हिजो बालुवाटारमा सही गर्नेहरु बाबुरामको बैठक बाहिरै
नेपाल समाजवादी पार्टी (नेसपा)को बाबुराम भट्टराई पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक शुरु भएको छ ।
भट्टराईको अध्यक्षतामा केन्द्रीय कार्यालय तीनकुनेमा बसेको बैठकले पार्टीमा उत्पन्न किचलोका सम्बन्धमा निर्णय गर्ने जनाइएको छ । बैठकमा अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षका नेताहरु भने सहभागी छैनन् ।
हिजो प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णयमा हस्ताक्षर गरेको सो पक्षले यसअघि नै बाबुरामले बोलाएको बैठक बहिष्कार गर्ने जनाएको थियो । बाबुराम पक्षको बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेका अध्यक्ष महिन्द्रसहित सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ, महासचिव रमेश यादवलगायतका नेताहरुलाई कारबाही गर्ने सम्भावना छ ।
नेसपा र माओवादी केन्द्रबीच चुनावअघि नै पार्टी एकता गर्ने सहमति भएको थियो । सोही आधारमा सो पार्टीका उम्मेदवारहरुले माओवादीको हँसिया हथौडा चिन्ह लिएर चुनाव लडेका थिए । माओवादीकै चिन्हबाट चुनाव जितेका महिन्द्रराय अघिल्लोपटक प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीसमेत भए ।
तर,चुनावपछि एकता प्रक्रियालाई लिएर नेसपामा दुई धार देखिंदै आएको छ । पूर्वसहमतिअनुसार माओवादीसँग एकीकरण गर्नुपर्नेमा महिन्द्र पक्षको जोड देखिन्छ । तर, विभिन्न भागबण्डालगायतमा प्रचण्डसँग रिसाएका बाबुराम भने पुरानो सहमतिबाट पछि हटेको बुझिन्छ ।
टिप्पणीहरू