विनोद चौधरीको बयान आज, बसन्तको कागज हिजो

विनोद चौधरीको बयान आज, बसन्तको कागज हिजो
सुन्नुहोस्

विवादास्पद व्यवसायी तथा नेपाली काँग्रेसका सभासद विनोद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले आज बयान लिएको छ । सिआईबीले माहिलो भाइ वसन्तसँग हिजै बयान कागज गराइसकेको स्रोतको दावी छ । 

तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान र छानबिनको क्रममा उनीसँग बयान लिइएको बताइएको छ । ब्यूरोले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई उनीमाथि अनुसन्धान भइरहेको पत्र हिजो पठाएपछि बयान लिइएको हो । 

ब्यूरो स्रोतका अनुसार चौधरीका तीन भाइमध्ये वसन्तसँग हिजै बयान लिइएको हो । चार दशकअघि विनोद संस्थापक रहेको च्याम्पियन फुटवेयर कम्पनीले कारखानाको १० रोपनी जग्गा गैरकानुनी ढंगले हात पारेर आफ्नो स्वामित्व कायम गरेको थियो ।

अहिले कान्छा भाई अरुणको नाममा रहेको भनिएको सो स्थानको चाँदबाग रेसिडेन्सी कम्पनीको जग्गामा विनोदको चौधरी फाउण्डेसनले चाँदबाग स्कुल सञ्चालन गरेको छ । २५ लाख रुपैयाँ बराबरको च्याम्पियनको सेयर कारखानालाई दिएर उक्त जग्गा लिइएको थियो । कालान्तरमा छाला जुत्ता कारखानालाई ८ लाख रुपैयाँ दिएर उक्त सेयर पनि विनोदले नै हत्याएको अनुसन्धानबाट खुलेको छ ।

त्यतिबेला चौधरीका तीन जना दाजुभाईबीच अंशबण्डा नै भएको थिएन । ५० को दशकमा अंशबण्डा हुँदा उक्त कम्पनी कान्छा अरुणको भागमा परेको थियो ।

उच्च स्रोतका अनुसार यो प्रकरणको अनुसन्धान टुंगोमा पुग्न कम्तीमा डेढ महिना लाग्ने छ । चौधरीपछि कम्पनीका अन्य सञ्चालकहरुसँग पनि बयान लिने तयारी सीआईबीले गरेको बुझिएको छ ।

टिप्पणीहरू