै पीडक हो ।’
सभामुखले आसन ग्रहणका लागि पटक–पटक आग्रह गर्दा पनि सांसदहरुले विरोध जारी राखेपछि बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
टिप्पणीहरू