रविको बचाउमा एमाले, सरकार ढाल्ने योजना बनाएको आरोप

रविको बचाउमा एमाले, सरकार ढाल्ने योजना बनाएको आरोप

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा उत्रिएका छन् । 

सहकारी ठगी प्रकरणमा मुछिएको व्यक्ति मन्त्री हुन नपाउने भन्दै नेपाली कांग्रेसले विरोध गरिरहेका बेला सत्तारुढ दलका युवा नेताले यसरी बचाउमा बोलेका हुन् । कांग्रेसले सरकार ढाल्ने योजनाअन्तर्गत रास्वपा नेतृत्वको बिरोध गरेको पनि बर्तौलाको आरोप छ । 

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भन्ने अंक गणितका आधारमा लान्छना लगाइएको दावी गरे । २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने कांग्रेसको अभिव्यक्तिको पनि उनले निन्दा गरेका छन् । 

'रास्वपाको नेतृत्वलाई बदनाम गर्ने,टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिनाभित्र सरकार ढाल्छौँ भनिरहनुभएको छ । अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा उहाँलाई कसैले जोगाउनुपर्छ भन्ने छैन', उनले भने, 'कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अंग प्रभावित हुन्छ भन्ने सोच्नु हुँदैन । यो सरकारलाई उहाँहरुले २८ दिनको म्याद दिनुभएको छ ।’

सुन तस्करी प्रकरणको सन्दर्भमा जाँचबुझ आयोगले दिएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा बर्तौलाको जोड छ । आयोगको प्रतिवेदन सांसदहरुलाई बुझाउन पनि उनले सरकारसँग आग्रह गरे ।

‘सुन तस्करी प्रकरणको सन्दर्भमा आयोगले सरकारलाई रिपोर्ट पेश गरेको छ । त्यो रिपोर्ट बमोजिम जो-जसको जहाँ जहाँ जसरी संलग्नता छ,दोषको आधारमा कानूनी कारबाही हुन्छ । प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ । हामीले सरकारलाई संसदमार्फत ध्यानाकर्षण गराएका छौँ',उनले भने ।

 

टिप्पणीहरू