महरा पक्राउबारे माओवादी बैठकमा विविध कोणबाट छलफल

महरा पक्राउबारे माओवादी बैठकमा विविध कोणबाट छलफल
सुन्नुहोस्

सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको सम्बन्धमा छलफल गरेको छ । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराका विषयमा आवश्यक छलफल गरेको हो । बैठकमा पदाधिकारीहरूले आ-आफ्ना धारणा राखेको तर निष्कर्षमा पुग्न बाँकी रहेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले बताए । 

‘उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा राम्रोसित छलफल भएको छ’, उनले भने, ‘यसको हरेक पाटो पक्षमा गम्भीरतापूर्वक छलफल भएको छ । छिटोभन्दा छिटो निष्कर्षमा पुग्छ ।’

महराको जिम्मेवारी के गर्ने भन्ने विषयमा अर्को बैठक बसेर निर्णय गर्ने सापकोटाले बताए । ‘विविध कोणबाट छलफल भइरहेको छ । निष्कर्ष आएपछि तपाईंहरुलाई जानकारी गराउँछौँ’, उनले भने । 

पूर्वसभामुखसमेत रहेका महरालाई सीआईबीको टोलीले हिजो कपिलवस्तुबाट पक्राउ गरेको थियो ।

टिप्पणीहरू