बाग्मतीमा लौरो कतै नलाग्ने,पाए आफै चलाउने
बागमती प्रदेशमा सरकार गठनका लागि निर्णायक संख्या लिएर बसेको हाम्रो नेपाली पार्टी (हानेपा) तटस्थ रहने भएको छ ।
नयाँ सरकार गठनका लागि दुबै गठबन्धनका नेताहरुले आन्तरिक छलफल तीब्र बनाइरहेका बेला सो पार्टीले कतै पनि नलाग्ने निर्णय गरेको हो । हिजो र आज बसेको केन्द्रीय समिति बैठकले कुनै दल वा गठबन्धनको पक्ष-विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको प्रवक्ता डिल्लीश्वर कार्कीले बताए ।
लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न प्रदेश सरकारको नेतृत्वका लागि भने आफ्नो पार्टी तयार रहेको उनको भनाई छ। नयाँ राजनीतिक चेत विवेक र अभिभारा पूरा गर्नुपर्ने दायित्व नयाँ दलकै हुने भएकाले सरकारको नेतृत्व गर्ने अवस्थाका लागि हानपा तयार रहेको उनले बताए ।
बागमती प्रदेशमा अहिले माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । तर, केन्द्रमा नयाँ समीकरण बनेसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री शालिकराम जमरकट्टेल अल्पमतमा परेका छन् । अहिले सरकार जोगाउने र नयाँ सरकार बनाउनेबीच आन्तरिक हिसाब र रस्साकस्सी चलिरहेको छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सीट आवश्यक पर्छ । नयाँ गठबन्धनका दलहरु एमाले २७, माओवादी केन्द्र, २१ र एकीकृत समाजवादीको सात सीट छ । तीन दल मिल्दा पनि बहुमतका लागि आवश्यक एक सीट पुग्दैन।
उता विपक्षी गठबन्धनमा रहेको कांग्रेसलाई राप्रपाको साथले पनि सरकार बनाउन कठिन छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल काँग्रेससँग ३७ सीट छ । उसलाई १३ सासंद रहेको राप्रपाले समर्थन गरे ५० पुग्छ । तीन सीटको नेपाल मजदुर किसान पार्टी र दुई सांसद हानेपाको समर्थनले पनि बहुमत जुट्ने स्थिति छैन ।
गत आमचुनावमा लौरो चिन्ह लिएर उठेका हानेपाले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उसले संघीय सरकारमा जान मरिहत्ते गरेकै कारण प्रदेशमा यस्तो अवस्था निम्तिएको पनि बताएको छ । सत्ताका लागि नयाँ दलहरु पुरानै प्रवृत्तिको शिकार बनेको र सरकार बन्ने र ढाल्ने अन्तहीन शृंखलाको मतियार बनेको सो पार्टीको आरोप छ ।
संघमा उत्पन्न अस्थिरताको बाछिटा बाग्मती प्रदेशमा परेको र सत्ता बनाउने र टिकाउने खेलमा आफ्नो पार्टीलाई पनि विभिन्न प्रस्ताव आइरहेको हानेपले जनाएको छ ।
टिप्पणीहरू