आफूलाई कुट्नेमाथि कारबाही नगरिएको पूर्व एआइजीको गुनासो
आफूलाई कुटपिट गर्नेहरुमाथि कारबाही नगरिएपछि राप्रपाका नेता डा. ठाकुरमोहन श्रेष्ठले आपत्ति जनाएका छन् ।
प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको एक साता बढी भइसक्दा पनि दोषीहरुमाथि कारबाही नगरिएको उनको गुनासो छ । प्रहरीलाई दिनहुँ सम्पर्क गर्दासमेत कुनै ‘एक्सन’ नलिएको उनी बताउँछन् ।
उनले कि आफूलाई हातपात गर्नेमाथि कारबाही हुनुपर्ने कि प्रहरीले ‘सक्देनौं’ भनेर लिखित जवाफ दिनुपर्ने माग राखेका छन् । भन्छन्,‘त्यो दिन उनीहरुको आक्रमणबाट मलाई जे पनि हुन सक्थ्यो । मलाई खेदीखेदी पिटिएको छ । मैले उनीहरुको विरुद्ध प्रहरीमा किटानी जाहेरी पनि दिइसकेको छु । तर,कारबाही नै गर्दैनन् । दिनहुँ सम्पर्क गरिरहेको छु, कि कारबाही गर्नुपर्यो होइन भने सक्दिन भन्नुपर्यो ।’
यतिबेला राजावादीहरुको पार्टीमा कलह मच्चिएको छ । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्दै हिँड्ने पार्टीमा भ्रष्टाचारकै विषयलाई लिएर कुटाकुट भएको छ । घटना फागुन २७ गतेको हो, धुम्बाराहीस्थित पार्टी मुख्यालयमा कार्यसम्पादन बैठक सकाएर निस्किने क्रममा नेता श्रेष्ठ कुटिए ।
'त्यो दिन उनीहरुको आक्रमणबाट मलाई जे पनि हुन सक्थ्यो । मलाई खेदीखेदी पिटिएको छ । मैले उनीहरुको विरुद्ध प्रहरीमा किटानी जाहेरी पनि दिइसकेको छु । तर,कारबाही नै गर्दैनन् । दिनहुँ सम्पर्क गरिरहेको छु, कि कारबाही गर्नुपर्यो होइन भने सक्दिन भन्नुपर्यो ।’
पार्टीकै नेताले लखेटी लखेटी कुटेको उनको आरोप छ । कुटपिटबाट उनको कानमा समस्या देखिएको छ । त्यस्तै,बायाँ आँखा पनि कमजोर भएको उनले बताए । यसअघि सामान्य पावर भएको चस्मा लगाउँदै आएका उनलाई डाक्टरले अब ‘टृपल’ पावर भएको चस्मा लगाउनुपर्ने बताएका छन् । उनले चस्मा लगाउन छोडेको पनि ६ महिना बढी भइसकेको छ ।
उनको हातमा समेत चोटपटक लागेको छ । उनीहरुले सुनियोजित रुपमा आफूलाई पिटेको श्रेष्ठ बताउँछन् । घेराबन्दी गरेर कुट्न थालेपछि भाग्ने क्रममा दुईपटक भर्याङ्गबाट लडेको उनले सुनाए । उनका अनुसार सो स्थानको सिसिटिभी फु्टेज पनि काटिएको पाइएको छ । सो दिन बैठकको क्रममा उनले आफूलाई लागेको कुरा राखेका थिए ।
उनले केही सुझाव पनि दिए । विवादित ठेकेदार तथा उपाध्यक्ष विक्रम पाण्डेले बीचमै उनलाई ‘तपाईं नयाँ मान्छे ? सँधै नयाँ कुरा बोल्नुहुन्छ ।’ भन्दै ताकेरै बोले । पाण्डेले बेप्रसङ्ग कुरा निकालेपछि श्रेष्ठले आपत्ति जनाए । त्यसपछि पाण्डे ‘तपाईं मसँग बाझ्ने’ भन्दै जंगिए । सशस्त्र प्रहरीको पूर्वएआइजीसम्म भइसकेका श्रेष्ठलाई हेपेको महसुस भयो ।
हेपाई सहन नसकिने बताएपछि त्यहाँ चकाचर्की भयो । सोही क्रममा उनले पाण्डेलाई ‘तस्कर’ भनिदिए । जसले गर्दा रन्को छुट्यो । श्रेष्ठले उनलाई लक्षित गरेरै भने,‘तपाईं व्यापारी,तपाईं माननीय,तपाईं भ्रष्टाचारको आरोपी व्यक्ति,मुद्दा छ सर्वोच्चमा । म भ्रष्टाचार र तस्करीविरुद्ध लागेको व्यक्ति । तस्कर र भ्रष्टहरुसँग लड्दै आएको छु । म राष्ट्रियता मान्छु, त्यसैले यो पार्टीमा प्रवेश गरेको हुँ ।’
त्यसपछि पनि बैठक सामान्य रुपमै चलिरहेको थियो । सो बीचमा पाण्डे दुई–तीनपटक बाहिर निस्किएका थिए । ‘सबै जना आ–आफ्नो पालोमा बोल्ने हो । मेरो पालो आएपछि मैले आफ्नो कुरा राख्दै थिएँ । उहाँले बीचमा यो नयाँ मान्छे, यताउता भन्न थाल्नुभयो । उहाँले मलाई नै इण्डिकेट गरेर हेपेर बोलेपछि मैले पनि जवाफ दिएँ । जे हो,मैले त्यही भनिदिएको हुँ । त्यसपछि पनि सामान्य रुपमा बैठक चलिरहेकै थियो । सो क्रममा उहाँ दुई–तीन पटक बाहिर जानुभएको थियो । मलाई कुटाउन मान्छे बोलाउन जानुभएको छ भन्ने के थाहा ?’, उनले भने ।
उनीमाथि कुटपिट गर्ने तीन नेतालाई अध्यक्ष राजेन्द्र लिङ्देनले चार वर्षका लागि पार्टीबाट निलम्बित गरेका छन् । हातपातमा संलग्न देखिएका सहायक महामन्त्री प्रेम बलायर,काठमाडौं ४ का क्षेत्रीय अध्यक्ष रिद्दिप्रताप जबरा र राप्रपा युवक संगठनका सदस्य सचिव निराजन बमलाई अनुशासनको कारबाही गरिएको हो ।
यद्यपि, कारबाही नमान्ने घोषणा गरेका उनीहरु अहिले पार्टी मुख्यालय घेराउमा गएका छन् । विक्रम पाण्डेको निर्देशनमा उनीहरु कार्यालयमा ताला लगाउन गएपछि त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
टिप्पणीहरू