माओवादीमा मिसिनेलाई बाबुरामले नछोड्ने
नेपाल समाजवादी पार्टी (नेसपा) को डा. बाबुराम भट्टराई पक्षले नेकपा माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरुलाई कारबाही गर्ने भएको छ ।
आज बसेको भट्टराईपक्षीय नेताहरुको बैठकले अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवसहितलाई पार्टीबाट हटाउने तयारी गरेको छ । भोलि बस्ने केन्द्रीय समितिको बैठकले औपचारिक निर्णय गर्ने प्रवक्ता कृष्ण शर्माले बताए ।
‘केही साथीहरुले पार्टी एकताको लागि एउटा वक्तव्य जारी गर्नुभएको छ । त्यो हाम्रो पार्टीको निर्णय विपरित हो । पार्टीको विधि, पद्धती र संगठनात्मक सिद्धान्तलाई छलेर उहाँहरुले जुनखालको काम, कारबाही गर्नुभयो र संगठन र पार्टीबाट स्वःघोषित ढंगले बर्हिगमन हुनुभयो । पलायन हुनुभयो । उहाँहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने भनेर भोलिको बैठकमा प्रस्ताव लैजादैछौँ’, उनले भने ।
नेसपामा डा. भट्टराई र महिन्द्र यादव अध्यक्ष छन् । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र र यादव पक्षका नेताहरुबीच पार्टी एकता गर्ने निर्णय भएको थियो । उक्त निर्णयप्रति हिजै आपत्ति जनाएका भट्टराईले आज कार्यकारिणी समितिको बैठक राखेर कारबाहीको तयारी गरेका हुन् ।
माओवादी केन्द्रसँग एकीकरणको विषयलाई लिएर असन्तुष्ट रहँदै आएका भट्टराई सत्ता समीकरण परिवर्तनसँगै एकताको विपक्षमा उभिएका थिए । त्यसपछि उनले अर्का अध्यक्षसँग सल्लाह नै नगरि बैठक बोलाएको भन्दै महिन्द्र पक्ष आक्रोशित थियो । आजको बैठक सो पक्षले बहिष्कार गरेको छ ।
नेसपा र माओवादी केन्द्रबीच चुनावअघि नै पार्टी एकता गर्ने सहमति भएको थियो । सोही आधारमा सो पार्टीका उम्मेदवारहरुले माओवादीको हँसिया हथौडा चिन्ह लिएर चुनाव लडेका थिए । माओवादीकै चिन्हबाट चुनाव जितेका महिन्द्रराय अघिल्लोपटक प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीसमेत भए ।
तर, चुनावपछि एकता प्रक्रियालाई लिएर दुई धार देखिँदै आएकोमा पछिल्लो राजनीतिक घटनाक्रमपछि थप किचलो उत्पन्न भएको हो ।
टिप्पणीहरू