कांग्रेसको प्रश्न- गृहमन्त्री स्वर्गबाट आउनुभएको हो ?

कांग्रेसको प्रश्न- गृहमन्त्री स्वर्गबाट आउनुभएको हो ?
सुन्नुहोस्

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न राखेको मागबाट पछि नहट्ने अडान लिएको छ । 

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संग्लनता ठहरिने कुनै प्रमाण नभेटिएको भन्दै बचाउ गर्नुभएको थियो । तर, कांग्रेसले प्रधानमन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै संसदीय समिति गठनको मागबाट पछि नहट्ने प्रष्ट पारेको हो । 

कांग्रेस सांसद ईश्वरी न्यौपानेले गृहमन्त्री लामिछानेले चार वर्ष सदन अवरुद्ध गर्न दिएको चेतावनीप्रति आपत्ति जनाउँदै निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले छानविन गर्न संसदीय समिति गठन गर्नै नहुनेगरी लामिछाने स्वर्गबाट आएका हुन् ? भन्दै प्रश्नसमेत गरिन् । 

'चार वर्ष प्रतिपक्षले सदन अवरोध गरोस्, सत्ता चलाइरहन्छौं भनेर गृहमन्त्रीले चेतावनी दिनुभयो । प्रमुख प्रतिपक्षीविना कसरी संसद चल्छ ? बजेटको बेला उहाँलाई सदन चाहिएको छैन, तर हामीलाई चाहिएको छ', उनले भनिन्, 'छानबिन समितिको गठनको माग हाम्रो छ । समिति नै गठन गर्न नहुने उहाँ स्वर्गबाट आउनुभएको हो ?'

सांसद न्यौपानेले प्रधानमन्त्रीलाई गृहमन्त्रीको पक्षमा न्यायाधिश नबन्न पनि आग्रह गरेकी छन् । उनले भनिन्, 'सदनमा प्रधानमन्त्रीले गृहमन्त्रीबारे प्रमाण छैन भन्नुभएको छ । हामीसँग यथेष्ट प्रमाण छन् । न्यायाधीशले गर्नुपर्ने काम प्रधानमन्त्रीले गृहमन्त्रीको पक्षमा गर्नुभयो ।'

टिप्पणीहरू