रविले छाडेको ग्यालेक्सीमा के हुँदैछ ?

रविले छाडेको ग्यालेक्सीमा के हुँदैछ ?
सुन्नुहोस्

‘ग्यालेक्सी टेलिभिजन मेरो ड्रिम प्रोजेक्ट हो, यसलाई असफल हुन दिन्न । म जहाँ भए पनि हामीसँगै छाैँ’ भन्दै हिँडेका अहिलेका रवि लामिछाने नेतृत्वको ग्यालेक्सी टेलिभिजन खरानी हुनबाट जोगिएको छ ।

यसरी असामयिक मृत्युबाट जोगाउनेमा टिभी स्टुडियोमा बसेर एमसिआर बटम खोल्ने र बन्द गर्दै गानाबजाना चलाउने एकाध जुनियर कर्मचारी हुन् । लामिछानेले बीचैमा अलपत्र पारेपछि ग्यालेक्सी उनीसँगै पत्रकार, क्यामेराम्यान र प्राविधिकले पनि क्रमशः आ–आफ्नो बाटो तताएका छन् । ती सबैलाई व्यवस्थापनले गत वैशाख महिनासम्मको तलब मात्रै दिएको छ भने दशैंताका १५/१६ हजारका दरले नगद थमाएर चित्त बुझाएको थियो ।

स्रोतका अनुसार टेलिभिजनमा आर्थिक संकट आएपछि लामिछाने चढेको गाडी बेच्दा प्राप्त डेढ करोेड रुपैयाँ बाँड्ने र व्यवस्थापनमा खर्च गर्ने भनिएको थियो । तर, बीचैमा जेल परेका कुमार रम्तेललाई छुटाउन त्यो पैसा रकमान्तर गरिएपछि झनै संकट चुलिएको थियो । टेलिभिजन बन्दका कारण पत्रकारलाई निकै मार परे पनि क्यामेराम्यानको जागिर हेर्ने सुमनलाई भने खासै फरक परेको छैन ।

उनले ग्यालेक्सीका क्यामेरापर्सनलाई अन्यत्र पार्ट टाइममा काममा खटाउने गरेका थिए । रवि लामिछानेले ग्यालेक्सी टेलिभिजनकै आडमा अर्को शानदार र महँगो स्टुडियो टोखामा बनाएका थिए । सोही स्टुडियोमा हाल अमेरिका बस्ने पत्रकार चूडामणि भट्टराईले भुटानी शरणार्थीलगायत विभिन्न व्यक्तिो प्रयोजनवाला कार्यक्रम सुट गरेका थिए । 

लामिछाने गृहमन्त्री, सँगैको अर्को साथी जिबी राई फरार भएको बेला हाल कास्की कारागारमा रहेका कुमार रम्तेल भने सो टेलिभिजनको महँगा र राम्रा सामग्री घरतिर खपत गर्नेे दाउमा रहेको दाबी गरिएको छ । सो टेलिभिजनको ह्युमन रिसोर्स (एचआर) विभागमा काम गर्ने भूमि खतिवडाको नाममा एउटा डिजिटल कम्पनी खोलिएको छ । त्यहीं रम्तेलकी श्रीमती, भाञ्जा र उनका निकटस्थहरू सम्मिलित छन् त्यतैतिर ग्यालेक्सीका महँगा र राम्रा स्टुडियो क्यामेरा, एडिट गर्ने उपकरणलगायतका विभिन्न सामग्री हस्तान्तरण गर्न लागिएको बताइन्छ । ती सामग्रीको बजारमूल्य करिब २२–२५ करोड पर्न आउँछ ।

लामिछानेले राजनीतिमा छिर्नुपूर्व आफ्ना विश्वासपात्र विपिन आचार्यलाई टेलिभिजनको क्रियटिभ डाइरेक्टर बनाएका थिए । तर, उनले पनि टेलिभिजन छोडेर लामिछानेको अहिलेको चर्चित कोरटिमभित्रै ठाउँ बनाएको बताइन्छ । 

लामिछानेलाई एउटाले धकेल्ने, अर्कोले सम्हाल्ने ?

मान्छेका नाम र काम पनि कस्ता–कस्ता ? एक जना युवराज गृहमन्त्री रवि लामिछाने लखेट्न कस्सिएका छन् भने अर्को युवराजले लामिछानेको जनतासँग सीधा कुरा सम्हाल्दै छन् । लखेट्ने युवराज सफल सिन्धुलीका हुनु भने रबिको बिंडो थाम्ने र युवराज कँडेल बागलुङे हुन् । सफलले अघिल्लो पटक मुद्दा हालेर मन्त्री पद चटक्कै खाइदिनुका साथै एक दिनका लागि भए पनि गैरनागरिक बनाइदिएका थिए । यसका साथै उनले लामिछाने गृहमन्त्री भए उनीविरुद्ध खनिने कुरा सामाजिक सञ्जालमार्फत गर्दै आएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू